३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

बुढीगंगा दुर्घटना : अधिकारी दम्पत्तीले गुमाए जुम्ल्याहा सन्तान

विनोद भण्डारीे

विराटनगर — मोरङको बुढीगंगा गाउँपालिका–४, प्रगतिटोलका ६० वर्षिय ज्योती अधिकारीले पहिलो विवाह गरेको डेढ दशक सम्मपनि सन्तान भएनन् । त्यसपछि उनले घरसल्लाहमै दोश्रो विवाह गरे । तर दोश्रो विवाह गरेपछि उनले सन्तानका लागि १२ वर्ष कुर्नुपर्‍यो । उनका जुम्ल्याहा छोरा र छोरी भए । तर ती दुवै सन्तान अधिकारीले शुक्रबार अकल्पनीय रुपमा गुमाए ।

बुढीगंगा दुर्घटना : अधिकारी दम्पत्तीले गुमाए जुम्ल्याहा सन्तान

यसबेला उनी सन्तान बियोगमा अचेत छन् । उनको उपचार विराट शिक्षण अस्पतालमा भइरहेको छ । उनका दुवै श्रीमतीको हालत समेत उही छ । यहाँ शुक्रबार बिहान भएको दुर्घटनामा तीन बालबालिकाको ज्यान गयो । तीमध्ये दुई जना उनकै छोराछोरी थिए ।

हात्तीमुढामा पर्ने सुनसरी-मोरङ सिँचाई योजनाको शाखा नहरसँगै जोडिएको उनको झुप्रो घर छ । त्यही नहरको डिलबाट हात्तीमुढा औधोगिक करिडोरका उद्योगका लागि औधोगिक कच्चा पादर्थ बोकेका मालबाहाक ट्रक र लरी गुड्छन् ।

त्यसैक्रममा मार्बल उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ बढेमानका ढुङ्गा बोकेको लरी शुक्रबार उनको घरको बराण्डामा पल्टियो । उनका चार वर्षिय छोरा निशान्त र छोरी इसिता सहित छिमेकी सन्जु खवासकी १० वर्षिय छोरी रिहा खवासको घटना स्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन दाहालले बताए । अचानक गाडी घरको बराण्डामा पल्टिँदा ज्योतीको खुट्टा च्यापियो, उनी पनि घाइते भए ।

डिएसपी दाहालका अनुसार आर जे २९ जीवी १५६१ नम्बरको उक्त लरीले हात्तीमुढा औधोगिक करिडोरको मार्बल उत्पादन गर्ने वोस्नो ग्रानेट उद्योगका लागि औधोगिक कच्चा पदार्थ ढुङगा लिएर आइरहेको थियो । घटनापछि फरार भएका लरीका चालकको खोजी भइरहेको छ ।

अधिकारीले पहिलो पत्नीका रुपमा कल्पनालाई विवाह गरेका थिए । डेढदशक सम्मपनि उनीबाट सन्तान नभएपछि कल्पनाकै सुझावमा दोस्रो पत्नीका रुपमा आसालाई विवाह गरेका थिए । अधिकारीका मामाका छोरा दिवाकर पौडेलले भने, 'आसा भाउजुलाई विवाह गरेको १२ वर्षपछि चार वर्ष पहिला जुम्ल्या सन्तान प्राप्त भएको थियो । ती दुवैलाई कलिलैमा भगवानले आफ्नो बनाए ।'

शक्रबार बिहान घरको बराण्डामा अधिकारीका दुई सन्तानसहित छिमेकी बालिका खेल्दै थिए । अचानक घरको बराण्डामा ढुङगा बोकेको लरी पल्टियो । स्थानीय रमेश खनालले भने, 'घरमा खसेको करिब ३० टन ढुङगाले तिनैजना बालबालिका पुरिए । उक्त ढुङगा पन्छाउन प्रहरी, क्रेन र स्थानीयलाई झण्डै ६ घण्टा लाग्यो ।'

उनका अनुसार ढुङगा पन्छाइ सक्दा तिनैजना बालाबालिका क्षतविक्षत् अवस्थामा फेला परे ।

प्रकाशित : फाल्गुन ११, २०८० २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?