१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

उफ् गर्मी !

पोल्ने गर्मीले बिहान–बेलुकाको छाक टार्न सडकमा निस्कनै पर्नेलाई बढी सास्ती
सन्जु पौडेल, कमल पन्थी

लुम्बिनी र बर्दिया — जता छोयो उतै तातो । भुइँ, लत्ताकपडा, हावा, पानी केही चिसो छैन । सर्वसाधारण जतिखेरै पसिनाले लुछुप्पै हुन्छन् । गर्मीले कहाँ ढलाउँछ, पत्तो हुँदैन । गर्मीले दैनिकी असहज बनेको छ । कामकाजी खुम्चिएका छन् । बजारमा किनमेल ठप्प छ । सडक सुनसान छन् । खाना पकाउन, घरबाहिरका कामकाज गर्न, बालबालिकालाई विद्यालय आउजाउ गर्न मुस्किल भइरहेको छ ।

उफ् गर्मी !

तराईमा हरेक दिन बढिरहेको तापक्रमले जनजीवन कष्टकर बनेको हो । तराईका सीमावर्ती क्षेत्रदेखि चुरेसम्म गर्मीको मार छ । यो आपत्‌मा दैनिकी चलाउन घरबाहिर ओहोरदोहोर गर्ने सबैभन्दा बढी मारमा छन् ।

रूपन्देहीको शुद्धोधन गाउँपालिका–७ का ६० वर्षीय सेतु यादव अहिले पनि साइकल कुदाउँछन् । साइकलमा ३५ किलोको भारी झन्ड्याएर तिलोत्तमा, बुटवल, भैरहवाका गल्ली–गल्ली पुग्छन् । ६ जनाको परिवार धान्न यसरी तरकारी बेच्ने गरेको उनले बताए । ‘छोराछोरी पढ्दैछन्, कमाउनै पर्‍यो,’ उनले भने, ‘अहिलेको गर्मीले न काम गर्न दिन्छ, न त बसेर खान पुग्छ ।’

भाडामा लिएको तीन कट्ठा जमिनमा भिन्डी, साग, घिरौंला, बोडी फलाएका छन् । गर्मीका कारण अहिले पहिलेको तुलनामा दुई घण्टा पहिल्यै बजारतिर हान्निने गरेको उनले बताए । ‘धेरै मानिस घरभित्र आराम गरिरहेका भेटिन्छन्,’ उनले भने, ‘तरकारी लगेर होटल, किराना पसल र घरदैलोमा बिक्री गर्छु ।’

अहिलेको घाममा धेरै हिंड्न नसक्दा बिक्री घटेको उनले बताए । यस्तो बेला जाँगर हुनेले बिक्री गर्ने मौका पाउने उनी सुनाउँछन् । दैनिक ३० किलोमिटर आउजाउ गर्छन् । तरकारी बिक्री गर्न बिहान ६ बजे घरदेखि निस्कने गरेका छन् । बीचबीचमा घरका आँगनमा विश्राम गर्दै साँझसम्म तरकारी बेचेर घर फर्किने गरेको उनले सुनाए । ‘आफ्नो खेत छैन, अर्काकोमा खेती गर्छु तैपनि खडेरी परेर हैरान छ,’ उनले भने, ‘भगवान् रिसाएछन् भनेर पूजा पनि गरें, पानी नपर्दा मानिस, जनावर, खेतीपाती सबैलाई मर्का परेको छ ।’


बुटवलको राजमार्ग चौराहामा ठेलामा फलफूल व्यापार गर्दै आएका तुलसीराम अर्यालले घामपानी जे भए पनि सडकमा उभिएर ग्राहक कुर्नुको विकल्प नरहेको बताए । आफू र श्रीमतीले ३० वर्षदेखि राजमार्ग चौराहामा फलफूल बेचिरहेको उनले बताए । ‘बढ्ता घाम भएपछि फलफूल ओइल्याउँछ, ग्राहक आउँदैनन्,’ उनले भने, ‘कहिलेकाहीं त दिनको ४ केजी पनि बिक्री हुँदैन ।’ फलफूल घरघरमा खाने, पाहुना हुँदा लैजाने कोसेली भए पनि अत्यधिक गर्मीले मानिसको ओहोरदोहोर ठप्प भएकाले खेर गइरहेको उनले बताए ।

