१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

मकैका खोस्टाबाट आकर्षक फूल बनाउँदै अपाङ्गता भएका महिला 

काभ्रे — ढोका छेउमै हिृवलचियरसँगैको टेबलमा रातो, सुनौलो, गुलाबी, हरियो रंगका पात मिलाएर राखिएका छन् । ती पातलाई तारमा धागे राखेर एकपछि अर्को गर्दै बेर्दै फूलको आकार दिँदैछिन्, २९ वर्षीया ललिता मैनाली । एक छेउमा रंगी–बिरङ्गी फूलहरु राखिएका छन् । सबै फूल ललिता आफैले बनाएकी हुन् । कोठाको एक कुनामा एक समूहमा सुस्तश्रवण भएका महिलाहरु फूलका गुच्छा तयार गर्दैछन् ।

मकैका खोस्टाबाट आकर्षक फूल बनाउँदै अपाङ्गता भएका महिला 

समूहमा मिलेर काभ्रेका अपाङ्ता भएका महिलाहरु फूल बनाइरहेका छन् । त्यस्तै, अर्को कुनामा बजारमा बिक्रीका तयारीमा अवस्थामा राखिएका फूलका गुच्छा राखिएका छन् । केही दिनअघि काभ्रेको बनेपा नगरपालिका-९ स्थित काभ्रे बहिरा विद्यालय परिसर पुग्दा, अपाङ्गता भएका महिलाहरुले खेर गएका मकैको खोस्टाबाट फूल बनाइरहेको दृश्य हो ।

रोशी गाउँपालिका-६ स्थित सिपाली घरभएकी ललिताको कम्मरभन्दा तलको भाग चल्दैन । उनी १४ वर्षको हुदाँ घाँस काट्न जाँदा भिरबाट लडेर उनको मेरुदण्डमा चोट लागेको थियो । जुन घाउँ अहिलेसम्म निको भएको छैन । हिृवलचियरको साहारामा आफ्नो दैनिकी चलाउँछिन् । केही दिनयता बिहान ११ बजेदेखि ४ बजेसम्म बहिरा विद्यालयमा भेटिन्छिन् ।

मकैको खोस्टाबाट विभिन्न रंगका आर्कषक फूल बनाउनमै व्यस्त हुन्छिन् । उनीसँगै २० जना अपाङ्गता भएका महिलाहरु मकैको खोस्टाबाट विभिन्न रंगका आर्कषक फूल बनाइहरहेका छन् । घरमा यत्तिकै बस्नुभन्दा सीपमूलक काम गर्दा आफ्ना दुःख भुल्ने उनी बताउँछिन् । ‘विभिन्न रंगसँग खेल्दै, फूल बनाउँदा जीवन नै रंगीन फूल जस्तो महशुस हुन्छ,’ उनले भनिन्, ‘फूलहरु बनाउँदै गर्दा खुशी लाग्छ, आफू जस्तै साथीहरुसँग सँगै बसेर काम गर्दा दुःखहरु भुलिने रहेछ ।’

उनले फूल बनाउने सीप सिकेको धेरै भएको छैन । एउटा कोठामै बसेर बनाउन सकिने भएकाले यो फूल बनाउने काम सजिलो भएको उनी बताउँछिन् । उनका अनुसार, अपाङ्गता भएका व्यक्तिको लागि यस प्रकारको सीप निकै प्रभावकारी हुन्छ । यसमा पनि आम्दानी पनि राम्रो हुन्छ भन्ने उनलाई लागेको छ । ‘सीप सिकेको धेरै भएको छैन, सिक्दै, गर्दैछु,’ उनले भनिन्, ‘घरमै बसेर काम गरेर राम्रो कमाई हुन्छ कि भन्ने लागेको छ ।’ उनका अनुसार, यो फूलको बजार राम्रो छ भनेर सीप सिकेको छु ।

उक्त कोठामा रहेका सबैले हातैले फूल बनाइरहेका छन् । कोठाको एक कुनामा अनौठो दृश्य देखिन्छ । भुईमा रहेको मकैको खोस्टाको पातलाई दाहिने खुट्टाले टिपेर तारमा धागो राखेर बेर्दै फूल बनाउँदै छिन्, पाँचखालकी २९ वर्षीया तुलसा कार्की । तुलसाका दुवै हात छोटा छन् । जुन कुमभन्दा एक भित्ता तल छन् । दुवै हातमा ३/३ वटा मात्रै औंला छन् । उनी जन्मजात नै शारिरीक अपाङ्ग हुन् । हातका ३ वटा औंला र खुट्टाको सहायताले उनी आफ्नो दैनिकी गर्छिन् । ललितासँगै उनी पनि मकैको खोस्टाबाट आर्कषक फूल बनाइरहेकी छिन् ।

