२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तेह्रथुम आगलागी : २३ घर र ५ गोठ जले, बस्तीको आगो नियन्त्रण बाहिर 

तेह्रथुम — फेदाप गाउँपालिका १ सिम्लेमा आइतबार अपराह्नदेखि सुरु भएको आगलागीमा परी ५ वटा बस्तीका २३ घर जलेका छन् । आगलागीमा थप ५ वटा ग्वाली (गोठ)समेत जलेका छन् । गाउँको पुछारमा वनमा अपरान्ह १ बजे अचानक सुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको थियो । 

तेह्रथुम आगलागी : २३ घर र ५ गोठ जले, बस्तीको आगो नियन्त्रण बाहिर 

आगलागीका कारण अहिलेसम्म २३ वटा घर र ५ वटा ग्वाली जलेको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिए । आगलागीमा परी सिम्लेका रातमाटे, बाँझीगरा, टाहारी, अम्फुवा र मयन्तपागाउँ जलेका हुन् । बस्तीमा आगो लागिरहेको छ । बस्ती पातलो भएको र वरिपरि जंगल भएकाले आगो नियन्त्रण गर्न समस्या भएको वडाध्यक्ष श्रेष्ठले बताए ।

आगलागीमा मानव बसोबास गर्दै गरेका १० वटा र मानव बसोवास नभएका १३ गरी २३ वटा घर जलेका छन् । धेरै संख्यामा पशु चौपाया जलेका छन् । जंगलमा चर्न गएका गाई र बाख्रा तथा घरमै बाँधिराखेका भैंसी, गाईगोरु, बाख्रा तथा बंगुर, कुखुरा समेत जलेका छन् ।

आगलागीमा नगद, अन्नपात, लत्ताकपडा, गरगहनालगायत करोडौंको धनसम्पत्ति नष्ट भएको पीडितको भनाइ छ । सुख्खाक्षेत्र भएकाले आगो निभाउन समस्या भएको स्थानीयको भनाइ छ ।

प्रहरीका अनुसार आगलागीबाट भएको जनधनको क्षति अझै यकिन भएको छैन ।


प्रकाशित : चैत्र ४, २०८० २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?