‘मण्डीबाट महँगो दाममा ल्याएर आउँछु, यहाँ बिक्दैन,’ उनले भने, ‘यति सारो गर्मी त पहिलोपटक नै थाहा पाएँ ।’ तराईका जिल्लामा रोपाइँ सकिने बेला हुँदा समेत पानी नपर्दा अचम्मै मानेको उनले बताए । हरेक वर्ष जेठमा रोपाइँ गरिसक्ने तिलोत्तमा–६ का गोविन्द रिजालले यस वर्ष बीउ सुक्ने पिर लागेको बताए । पानी पर्ने आशमा जेठ पहिलो साता नै बीउ राखेको उनले बताए ।

‘अहिलेसम्म सिँचाइको नाममा मोटर चलाएर उम्रिएको बीउ भिझाएको छु,’ उनले भने, ‘पहेँलिन थालिसक्यो, पानी एक दुई दिन नपर्ने हो भने बीउ नै मर्छ ।’ बिहान र बेलुका घरबाहिर हिँडडुल गर्न सकिए पनि दिउँसोको तापक्रम उच्च भएसँगै सडक सुनसान बनेका छन् । सडकमा गुड्ने सार्वजनिक यातायातका साधन खाली खाली गुडेका छन् ।

गर्मीको मार सबैभन्दा बढी बिहान–बेलुकाको छाकका लागि दिनभर श्रम गर्नुपर्ने मजदुरलाई परेको छ । यहाँका विद्यालयमा बिदा दिइएको छ । केही दिनयता अचाक्ली बढेको गर्मीले सर्वसाधारण काम परे पनि दिउँसो घरबाहिर निस्कन सक्ने अवस्था नभएपछि काम थाँती राखेर बसिरहेको बताउँछन् । कामविशेषले निस्कनु परिहाले पनि ठाउँठाउँमा राखिएका उखुको जुस र पानी पिउँदै हिँड्नुपर्ने अवस्था छ ।

यस मौसममा अन्य वर्षभन्दा उखुको रस भने बढी बिक्री भएको व्यापारी शरद यादवले बताए । उनले विगत ५ वर्षदेखि रूपन्देहीको पत्थरडाँडा चोकमा उखुको रस बेच्दै आएकामा यस वर्ष उखु कम भइरहेको बताए । ‘आइस राखेको प्रतिगिलास ३५ रुपैयाँ र नराखेको ४० रुपैयाँमा बेच्छु,’ उनले भने, ‘दिनको १ सय गिलास रस बिक्री भइरहेको छ ।’ दिनभरि घाममा उभिएर रस पेल्न भने साह्रै गाह्रो परिरहेको उनले बताए ।

एकातिर देशमा आर्थिक संकट र अर्कोतिर अत्यधिक गर्मीका कारण व्यापारी मर्कामा परेको चेम्बर अफ कमर्स रूपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । ‘देशले आर्थिक संकट झेलिरहेको अवस्थामा गर्मी बढेसँगै बजारमा किनमेल गर्न आउनेको चहलपहल समेत घटेको छ,’ उनले भने, ‘भारतसँगको सीमा नाका खुला हुँदा मन्द भएको व्यापारलाई भन्सारमा कडाइ हुँदा केही सहज हुने महसुस गरिरहेका बेला गर्मीले व्यापार व्यवसायमा शिथिलता ल्याइदिएको छ ।’

तस्बिरहरू : मनोज पौडेल/कान्तिपुर

अस्पतालका बेडमा बिरामीको संख्या भने गत वर्षको तुलनामा कम भएको लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजिसियन डा. नन्दु पाठकले बताए । उनले यस वर्ष गर्मी बढी हुने भन्ने सन्देश नागरिक समक्ष पुगेकाले मानिस कामबाहेक बाहिर नहिँड्ने, बालबालिका घाममा नखेल्ने गर्दा बिरामीको संख्या कम भएको उनले जनाए ।

‘गत वर्ष इमर्जेन्सीमा ठाउँ नपुगेर भुइँमा राखेर उपचार गरेका थियौं,’ उनले भने, ‘यस वर्ष दैनिक बिरामी ३ सय आउँदा गर्मीका कारण बिरामी परेका मानिस दैनिक ३०/४० जना मात्र छन् ।’ जेठ महिनामा सर्पले टोकेका बिरामी अधिक आउने गरेकामा यसपटक अहिलेसम्म ५ जनामात्रै आएको उनले बताए ।

प्रकाशित : जेष्ठ ३२, २०८० ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?