१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

एकै व्यक्तिलाई स्वास्थ्य, पशु सेवा र शिक्षकको जिम्मेवारी

आनन्द गौतम

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–७ याङ्मा बस्ती पुग्न वडा कार्यालय रहेको ओलाङ्चुङगोलाबाटै एकदिन पैदल हिड्नुपर्छ । कुनै सरकारी उपस्थिति नभएको यो गाउँमा निर्वाचनताका भोट माग्न उम्मेद्वारसमेत पुग्दैनन् । अहिलेसम्म पुगेका छैनन् ।

एकै व्यक्तिलाई स्वास्थ्य, पशु सेवा र शिक्षकको जिम्मेवारी

इमान्दारीपूर्वक इच्छाएको व्यक्तिलाई मतदान गर्दै आएका स्थानीयले उम्मेद्वार भेट्न नपाउँदा निर्वाचन अघि आफ्ना गुनासा सुनाउन पाउँदैनन् । नत स्थानीयले अहिलेसम्म जनप्रतिनिधिको कुनै जिम्मेवारी नै पाएका छन् ।

समुन्द्री सतहबाट ४२ सय मिटर उचाईको याङ्मामा १० घर छन् । सम्भवत यो कोशी प्रदेशकै उच्च हिमाली बस्ती समेत हो । गाउँभरिमै बस्ने जनसंख्या २९ जना रहेको यो गाउँमा १४ मतदाता छन् । बालबालिकाको संख्या ७ छ ।

०७९ मा निर्वाचित भएपछि गाउँपालिका अध्यक्ष राजन लिम्बू र उपाध्यक्ष विकास साम्रालाई लिएर वडाध्यक्ष छेतेन शेर्पा लामा यो बस्तीमा पुगे । शिक्षा, स्वास्थ्य, सञ्चार, भेटेरेनरी कुनै पनि सुविधा नभएको बस्तीका बासिन्दाले गाउँपालिका अध्यक्षलाई एउटै कुरा दोहोर्‍याए, ‘के गर्नु हामी त गरिब भयौं, पढालेखा भएन, जंगली भइयो।'

अध्यक्ष लिम्बूले सरकारको अनुभूति दिलाउने आश्वासन दिएर फर्किए । आश्वासन कार्यान्वयन गर्न गाउँपालिकालाई हम्मे पर्‍यो । याङ्माका लागि बालविकास शिक्षक, स्वास्थ्यकर्मीको आवेदन खुलाए पनि त्यहाँ गएर जागिर खाने इच्छा कसैले पनि देखाएनन् । न त गाउँमै योग्यता पुगेका कोही थिए । त्यसपछि नयाँ विकल्प खोजे, जुन कानुन सम्मत चाँहि होइन ।

भारतको दार्जिलिङमा स्नातक गरेका याङ्माकै छिरिङ दोर्जे शेर्पालाई गाउँपालिकाको केन्द्र तापेथोकमा ल्याएर स्वास्थ्य र भेटेरेनरी (पशु स्वास्थ्य) सम्बन्धी चार महिना तालिम दिलाए । दुवै क्षेत्रका स्वास्थ्यकर्मीसँगै राखेर स्वास्थ्य र पशु उपचार सम्बन्धी जानकारी गराए ।

प्रयोगात्मक विधि पनि सिकाए । उनलाई स्वास्थ्य, भेटेरेनरीको प्राथमिक उपचार गर्ने, ठूलो समस्या आए गाउँपालिकामा जानकारी गराउने र यहाँका बालबालिकालाई प्राथमिक तहको शिक्षा दिने तीन वटै जिम्मेवारी तोकेर गाउँमा पठाए । गाउँमा बोर्ड भने सामुदायिक स्वास्थ्य इकाई र प्रारम्भिक बाल शिक्षा केन्द्र राखिएको छ ।

‘कसैलाई जबरजस्ती पठाउने कुरो भएन, हामीसँग अरु कुनै विकल्प पनि भएन, गाउँपालिकामा सबैले सल्लाह गरेर एउटै व्यक्तिलाई सबै जिम्मेवारी दिएर पठायौं,’ पालिका अध्यक्ष लिम्बूले भने ।

वडाध्यक्ष लामाका अनुसार उनले विदाको दिनबाहेक यहाँका बालबालिकालाई पढाउनु पर्छ । कोही विरामी भए प्राथमिक उपचार गर्ने, ज्वरो आएको, टाउको दुखेको जस्ता सामान्य खाले औषधि वितरण गर्ने, घाउ चोटपटक लागे प्राथमिक उपचार गर्ने गरी जिम्मेवारी तोकिएको छ । ‘खासमा त बाल शिक्षकमा महिला राख्नुपर्ने हो, तर पढेको कोही छैन,’ छेतेनले भने, ‘छाकको चार सय रुपैयाँ खाना खानुपर्ने ठाउँमा जान कर्मचारी तयार नभएपछि बाल शिक्षकको जिम्मेवारी पनि उनैलाई तोक्यौं ।’

नियमित खोप सञ्चालन जस्ता कार्यका लागि भनें ओलाङ्चुङगोलाबाट स्वास्थ्यकर्मी नै जाने उनले बताए । गाउँपालिकाको केन्द्र तापेथोकबाट यो बस्तीमा पुग्न पुरै दुई दिन र वडा कार्यालय रहेको ओलाङ्चुङगोलाबाट एकदिन पैदल हिँड्नु पर्छ । यहाँ नियमित सञ्चार सम्पर्क हुँदैन । सञ्चार सम्पर्कका लागि पाँच घण्टा हिँडेर डाँडामा जानुपर्ने वडाध्यक्ष छेतेन बताउँछन् ।

त्यो पनि मौषमले साथ दिएमात्रै फोन लाग्छ । पशुपालन मुख्य पेशा भएका यहाँका बासिन्दाले चौंरी पालेका छन् । यहाँ आलु खेती पनि हुन्छ । सञ्चार सुविधाका लागि ओलाङचुङगोलामा ‘फोरजी’ राख्ने र यहाँको टुजीको टावर याङ्मा लैजाने गरी नेपाल टेलिकमसँग सम्झौता भएको गाउँपालिका अध्यक्ष राजन बताउँछन् ।

प्रकाशित : वैशाख १०, २०८१ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?