१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

डढेलोबाट जोगिन चुरे सर्दै वन्यजन्तु

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका–३ गैंडाटारका सुकवाल धामी गाईवस्तु लिएर दिनहुँ नजिकको जंगल जान्छन् । तीन दिनयता उनले जंगलभित्र हुलकाहुल हरिण, बँदेललगायतका वन्यजन्तु चुरेतिर दौडिँदै गरेको देखे । दक्षिण भेगको जंगलमा भीषण डढेलोको कारण सुरक्षित बासस्थान र आहार खोज्दै वन्यजन्तु चुरेतिर हिँडेका हुन् ।

डढेलोबाट जोगिन चुरे सर्दै वन्यजन्तु

चुरे आसपास क्षेत्रमा पानीको मुहान र डढेलोबाट जोगिएका वन क्षेत्र छन् । चैत यता यहाँको जंगलमा जताततै ढडेलो लागेर हरियाली वन उजाड बनेको छ । यही बीच डढेलोले बासस्थान बिथोलिए पछि वन्यजन्तु छटपटिएका छन् ।

यसरी हुलकाहुल वन्यजन्तु चुरे क्षेत्रतिर लागेको पहिलो पटक देखेको धामीले सुनाए । बासस्थानको खोजीमा चुरे क्षेत्र र नदी भएको स्थानमा वन्यजन्तु जान थालेको डिभिजन वन प्रमुख शैलेन्द्र मिश्रले बताए ।

‘डढेलोले हरिण, बँदेल, खरायो, जरायो, चितुवा जस्ता वन्यजन्तु छटपटिएर राजमार्ग उत्तरको जंगलतिर लागेका छन्,’ उनले भने, ‘जहाँ डढेलो लागेको छैन वा पानीजन्य क्षेत्रमा उनीहरु बस्न खोज्छन् । बासस्थान बिथोलिए पछि वन्यजन्तु संकटमा परेका छन् ।’ चन्द्रपुर–६ स्थित लमाहादेखि दक्षिणतर्फ रहेको तुरतुरेधारा, डाबरी, हातेमालो सामुदायिक वन, गैंडाटार, बलरी, जुडिबेला, मैरा क्षेत्र वन्यजन्तुको बासस्थानका रुपमा परिचित छ ।

यिनै ठाउँमा अहिले भीषण डढेलो लागेको छ । डढेलो र सिकारीबाट वन्यजन्तु जोगाउनै मुस्किल भएको वन कर्मचारी बताउँछन् । डढेलोको साथै सिकारीको पनि वनमा बिगबिगी बढेको छ । डढेलोले वन्यजन्तु भौतारिएको मौका छापेर सिकारी सक्रिय हुने गरेको वन कर्मचारीले बताए । डिभिजन वनप्रमुख मिश्र सिकारी प्रवेश गर्ने नाकाहरुमा कडा निगरानी राखेको दाबी गर्छन् ।

वन कार्यालय एक्लैले मात्र चोरीसिकार नियन्त्रण गर्न सम्भव नभएको उनले सुनाए । २९ हजार हेक्टर वन क्षेत्र मध्ये आधाजसोमा डढेलो लागेको डिभिजन वन कार्यालको भनाइ छ । डढेलोले वन्यजन्तु सुरक्षित बासस्थानको खोजीमा यताउता भौतारिदा सिकारीको सक्रियता पनि बढेको छ ।

तुरतुरे र लमाहस्थित वन्यजन्तुको बासस्थानमा डढेलो लाग्न थाले पछि हरिण, बँदेल, खरायो, बाँदर, निलगाई जस्ता वन्यजन्तु सुरक्षित बासस्थानको खोजीमा राजमार्ग वारपार गर्न थालेका छन् । उनीहरु भाग्दै चुरे क्षेत्रसम्म पुग्ने गरेका छन् ।

रौतहटको वनक्षेत्रलाई सिकारीमुक्त र डढेलाबाट जोगाउनु पर्ने मधेश प्रदेशका उद्योग तथा पर्यटन मन्त्री युवराज भट्टराईले बताए । ‘रौतहटको वन क्षेत्रमा धेरै घोल रहेको र वन्यजन्तुलाई घोल मनमर्ने हुँदा यसको सरक्षणमा सबै लाग्नु पर्छ,’ उनले भने,‘सबैभन्दा पहिला राज्यस्तरबाट डढेलो लाग्नबाट जोगाउनु पर्छ । यसमा राज्य गम्भीर छैन ।’

सुख्खायाम सँगै तराईको जंगलमा डढेलो लाग्ने क्रम सुरु भएको हो । आगोले जंगलमा साना रुखको पात र झाडीमा आगो लागेर टाढा/टाढासम्म बन्यजन्तुको गतिबिधि देखिन्छ । सिकारीले टाढैबाट गोली हानेर मार्ने गर्छन् । यहाँ अबैध हतियार राखेर सिकार गर्नेको संख्या धेरै छ ।

यहाँको जंगलमा चितुवा, बदेल, हरिण, बाँदर, खरायो, बाघ, निलगाई, सर्प र निकुञ्जबाट बेलाबेलामा गैंडा, हात्ती जस्ता वन्यजन्तु आउँछन् । उनीहरु डढेलोबाट जोगिन राजमार्ग वारपार गर्छन् । भाग्ने क्रममा सिकारीले वन्यजन्तु मार्छन् ।

प्रकाशित : वैशाख १०, २०८१ २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?