कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालय नर्सका लागि न्यून आवेदन परेपछि एक साता समय बढाइयो

प्रताप विष्ट

हेटौंडा — विद्यालय नर्स आवश्यकसम्बन्धी सार्वजनिक सूचना जारी गरेको अन्तिम समयसम्म पनि आवश्यक संख्यामा आवेदन नपरेपछि वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले दर्खास्तका लागि एक साता समय बढाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गत फागुन २४ गते ४ सय ५७ जना नर्स आवश्यकसम्बन्धी सार्वजनिक सूचना जारी गरेको थियो । सोमबार अबेरसम्म करिब ४ सय जनाको मात्र दर्खास्त परेपछि एक साताको समयावधि बढाइएको हो ।

विद्यालय नर्सका लागि न्यून आवेदन परेपछि एक साता समय बढाइयो

स्वास्थ्य निर्देशनालयले चैत १४ गतेसम्म दर्खास्त दिन पाउने गरी फागुन २४ गते करारमा विद्यालय नर्स भर्नाका लागि सार्वजनिक सूचना जारी गरेको थियो । आवश्यक संख्यामा आवेदन नपरेपछि चैत २० गतेसम्म दर्खास्त दिन पाइने गरी समय बढाइएको स्वास्थ्य निर्देशनालयका निर्देशक दीपक तिवारीले बताए । ‘भर्खरै नर्सिङ काउन्सिलको रिजल्ट भएकाले त्यहाा उत्तीर्ण भएकाहरूले पनि दर्खास्त दिन पाऊन् भनेर पनि समयावधि बढाएका छौं ।’

रिक्त रहेका विद्यालय र कार्यक्रमका लागि छनौट भएका नयाँ विद्यालयमा नियुक्तिका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयले ४ सय ५७ विद्यालय नर्सको विज्ञापन खुला गरेको हो । विद्यालयमा नर्सिङ सेवा प्रभावकारी देखिएकाले मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयमार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो ।

विगत पाँच वर्षदेखि सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमअन्तर्गत वाग्मती प्रदेशका ५ सयभन्दा बढी माध्यमिक विद्यालयमा नर्सिङ सेवाको पहुँच पुगेको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवर्द्धन गर्न विद्यालयमा नर्स राखिएको हो ।

वाग्मती प्रदेशका ५ सय १९ माध्यमिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार वाग्मती प्रदेशका १३ जिल्लाका १ सय १९ वटै पालिकालाई विद्यालय नर्स कार्यक्रमले समेटेको छ । सहरी क्षेत्रदेखि ग्रामीण भेगका माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्त गरी खटाइएको मन्त्रालयले जनाएको छ ।

यस आवमा ४ सय ५७ जना विद्यालय नर्स भर्ना गरेर माध्यमिक विद्यालयमा खटाएपछि प्रदेशका १३ जिल्लामा रहेका १२ कक्षा पढाइ हुने माध्यमिक विद्यालयमा शतप्रतिशत नर्स हुने स्वास्थ्य निर्देशक तिवारीले बताए । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्धेश्यले आव ०७४/७५ नमुनाको रूपमा १३ जिल्लाको २० वटा सामुदायिक विद्यालयमा सञ्चालित ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम प्रभावकारी देखिएपछि प्रदेश सरकारले उक्त कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ ।

किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारलाई मध्यनजर गर्दै तत्कालीन प्रदेश सरकारले २०७५ बाट ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । प्रदेश सरकारले छनोट गरी करारमा पठाएका विद्यालय नर्सहरू बीचैमा जागिर छाडेर अन्यत्र जाने गरेका छन् । स्वास्थ्य निर्देशनालयले खटाएका १ सय १२ विद्यालय नर्सहरूले बीचैमा जागिर छाडेका छन् । उक्त स्थान परिपूर्ति गर्न पनि ४ सय ५७ जना नर्स माग गरेको निर्देशनालयले जनाएको छ । प्रदेशका १ सय १९ स्थानीय तहमध्ये ७१ पालिकाका १ सय १२ विद्यालय नर्सविहीन छन् । ‘विगत केही वर्षदेखि नर्स उत्पादनमा कमी र अर्कोतिर विदेश जाने क्रम बढेकाले नर्स पाउनै मुस्किल रहेको छ,’ निर्देशक तिवारीले भने, ‘नर्सहरूलाई नेपालमै रोजगारी दिएर राख्नका लागि पनि प्रदेशले आवेदन माग गरेको हो ।’

प्रदेश सरकारले यस कार्यक्रमलाई प्रदेशका सबै माध्यमिक विद्यालयमा विस्तार गर्ने लक्ष्य लिएको छ । वाग्मती प्रदेशमा १ हजार ३ सय ५० सामुदायिक माध्यमिक विद्यालय छन् । सयौं विद्यार्थी र शिक्षक भएको स्कुलमा एउटा नर्ससम्म नहुँदा विद्यालय परिवारले विभिन्न किसिमका स्वास्थ्य समस्या भोग्नु परेकाले वाग्मती प्रदेश सरकारकोसामाजिक विकास मन्त्रालयले ५ वर्षअघि पाइलट प्रोजेक्टका रूपमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम प्रभावकारी भएकाले ऊक्त कार्यक्रमलाई विस्तार गर्दै लगेको छ । विद्यार्थीहरू घरबाहेक वढी समय विद्यालयमा बिताउने तर स्कुल समयमा देखिएका स्वास्थ्य समस्याहरूको तत्कालै उपचार गर्न नसक्दा गम्भीर समस्या भोग्नु परेको पीडालाई महसुस गरी उक्त कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले वताए ।

नर्स भएको विद्यालय परिवारले तत्कालै स्वास्थ्य सेवा पाउनुका साथै विद्यालयको सरसफाइमा सुधार आएको छ । विद्यालयमा खटिएका नर्सहरू बिहान १० बजेदेखि ४ बजेसम्म स्कुलमा नै खटिने गरेका छन् । प्रदेश सरकारले ५ वर्षअघि सामुदायिक विद्यालयमा उक्त सेवा सञ्चालन गरेको थियो । सामुदायिक विद्यालयहरूमा नर्सको व्यवस्था भएपछि संस्थागत विद्यालयहरूले पनि नर्सको व्यवस्था गर्न थालेका छन् ।

प्रकाशित : चैत्र १३, २०८० १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?