३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

बाढी बस्तीमा पसेपछि रौतहटमा दुई सय घर परिवार विस्थापित 

शिव पुरी

रौतहट — रौतहटको वाग्मती र लालबकैया नदीमा आएको बाढीले डुबानमा पार्दा बुधबार झण्डै दुई सय घर परिवार विस्थापित भएका छन् । उनीहरुलाई स्थानीय प्रशासनको सहयोगमा नजिकको विद्यालय, मठमन्दिरमा राखिएको छ । 

बाढी बस्तीमा पसेपछि रौतहटमा दुई सय घर परिवार विस्थापित 

लालबकैया नदीमा आएको बाढी राजपुर नगरपालिकाको बैरियामा तटबन्ध भत्काएर गाउँमा पसेपछि ४८ परिवार विस्थापित भएका छन् । त्यस्तै वाग्मतीको बाढी गाउँ पसेपछि दुर्गा भगवती गाउँपालिकाको बडहर्वा, जठरहिया र बसतपुरका ७० घर परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् । प्रजिअ मिश्रका अनुसार वाग्मतीको बाढीबाट राजदेवी नगरपालिकाको चण्डिया, लक्ष्मीपुर र पथराका ५६ घर डुवानमा परे ।

‘वर्षा र बाढीबाट जिल्लामा दुई सय घर परिवार प्रभावित भएको खबर पाएका छौं,’ प्रजिअ मिश्रले भने, ‘प्रभावित घरपरिवारलाई खाद्यान्न, झुल र अन्य मानवीय सहयोग उपलब्ध गराइएको छ । यस्तो बेला जिल्लाका गैरसरकारी संघ सस्थाहरु लुकेर बसेका छन् ।’

विस्थापितहरुको बसोबास व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल १२५ त्रिपाल दिएको छ । विस्थापित परिवारलाई राजपुर नगरपालिकाले मेस चलाएर सामूहिक भोजनको व्यवस्था गरेको नगरप्रमुख डाक्टर राजीक आलमले बताए । बाढीले तटबन्ध भत्किएर प्रभावित भएको बैरियामा लालबकैया तथा वाग्मती नदी नियन्त्रण परियोजनाले तत्काल मर्मत गर्ने भएको छ ।

वाग्मतीको बाढीले क्षतिग्रस्त हुन लागेको राजदेवी नगरपालिकाको ब्रम्हपुरीमा तटबन्धका साथै दुर्गा भगवती र गढीमाई नगरपालिकामा रहेको तटबन्ध मर्मत सुरु गरिसकेको प्रजिअ मिश्रले बताए ।

जिल्लाको चन्द्रपुर–गौर खण्डस्थित सबगढाको लच्का कजवेमा पानी जमेपछि दिनभर सवारी आवामगन प्रभावित भएको थियो ।

प्रकाशित : श्रावण २४, २०८० २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?