कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती सरकार अल्पमतमा

सुवास विडारी

मकवानपुर — दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले पनि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको वाग्मती प्रदेश सरकार अल्पमतमा परेको छ । उक्त पार्टीले मंगलबार प्रदेश प्रमुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको हो । 

वाग्मती सरकार अल्पमतमा

पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान वज्राचार्यले चैत ९ देखि सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि मंगलबार मात्र पत्र दर्ता गरेको बताए । उनले इमेलमार्फत पत्र दर्ता गराएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । ‘हाल प्रदेशको राजनीतिक परिदृश्यमा आएको फेरबदललाई मध्यनजर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएका हौं,’ वज्राचार्यले भने, ‘यसअघि नै समर्थन फिर्ता लिने तयारी भए पनि कांग्रेसले फिर्ता लिएपछि मौन बस्यौं । अहिले हामीलाई धेरै अफर आए । अब हामी मुख्यमन्त्री नपाए प्रतिपक्षमै बस्ने निर्णयमा पुगेका हौं ।’

२०७९ पुस २५ मा जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएको हाम्रो नेपालीलाई मुख्यमन्त्रीले पटक/पटक मन्त्री तथा समितिको सभापति बनाउने आश्वासनमात्रै दिएको भन्दै चिढिएको थियो । हाम्रो नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) मध्ये एकको समर्थनबिना मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउन सक्दैनन् । राप्रपा र नेमकिपाले सरकारलाई समर्थन नदिने बताइसकेका छन् ।

वज्राचार्यले अंकगणितमा सानो दल भए पनि संसदीय मूल्य मान्यता कायम राख्न सशक्त भूमिका निर्वाह गरिरहेको दाबी गरे । आगामी दिनमा संसद्मा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेर आफ्नो पार्टी अगाडि बढ्ने उनले बताए । गत फागुन २३ मा कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ ।

वाग्मतीमा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ । अब सरकार गठन गर्न १ मत आवश्यक छ । जसका कारण हाम्रो नेपालीको समर्थन जोगाइराख्न माओवादीले कसरत गरिरहेको थियो । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।

प्रकाशित : चैत्र १४, २०८० ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?