१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

प्रहरी चौकी सन्तपुरका ईन्चार्जको जिम्मेवारी खोसियो, अनियमितताको आरोपमा अनुसन्धान सुरु

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका–८ स्थित प्रहरी चौकी सन्तपुरमा कार्यरत प्रहरी सहायक निरिक्षक दिनानाथ प्रसाद यादवले कार्यालय परिसरमा रहेको काठ बिक्री गरेको लगायत विभिन्न विषयमा अनियमितता गरेको आरोपमा स्थानीयले छानविनसहित कारबाहीको माग गरेका छन् । स्थानीयले सो माग अघि सारेपछि जिल्ला प्रहरी कार्यालयले सोमबार यादवलाई चौकीको जिम्मेवारीबाट हटाएर जिल्ला तानेको छ । उनीमाथि जिल्ला प्रहरीले अनुसन्धानसमेत थालेको छ । 

प्रहरी चौकी सन्तपुरका ईन्चार्जको जिम्मेवारी खोसियो, अनियमितताको आरोपमा अनुसन्धान सुरु

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको मातहत रहेको प्रहरी चौकी सन्तपुरका प्रमुख प्रसनि यादवले साझा संस्था लिमिटेडको पुरानो भवन भत्काएर राखेको काठ हिनामिना गरेको आरोप लगाउँदै स्थानीयले छानविनको माग गरेका हुन् ।

प्रहरी चौकी पुगेका चन्द्रपुर नगरपालिकाका पूर्व नगरप्रमुख रामचन्द्र चौधरीले असई यादवले सर्बसाधरणलाई दुख दिएको र काठको फर्निचर बनाई आफैँले लगेकोले छानविन हुनुपर्ने बताए । ‘अन्यायको पराकाष्ठा नाघेर असई यादवले काम गरेका छन्,‘उनले भने,‘सर्बसाधरणलाई दुख दिने काम गरेकाले छानविन र काबारही हुनुपर्छ ।’ असई यादवले तरकारी ब्यापारीलाई धम्क्याएर रकम असुल्ने गरेको स्थानीयको आरोप छ ।

साझा सहकारी संस्था लिमिटेडको भवनमा अस्थायीरुपमा रहँदै आएको प्रहरी चौकीमा बिहान पूर्व नगरप्रमुख, वडाअध्यक्ष, राजनीतिक दलका प्रतिनिधिहरु पुगेका थिए । असई यादवले संस्थाको काठबाट फर्निचर बनाएर पटक/पटक आफ्नो घर लगेको र अन्तिम पटक लैजाने तयारी गरेको बेला स्थानीयले रोकेपछि घटना सार्वजनिक भएको चन्द्रपुर नगरपालिका– ८ का अध्यक्ष जीतेन्द्र चौधरीले बताए ।

‘असई यादबको असुली धन्धाको माथिल्लो निकायलाई जानकारी गराउँदा समेत बेवास्ता हुँदै आएको छ,‘ उनले भने, ‘काठ लगेको र धेरै स्थानीयलाई दुख दिने काम गरेकोले कारबाहीको माग गरेका छौँ ।’

असई यादवले भने आफूले राम्रो काम गरेपछि विभिन्न लान्छाना लगाउने काम भएको बताए । ‘मैले फर्निचर बनाएर घर लगकै हो । तर साझा संस्थाको काठबाट फर्निचर बनाएको होइन,‘उनले भने, ‘मैले अन्तैबाट काठ किनेर फर्निचर बनाएको हुँ । काठ बेचेको छैन । कसैलाई दुख दिएको पनि छैन ।’

पटक-पटक विवादमा परेका असई यादवलाई जिम्मेवारी मुक्त गरी छानविन सुरु गरेको जिल्ला प्रहरीका डिएसपी एलिजा गिरीले जानकारी दिइन् । स्थानीयहरु प्रहरी चौकी पुग्दा ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरी निरिक्षक गायत्री शर्मासहितको टोली पुगेर छानविन र कारबाहीको आश्वासन दिएका थिए ।

प्रकाशित : वैशाख ३, २०८१ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?