२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

मिर्चैयामा प्रदर्शनले राजमार्ग अवरुद्ध

भरत जर्घामगर

सिरहा — नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र व्यापारीको प्रदर्शनमा प्रहरीको दमन भएको भन्दै शुक्रबार सर्वदलीय संघर्ष समितले मिर्चैया बजारमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुनुका साथै मिर्चैया बजारका पसलहरू सञ्चालन हुन सकेका छैनन् ।

मिर्चैयामा प्रदर्शनले राजमार्ग अवरुद्ध

प्रदर्शनकारीले मिर्चैया नगरपालिका मेयर श्रवण कुमार यादवको ज्यादती र आमनागरिकको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले कुटपिटका साथै दमन गरेको भन्दै उनीहरूले शुक्रबार पूर्वपश्चिम राजमार्ग अन्तर्गगत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरेका छन् । दिउँसो साढे १ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन चोहर्वामा रोकिएका छन् ।

बिहान ११ बजे हनुमान चोकबाट निस्किएको विरोध र्‍यालीले राजमार्ग अवरुद्ध पारेको हो । बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिनुपर्ने लगायत माग गर्दै गत चैत २७ गतेदेखि प्रदर्शनमा उत्रिएका उनीहरु र प्रहरीबीच बिहीबार नगरपालिका घेराउका क्रममा झडप भएको थियो ।

अवस्था तनावग्रस्त भएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन २७ राउण्ड हवाइफायर, ११ सेल अश्रुग्यास प्रहार गरिएको थियो । झडपका क्रममा पाँच प्रहरी घाइते भएका थिए । १० जना भन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए । प्रहरीले घर घरमा गएर प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोप लगाएको छ । घरभित्र प्रवेश गरी कुटपीट गर्दा संगीता कुमारी साह घाइते भएको उनका पती अन्जय साहले बताए । कुटपिटबाट घाइते संगीताको कर्जन्हास्थित फूल कुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले बताए ।

गत चैत २७ गतेदेखि संघर्षमा उत्रिएका उनीहरुले बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिनुपर्ने लगायत माग गर्दै दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

मिर्चैया नगरपालिकाले साविक गाविस रामनगर–२ (क) कित्ता नम्बर २५६ र २ (क) कित्ता नम्बर ६० को जग्गामा बनेका संरचना नेपाल सरकारको जग्गामा रहेको भन्दै करिब ३७ घर माघ २७, फागुन ११ र १९ गते तोडफोड गरी भत्काएको थियो । कित्ता नम्बर २५६ र ६० अहिले नगरपालिकाको ५ नम्बर वडामा पर्छ । नगरपालिकाले आफूहरूको बस्ने तथा व्यवसाय गरेर बाँच्ने सुनिश्चितता नै नगरी चालेको कदमले बेघर बनेको, व्यापार–व्यवसाय बन्द हुँदा रोजीरोटीको आधार नै गुमेको लगायत दुखेसो पीडितहरूको छ ।

सडक विस्तारसँगै नगरपालिकाले सडकमै नपरेको बजार क्षेत्रको १७ घरधुरी बहाल बिटौरी, ऐलानी जग्गा भएको भन्दै भत्काइदिएको उनीहरूको गुनासो छ । कित्ता नम्बर २५६ को ३ बिघा १२ कठा १७ धुर जग्गा र २ (क) को कित्ता नम्बर ६० को २ कठा ५ धुर जग्गामा रहेका घर भत्काएको थियो । मिर्चैया बजारमा भत्काइएको ती घरमा व्यापारिक पसल सञ्चालित थिए ।

मिर्चैया स्थापना हुनुभन्दा अघि जंगल नै रहेका बेला बजार लगाउन आफूहरूलाई यहाँ बसोबास गराएको भए पनि अहिले आएर नगरपालिकाले उठिबास गराएको उनीहरूको गुनासो छ । त्यही बसोबास गरेको जग्गा २००४ साल र २०२५ सालमा नै व्यक्तिको नाउँमा नापी र मालपोतमा दर्ता गराएको र पुर्जामा स्पष्ट गाउँ नै लेखिएको प्रमाण रहेको उनीहरुको दाबी छ ।

उता नगरपालिकाले साबिक गाविस रामनगर–२ (क) कित्ता नम्बर २५६ को ३ बिघा १२ कठा १७ धुर जग्गा भूमिसुधार तथा मालपोत कार्यालयको मोठ स्रेस्ता अभिलेखको मोठ नम्बर १ (ङ) पाना नम्बर ६४६/१ मा सरकारको नाउँमा कायम रहेको देखिएको जनाउँदै जग्गा अतिक्रमण खाली गरिएको बताउँदै आएको छ । २०६५/२०६६ मा सरकारी सार्वजनिक जग्गाको विवरण पुस्तिकाको पाना नम्बर १०६ मा पनि सो जग्गा अभिलेखमा नेपाल सरकारको नाममा रहेको नगरपालिकाको दाबी छ ।

प्रकाशित : वैशाख ८, २०८० १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?