जिन्दगीमा जति नै दुःख कष्ट आइपरे पनि फूल जसरी मुस्कुराउनु सक्नुपर्छ भन्ने उनलाई लाग्छ । जिन्दगीलाई फूलसँग दाज्ने उनी, अचेल थरिथरि फूल बनाएर फूलसँगै मुस्कुराइरहेकी छिन् । फूल बनाउँदा आफूलाई छुट्टै प्रकारको आनन्द मिल्ने उनी बताउँछिन् । उनका अनुसार, यो अलि फरक खालको सीप भएर सीप सिकेर फूल बनाइरहेको छु । ‘भर्खरै सीप सिकेर काम गरिरहेको छु’, उनले भनिन्, ‘फूलको धेरै प्रयोग हुने भएकाले यसको बजार पनि राम्रो रहेछ, अब यसलाई व्यवसायिक बनाएर आम्दानीको स्रोत बनाउने सोच बनाएको छु ।’

रोशी ९ स्थित मंगलटार घर भएकी २९ वर्षीया म्यानुका बानिँयालाई आफू वरपर भएका सामान ठम्याउँन निकै कठिन हुन्छ । उनको दाहिने आँखाको ज्योति गुमेको छ भने देब्रो आँखाको दृष्टि न्यून छ । आफू अगाडि भएको खोस्टाका पातलाई अन्दाजको भरमा मिलाउँछिन् । थरिथरि रंगका पात केलाएर, एक छेउ लगाउँछिन् । सबै सामान जुटाएर फूल बनाउन सुरु गर्छिन् ।

‘सामान जुटाउन मात्रै गाह्रो हो,’ उनले भनिन्, ‘आँखा र हात कमजोर छन्, सबै सामानहरु जुटाउन एक्लैले सकिदैन, त्यति मात्रै गाह्रो हो, त्यो पनि फूल बनिसकेपछि भुलिदो रहेछ, फुल बनाउन त खासै गाह्रो छैन, यहाँ त सबै साथीहरुसँगै बसेर काम गर्दा निकै रमाइलो पनि हुन्छ ।’

जन्मदै दाहिने आँखाको ज्योति गुमाएकी उनको जन्मेको ३ महिनापछि देब्रो आँखोको दृष्टि पनि न्यून हुँदै गयो । बिस्तारै, उनको हात पनि कमजोर हुँदै गयो । शारिरीक रुपमा कमजोर भए पनि आफ्नो आत्मबल भने कमजोर बनाउनु हुँदैन भन्ने उनलाई लाग्छ । त्यसैले, उनी हरेक प्रकारका सीपमूलक कार्यक्रमहरुमा सहभागी हुन्छिन् । उनका अनुसार सीपले नै हामीलाई आत्मनिर्भर बनाउने भएकाले पनि यो सीप सिकेर काम गरिरहेको छु ।

विद्यालय परिसरमा रातो, पेहेँलो, हरियो, सुनौलो, निलो रंग लगाएका खोस्टा घाममा सुकाउन राखिएका छन् । बनेपा–८ का ३४ वर्षीया योगेन्द्र कर्मचार्य, सुकेको खोस्टा बटुलेर, २८ वर्षीया श्रीमती कुण माया श्रेष्ठलाई दिन्छन् । कुण माया, रंग अनुसारका खोस्टाका पातहरुलाई छेउ लगाउँछिन् । त्यतिन्जेल, फूल बनाउनका लागि योगेन्द्र तारको व्यवस्थापन गर्छन् । साइज अनुसारको तार नापेर काटेर कुण मायालाई दिन्छन् । एक अर्कामा इसारा गर्दै दुई दम्पति मिलेर फूल बनाइरहेका छन् ।

कुणमाया दम्पति बहिरा हुन् । केही समययता दम्पति मिलेर मकैको खोस्टाबाट फूल बनाइरहेका छन् । एक सातामा उनीहरुले २ वटा फूलको बुकी र टोकरी बनाइसकेका छन् । ‘भर्खरै मात्रै बनाउन सिकेका हौं,’ दोभाषे आयुष्था जस्पाउको सहयोगमा कुण मायाले भनिन्, ‘हामी जस्तो अपाङ्गता भएका व्यक्तिहरुको लागि यो काम निकै राम्रो छ, फूल बनाउने सीप र सामग्री भएमा एउटा कोठामा बसेर काम गरेर पनि राम्रो आम्दानी गर्न सकिने रहेछ ।’ उनका अनुसार हामीले भर्खरै बनाउन सिकेका छौं । फूलहरु बनाउँदै पनि छौं, अलि धेरै बनि सकेपछि बिक्री गर्ने सोच बनाएका छौं ।

बनेपा–७ गोदामचोककी २० वर्षीया नेहा श्रेष्ठले जन्मेदेखि नै कान सुन्दिनन् । अपाङ्गता भएका व्यक्तिलाई प्रदान गर्ने सबै प्रकारको सीपका कार्यक्रममा उनी सहभागी हुन्छिन् । त्यसकारण पनि उनीसँग हस्तकला सम्बन्धि धेरै सीप छ । ‘फुर्सदिलो भएर बस्नुभन्दा केही काम गरौं जस्तो लाग्छ,’ दोभाषे आयुष्थाको सहयोगमा उनले भनिन्, ‘मकैको खोस्टाबाट फूल बनाउने तालिममा सहभागी भएर, अहिले फूल बनाउने काम गरिरहेको छु, यो अलि नयाँ खालको काम पनि लाग्यो, नयाँ काम भएर पनि रमाइलो लागि रहेको छ ।’

