नारायणी नदीको भंगालो नवलपरासीतर्फ फर्काइयो- गण्डकी - कान्तिपुर समाचार

नारायणी नदीको भंगालो नवलपरासीतर्फ फर्काइयो

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासी र चितवनको सीमा नदी नारायणीको भंगालो बिहीबार नवलपरासीतर्फ फर्काइएको छ । चितवनतर्फ नारायणी नदीको ढुंगा जथाभावी रुपमा निकालेका कारण नदी सतह होचो हुँदा गत ६ महिनादेखि नारायणीको पानी चितवनतर्फबाट धेरै बग्ने गरेको थियो ।

उत्तरतर्फ बग्ने नारायणीको भंगालो चितवनतर्फको जमिनको सतह होचो हुँदै गएपछि त्यतै बहाब बढेको थियो । गैंडाकोट नगरपालिका वडा नम्बर १० स्थित टुबोर्ग बियर कारखाना नजिकबाट पानी एकोहोरो चितवनतर्फ (दक्षिणतर्फ ) बगेको स्थानबाट नारायणीको केही पानी उत्तरतर्फ फर्काइएको हो ।

गैंडाकोट नगरपालिकाले ६ दिनसम्म डोजर लगाएर पानीको बहाब उत्तरतर्फ फर्काएको वडा नम्बर १७ का वडा अध्यक्ष गोपी कंडेलले जानकारी दिए । 'चितवनतर्फको भागमा नदीबाट ढुंगा निकासी गरेका कारण सतह होचो हुँदा पानी त्यतै बगेको थियो,' कंडेलले भने ।

नवलपरासीको भागतर्फको ढुंगा करिब ६ दिन काम गरेर (डोजर लगाएर) पन्छाएपछि पानी उत्तर तर्फबाट बग्न थालेको हो । गत आइतबारदेखि त्यहाँ डोजर लगाएर पानीको बहाब यता आउने बनाइएको हो । वातावरणीय पक्षमा ध्यान नदिएर ढुंगा धेरै झिकेका कारण सतह गहिरिएर पानी उतै एकोहोरिएको स्थानीयहरूको भनाइ छ ।

हिउँदेयाममा नवलपरासीतर्फको भंगालो सुक्दैगएपछि जलचर र निकुन्जका वन्यजन्तुसमेत प्रभावित भएको भन्दै संरक्षणविद्‍हरूले चिन्ता व्यक्त गरेका थिए । कतिपयले नारायणीको पानी नवलपरासीतर्फ सुक्दै गएका कारण गैंडाको चोरी शिकारी बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नदीमा पानी हुँदा नदी तर्न कठिन हुने भएकाले चोरी शिकारी पनि कम हुने बताइन्छ ।

नारायणगढ पुलदेखि केही दक्षिणबाट नारायणीको भंगालो चितवन र नवलपरासी हुँदै छुछारको पिठौलीभन्दा तल फेरि एकै स्थानमा मिसिने गरेको थियो । नदीको बीचमा भने चितवन निकुन्ज रहेको छ । चितवन र नवलपरासी बीचमा रहेको निकुन्जको दुवैतर्फ पानीको बहाब छ । वर्षायाममा पानीको सतह उर्लेर आउँदा सबैतिरबाट पानी बग्ने गरे पनि हिउँदेयाममा दक्षिणतर्फ धेरै बहाब भएको हो ।

प्रकाशित : माघ १९, २०७९ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकाका विश्वविद्यालयबारे परामर्श दिन जेभियर शैक्षिक मेला

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी राजदूतावासको सहयोगमा जेभियर इन्टरनेशनल कलेजले बिहीबार शैक्षिक मेलाको आयोजना गरेको छ । बिहीबार दिउँसो कलेजको प्राङ्गणमा २० वटा अमेरिकी विश्वविद्यालयका प्रतिनिधिले नेपाली छात्रछात्रालाई परामर्श दिएका थिए ।

अमेरिकाका विभिन्न स्टेटमा रहेका विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधी गर्नका लागि आवश्यक प्रक्रिया, शुल्क, छात्रवृत्ती, आवश्यक शैक्षिक योग्यता लगायतका सूचना, जानकारी र सल्लाह अमेरिकाबाट आएका विश्वविद्यालयका प्रतिनिधिले दिएका थिए ।

जेभियर इन्टरनेशनल कलेजका प्रिन्सिपल दीपेन दाहालका अनुसार मेलामा कक्षा ११ र १२ र ए लेभल कोर्ष लिएर फाइदा लिन सक्ने बताए । उनले अहिलेको युवापुस्ताले विदेशमा गएर उच्च शिक्षा हासिल गरेर त्यहाँ लिएका ज्ञान र सिप नेपालमा कार्यान्वयन गर्न सकुन् भन्ने पनि मेलाको उद्देश्य भएको बताए । यस्तै यो मेलाले विदेशमा गएर राम्रो उच्च शिक्षा हासिल गरेर नेपालमै केही गरुँ भन्ने विद्यार्थीको लागि उपयोगी भएको ए लेभल पढ्दै गरेकी छात्रा अक्षता राज्यलक्ष्मी शाहले बताइन् ।

उनले यस्ता मेलाले विद्यार्थीले कुन विश्वविद्यालयमा कस्तो अध्यापन र कस्तो सुविधा अनि कस्ता विषयमा पढाइ हुन्छ भन्ने जानकारी दिने बताइन् । उनले भनिन्, '१/१२ वा एलेभल पढिरहेका स्टुडेन्टले युनिभर्सिटीकाबारे जानकारी लिन सक्ने रहेछन् । जसले गर्दा पढाइको अवसर खोजिरहेका विद्यार्थीलाई उपयोगी हुन्छ ।' अमेरिकी राजदूतावासले नेपालभरी रहेका कलेजमध्येबाट जेभियर इन्टरनेशनल कलेजलाई मेला आयोजना गर्न छनोट गरेको थियो ।

प्रकाशित : माघ १९, २०७९ १९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×