कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मतीमा हानेपाबाट बज्राचार्य मन्त्री बन्दै, मुख्यमन्त्री जम्कट्टेलको संकट टर्‍यो

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशमा सत्ता संकट तत्कालका लागि टर्ने भएको छ । २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा)लाई सरकारमा सहभागी हुने निश्चित भएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सत्ता संकट तत्काललाई टरेको हो । स्रोतका अनुसार हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले बिहीबार साँझ ६:३० बजे संस्कृति पर्यटन तथा सहकारी मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

वाग्मतीमा हानेपाबाट बज्राचार्य मन्त्री बन्दै, मुख्यमन्त्री जम्कट्टेलको संकट टर्‍यो

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखलाई शपथ ग्रहणको व्यवस्था मिलाउन आग्रह गर्दै मन्त्री नामावलीसमेत पठाइसकेको छ । एमाले नेतृत्वको सत्ता गठबन्धन निर्माण भएसँगै वाग्मतीमा जम्कट्टेल नेतृत्वको सरकारलाई बहुमतका लागि १ मतको आवश्यकता रहेको थियो । यस्तो अवस्थामा मंगलबार हानेपाले प्रदेश प्रमुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएसँगै हालको सरकार अल्पमतमा परेको थियो ।

२०७९ पुस २५ मा जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएको हाम्रो नेपालीलाई मुख्यमन्त्रीले पटक/पटक मन्त्री तथा समितिको सभापति बनाउने आश्वासनमात्रै दिएको भन्दै चिढिएको थियो । हाम्रो नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) मध्ये एकको समर्थनबिना मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउन नसक्ने अवस्थामा छन् । राप्रपा र नेमकिपाले सरकारलाई समर्थन नदिने बताइसकेका छ ।

गत फागुन २३ मा कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ । वाग्मतीमा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ  । सरकार टिकाउन १ मत आवश्यक छ । जसका कारण हाम्रो नेपालीको समर्थन जोगाइराख्न माओवादीले कसरत गरिरहेको थियो । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।

प्रकाशित : चैत्र १५, २०८० १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?