नेहासहित बहिरा महिलाले समूह बनाएर फूल बनाइरहेका थिए । त्यो समूहमा बनेपा–८ की ५२ वर्षीया मंगल माया पोटे आफ्नै सुरमा एकोहोरो काम गरिरहन्छिन् । सांकेतिक भाषाको ज्ञान नभएकाले पनि उनीसँग सञ्चार गर्न समस्या हुन्छ । त्यसकारण पनि उनी आफ्नै सुरमा काम गर्छिन् । बूढ्यौली उमेरले छुनै लाग्दा पनि उनीमा सीप सिक्ने हुटहुटी भने छ । केलाएर राखेको खोस्टाको पातलाई तारमा धाँगोले बोरेर फूल बनाउँछिन् । आफूले बनाएको फूल सँगै रहेका साथीहरुलाई देखाउँछिन् । साथी–संगीले उनलाई सघाएर हौसला थपिदिन्छन् ।

काभ्रेका अपाङ्गता भएका महिलालाई मकैको खोस्टाबाट फूल बनाउन भने प्रशिक्षक मेनुका रम्त्तेलले सिकाइरहेकी छिन् । उनीहरुलाई फूल बनाउने एक साताको तालिम प्रदान गरेपश्चात फूल बनाउन सहजीकरण पनि गरिरहेकी छिन् । धेरै ठाउँमा फूल बनाउने तालिम प्रदान गरे पनि अपाङ्गता भएका महिलालाई आफूले पहिलो पटक यो तालिम दिएको उनले बताइन् ।

उनका अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन अलि कठिनाई रहेछ । कोही बहिरा हुनुहुन्छ, कोही न्यून दृष्टि, कोही शारिरीक रुपमा अपाङ्ग हुनुहुन्छ । विशेष गरेर उहाँहरुसँग सञ्चार गर्न अलि गाह्रो हुने उनले बताइन् । तर, समूहमा मिलेर काम गर्दा भने निकै रमाइलो भएको अनुभव उनले सुनाइन् ।

उनक अनुसार मकै खोस्टाको फूलको बजार निकै राम्रो भएकाले यो सम्बन्धी तालिमको माग बढ्दै गएको छ । ‘गाउँ–घरमा खेर जाने वस्तुको रुपमा मकैको खोस्टालाई सदुपयोग गरेर यसैबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ फूल बनाउने विधि बताउँदै उनले भनिन्, ‘यसमा धेरै लगानी पनि गर्न पर्दैन, खोस्टालाई केलाएर तातो पानीमा रंग मिसाएर भिजाउने, एकैछिन पकाउने, खोस्टामा रंग लागिसकेपछि, त्यसलाई एक घाममा सुकाउने, खोस्टामा रंग सुकिसकेपछि पातलाई फूलको आकार दिएर काट्ने, आकार मिलाएर काटेको पातलाई तारमा राखेर धागोले बेर्ने, ठूलो–सानो कुन साइजको बनाउने हो, त्यहीँ अनुसारका फूलहरु तयार हुन्छन् ।’

उनका अनुसार फूल बनाउन धेरै समय पनि लाग्दैन । १०–१५ मिनेटमै एउटा फूल तयार हुन्छ । यसैलाई व्यवसायिक काम गर्ने हो भने, एक दिनमा दुई वटा बुकी र टोकरी बनाउन सकिने उनले बताइन् । ‘अहिले फूलको बजार पनि निकै राम्रो छ,’ उनले भनिन्, ‘एउटा टोकरीको मूल्य ५ सयदेखि ७ सय रुपैयाँसम्म पर्छ, बुकीको ७ सयदेखि १ हजार रुपैयाँसम्म पर्छ, यसमा आफूले फूल कति राखेर, कसरी सजाउने भन्ने कुराले पनि यसको मूल्य निर्धारण गरिन्छ ।’

उनका अनुसार टोकरी विशेष गरेर तिहारमा प्रयोग हुन्छ । त्यस्तै, विवाह, जन्मदिनमा उपहार दिन पनि टोकरी र बुकीको प्रयोग हुन थालेको छ । यसको व्यवसाय निकै राम्रो भएकाले अहिले धेरैको रुचिको विषय उनले बताइन् ।

अपाङ्गता भएका व्यक्तिलाई सीपमूलक कार्यमा संलग्न गराएर आत्मनिर्भर गराउनको लागि विभिन्न तालिम र कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल अपाङ्ग महिला संघ काभ्रेकी अध्यक्ष रामप्यारी पोटे अवालले बताइन् । उनका अनुसार उद्योग वाणिज्य कार्यालय काभ्रेको सहयोग र नेपाल अपाङ्ग महिला संघ काभ्रेको समन्वयमा मकैको खोस्टाबाट फूल बनाउने तालिम प्रदान गरिएको थियो । उत्पादन गरेका फूलको बजारीकरणका लागि स्थानीय तहहरुसँग सहकार्य गर्ने योजना पनि बनाएको उनले बताइन् ।

प्रकाशित : वैशाख १०, २०८१ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?