२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

रैथाने ज्ञानको चर्चा चलाउँदै प्रज्ञा प्रतिष्ठान

चितवन — नेपाल प्रज्ञा प्रतिष्ठान भाषा र साहित्यमा काम गर्दै आएको निकाय हो । प्रतिष्ठानका कुलपति भूपाल राई भन्छन्- ‘धेरैलाई प्रज्ञा प्रतिष्ठान भनेको के हो भन्ने मेसो छैन । थाहा हुनेले पनि भाषा र साहित्यको काम गर्ने संस्था हो भन्ने बुझ्छन् ।’ तर प्रतिष्ठानको दायरा फराकिलो बनाउने उनले बताए । शनिबार भरतपुरमा आयोजित कार्यक्रममा उनले प्रतिष्ठानले संस्कृति, समाजशास्त्र र मौखिक इतिहास बारे पनि सुन्ने घोषणा गरे ।

रैथाने ज्ञानको चर्चा चलाउँदै प्रज्ञा प्रतिष्ठान

प्रतिष्ठान स्थापना भएको ६६ वर्ष पार भएको छ । ‘यो अवधिमा भाषा र साहित्य मात्रै भनेर लाग्दा त्यसले तल्लो तहको जनतालाई के दियो भन्ने प्रश्न खडा भएको छ’ कुलपति राईले भने ।

त्यसैले प्रतिष्ठानले स्थानीय आदिवासीका रैथाने ज्ञान र सीपका विषयमा चर्चा गर्न सुरु गरेको उनले बताए । प्रतिष्ठानको आयोजना र चितवन थारु कल्याणकारिणी सभाको सहआयोजनामा भरतपुरमा यस बारे गोष्ठी भएको हो ।

‘आदिवासीका ज्ञान जे छन् ती यो पृथ्वीलाई जोगाउने खालको छ ।रैथाने ज्ञानबाट हटेर विकास गर्दा आज विश्वमा अनेक खाले संकटहरु आएका छन् । त्यसैले हामी रैथाने ज्ञानको बहसमा छौं । चितवनबाट यसको सुरुवात गरेका छौं,' कुलपति राईले भने ।

गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै समालोचक तथा सामाजिक अध्ययनकर्ता डिआर पोखरेलले थारु समाज परम्परागत ज्ञान र सिपले भरिपुर्ण भएको बताए । ‘थारु समुदायको सीप, संस्कार संस्कृति गहन छन् । यसको संरक्षण मात्रै हैन प्रवर्द्धन पनि हुनुपर्दछ । तर परिमार्जन गर्नुपर्ने विषयहरु पनि छन् । त्यता तर्फ पनि बेलैमा ध्यान दिन आवश्यक छ,’ पोखरेलले भने ।

थारु समुदायमा रहेका परम्परागत ज्ञान सीप हराउने हो कि भन्ने चिन्ता बढेर गएको थारु बहुल गाउँ बछौलीका अगुवा सत्यनारायण चौधरीले बताए । ‘फागु पुर्णिमाको अघिल्लो साँझ चीर पोलेर भोलिपल्ट बल्ल रंग खेल्ने हाम्रो चलन हो । चिर पोल्दा मन्त्रहरु उच्चारण गर्नु पर्दछ । यस पटक त्यो मन्त्र के हो पढ्ने मन्छे पाइएन । युवालाई थाहा हुने कुरा भएन मलाई पनि हेक्का रहेनछ,’ चौधरीले भने ।

साहित्यकार रमेश प्रभातले रैथाने ज्ञान र समुदायको संस्कार संस्कृतिलाई जगेर्ना गर्न युवा पुस्तालाई यसका बारेमा जानकारी गराउनै पर्ने बताए । राजनीतिशास्त्रमा विद्यावारिधि गरेका सञ्जय चौधरीले रैथाने ज्ञानलाई अन्धविश्वास, पछौटेपन ठानेर हेला अघ्रेलो गर्ने गरेको बताए ।

‘थारु समुदायले बनाउने परम्परागत घर गर्मीमा पनि शित्तल दिने र जाडोमा पनि न्यानो राख्ने खालका हुन्छन् । तर अहिलेका इन्जिनियरले यस्ता घर नै चिन्दैनन् । पालिकाले खरको छानो हटाउँ जस्तापाताले छाउँ भन्ने नीति ल्याउँछन् । परम्परागत ज्ञानको महत्व कस्ले बुझ्ने’ सञ्जयले भने ।

अधिवक्ता सञ्जय चौधरीले थारु समुदायले परम्परादेखि नै विभिन्न खाले रोग र शारिरिक समस्यामा सफल उपचार गर्दै आएको तर अहिले त्यसरी उपचार गरे पक्राउसम्म पर्नुपर्ने अवस्था आएको बताए । थारु कल्याणकारिणी सभा चितवनका पूर्व अध्यक्ष टिकेन्द्र चौधरीले थारु समुदायको भाषा नै हराउन थालेको र विकास र परिवर्तनका नाममा संस्कृति र परम्प्रागत ज्ञान पनि लोप हुने खतरा बढेको बताए ।

प्रकाशित : वैशाख ८, २०८१ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?