२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न व्यवसायीको टोली श्रीलंका

दीपेन्द्र बडुवाल

भैरहवा — कोरोना महामारीपछि थलिएको लुम्बिनी र आसपासको पर्यटन प्रवर्द्धन गर्न रुपन्देहीका पर्यटन व्यवसायीको टोली मंगलबार श्रीलंका प्रस्थान गरेको छ । कोरोना महामारी अगाडि लुम्बिनी अवलोकनका लागि श्रीलंकन नागरिक धेरै आउने गरेका थिए । पछिल्लो समय संख्यामा गिरावट आएपछि चिन्तित पर्यटन व्यावसायी प्रचार प्रसार कार्यक्रम लिएर श्रीलंका गएका हुन् ।

लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न व्यवसायीको टोली श्रीलंका

भैरहवामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको र पर्यटकका लागि स्तरीय होटल खुलेकाले श्रीलंकाबाट सिधै उडान गराउन पहल गर्ने सिद्धार्थ होटल संघ नेपाल (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । ‘यहाँको पर्यटकीय विकासबारे श्रीलंकाका प्रधानमन्त्री सम्मलाई जानकारी गराउने तयारी छ,’उनले भने, ‘श्रीलंकाका प्रमुख सहरमा पर्यटन प्रवर्द्धनका कार्यक्रम आयोजना गरिनेछन् ।’ उनका अनुसार श्रीलंकन नागरिकलाई मुलुक भ्रमणको निम्तो दिने उद्देश्यले यो यात्राको नाम नेपाल–श्रीलंका सेल्स मिसन २०२३ राखिएको छ ।

भैरहवाका व्यवसायीको टोली मंगलबार मध्यान्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुादैं प्रस्थान गरेको हो । असार १२ देखि १७ गतेसम्म संघको आयोजनामा श्रीलंकामा हुने कार्यक्रमको नेपाल टुरिजम बोर्ड पबर्द्धकका रूपमा रहेको छ । संघका अध्यक्ष श्रेष्ठका अनुसार पर्यटन प्रबर्द्धनका लागि श्रीलंकाको क्यान्डी र कोलम्बोमा विशेष कार्यक्रम हुँदैछन । श्रीलंकाका दुई सहरमा हुने कार्यक्रममा त्यहाँका ट्राभल एजेन्सीहरुसँग बिजनेस टु बिजनेस (बीटुबी) हुने उनले जानकारी थिए । ‘सुरुमा असार १३ गते क्यान्डी सहरमा कार्यक्रम तथा बीटुबी हुनेछ,’उनले भने, ‘उक्त कार्यक्रममा श्रीलंकाका ५० भन्दा बढी ट्राभल एजेन्सी, टुर अपरेटर र नेपाली पर्यटन व्यवसायीको सहभागिता रहनेछ ।’

त्यस्तै असार १६ गते कोलम्बोमा हुने कार्यक्रममा त्यस क्षेत्रका पर्यटन व्यवसायी, टुर अपरेटर, श्रीलंकाका पर्यटन मन्त्री, त्यहाँका सरकारी उच्च अधिकारी, श्रीलंकाका लागि नेपाली राजदूत, नेपाली पर्यटन व्यवसायीबीच अन्तरक्रिया, नेपालका पर्यटकीय क्षेत्रको प्रबर्द्धनलगायतका कार्यक्रम तय गरिएको उनले बताए । व्यवसायीको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय र होटल संघ नेपालका अध्यक्ष विनायक शाहले विमानस्थल पुगेर बिदाइ गरेका थिए ।

प्रकाशित : असार १२, २०८० १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?