दक्ष जनशक्ति नपाएको उद्योगी व्यवसायीको गुनासो

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीका उद्योगी व्यवसायीले आवश्यक जनशक्ति पर्याप्त पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले विभिन्न तालिम प्रदान गर्ने संस्थाले तालिम दिएका युवा जनशक्ति विदेसिँदा र बजारको अनुगमनबिना नै तालिम संचालन गर्दा दक्ष जनशक्ति अभाव भएको बताए । 

दक्ष जनशक्ति नपाएको उद्योगी व्यवसायीको गुनासो

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुधबार एसियाली विकास बैंकसँग गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगीले एकातिर तालिम अर्कोतिर आवश्यकता हुँदा समस्या परेको बताए । यहाँका उद्योगमा दक्ष जनशक्तिको उच्च माग भएको भन्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सीटीईभीटी लगायतका संस्थाले उद्योगी व्यवसायीसँग परामर्श गरेर तालिम सञ्चालन गर्नु पर्नेमा जोड दिए । उनले त्यसरी उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्न सकिने बताए । उनका अनुसार उद्योग, कृषि, पर्यटन लगायतका क्षेत्रमा दक्ष जनशक्तिको उच्च माग छ । तर उत्पादित जनशक्ति सम्बन्धित काममा फिट नहुँदा समस्या जस्ताको त्यस्तै छ ।

कार्यक्रममा एसियाली विकास बैंकका कन्सल्टेन्ट प्रमोदबहादुर श्रेष्ठले शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्नुपर्ने बताए । उनले देश विकासको लागि औद्योगिक विकास अपरिहार्य रहेको बताउँदै औद्योगिक विकासको वातावरण सरकारले तयार गर्नुपर्ने जनाए ।

'नेपालमा प्राविधिक तालिमको नाममा लुट भइरहेको छ,' उनले भने, 'सीटीईभीटी नामको मात्र भइरहेकाले त्यसलाई खारेज गरे पनि हुन्छ ।' सरकारले साँच्चिकै औद्योगिक विकास चाहेको हो भने निजी क्षेत्रलाई कस्ता-कस्ता जनशक्ति चाहिएको हो, परामर्श लिएर तालिम सञ्चालन गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।

प्रकाशित : फाल्गुन २, २०८० १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?