१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

सुनसरीमा प्रदर्शन चर्किएपछि हवाइफायर र अश्रुग्यास प्रहार, डीएसपीसहित ९ प्रहरी घाइते

अर्जुन सुवेदी

सुनसरी — सुनसरीको हरिनगर लगायतका आसपासका क्षेत्रमा तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक बनेपछि नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । 

सुनसरीमा प्रदर्शन चर्किएपछि हवाइफायर र अश्रुग्यास प्रहार, डीएसपीसहित ९ प्रहरी घाइते

अपराह्न हरिनगरमा प्रदर्शन चर्किएपछि प्रहरीले १२ राउण्ड हवाइफायर, २९ सेल अश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुडा प्रहार गर्नुका साथै घेराबन्दीमा पारेर निर्घात कुटपिट गरेका छन् । त्यस क्रममा प्रहरी नायब उपरीक्षक नबिनकृष्ण भण्डारीसहित ९ जना घाइते भएको सुनसरी प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले जानकारी दिए ।

नेतृत्वविहीन रहेका प्रदर्शनकारीले सादा पोसाकमा रहेका दुई जना प्रहरीलाई निर्घात कुटपिट गरी हतियार लुट्ने प्रयास गरेका छन् । प्रहरीको साथबाट ७ राउण्ड गोली लोड भएको पेस्तोल लुटे पनि प्रहरीले बल प्रयोग गरेर फिर्ता गराउन सफल भएको जनाइएको छ । प्रदर्शनकारीले हरिनगर बजारमा रहेको एउटा घरमा तोडफोड गरेका प्रहरीले जनाएको छ ।

प्रदर्शनमा घुसपैठ तथा हिंसात्मक हुन थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले हरिनगर गाउँपालिका पूरै क्षेत्र र देवानगन्ज वडा नं १ र ७ मा कर्फ्यु आदेशलाई कायमै राखेको आचार्यले जानकारी दिए । उनका अनुसार अर्को सूचना नआएसम्म हरिनगर गाउँपालिका पुरै र देवानगन्ज वडा १ र ७ मा कर्फ्यु यथावत छ । प्रशासनले अन्य पालिकाहरुमा भने आंशिकरुपमा कर्फ्यु लागू हुने जनाएको छ । प्रजिअ आचार्यका अनुसार इनरुवा नगरपालिका क्षेत्र, देवानगंजको वडा २, ३, ४, ५ र ६ वडा, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा भने कर्फ्युलाई प्रशासनले केही खुकुलो बनाएको छ । यी क्षेत्रमा सोमबार बिहान १० बजेसम्म आंशिकरुपमा कर्फ्यु लागू हुने प्रजिअ आचार्यले जानकारी दिए ।

गत बिहीबार हरिनगर गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले स्थानीय युवालाई मरनासन्न हुनेगरी कुटपिट गरेपछि अवस्था असामान्य बनेको हो । दुई समूहबीच भएको कुटपिटका कारण सामाजिक सद्भाव भड्कन नदिन र नागरिक जीउधनको सुरक्षाका लागि बिहीबारदेखि कर्फ्यु लगाइएको हो ।

प्रकाशित : चैत्र २५, २०८० २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?