२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तेह्रथुम-पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल १० वर्षदेखि अलपत्र

दुई जिल्लाका स्थानीयद्वारा आन्दोलनको चेतावनी
चन्द्र कार्की

तेह्रथुम — पाँचथर र तेह्रथुमलाई जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल निर्माणमा ढिलाइ भएको भन्दै दुवै जिल्लाबासीले आन्दोलनको चेतावनी दिएका छन् । काम थालेको १० वर्षसम्म पनि पुल निर्माण नभएको भन्दै तेह्रथुम र पाँचथरबासीले आन्दोलनको चेतावनी दिएका हुन् ।

तेह्रथुम-पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल १० वर्षदेखि अलपत्र

सडक डिभिजन कार्यालय धनकुटाले स्वच्छन्द निर्माण सेवा काठमाडौंलाई ३ वर्षमा काम सम्पन्न गर्ने गरी १० वर्षअघि २०७० सालमा ठेक्का सम्झौता गरेको थियो । तर, अहिलेसम्म ४० प्रतिशत पनि काम पूरा नभएको जिल्लाबासीको आरोप छ ।

सडक डिभिजन कार्यालयका अनुसार १ सय ६० मिटर लामो पुलमा ९२ मिटर ढलान हुनुपर्ने छ । बाँकी ५७ मिटरमा स्टिलको ट्रस्ट राखिनेछ । दुई लेनको पुल निर्माणका लागि स्वछन्द निर्माण सेवाले १५ करोड ३६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन गर्न ठेक्का सम्झौता गरेको थियो । २०७३ सालमा निर्माण सम्पन्न हुनुपर्ने पुल निर्माण कम्पनीको लापरबाहीका कारण अहिलेसम्म आधा पनि काम सम्पन्न भएको छैन । पुलमा २ वटा पिलर, ४ वटा स्लाप र ६० मिटर लम्बाइको ट्रस्ट निर्माण गर्न बाँकी नै छ ।

निर्माण कम्पनीले १० वर्ष बित्दा पुलको आधा काम पनि सम्पन्न नगरेको भन्दै जिल्लाबासी आन्दोलनमा उत्रिएका हुन् । काम चाँडो गर्न माग गर्दै म्याङलुङ बजारका युवा अर्जुन ढुंगानासहितको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दर्ता गराएर पुल निर्माणका लागि दबाब दिंदै आएको छ ।

पुल निर्माणको काम चाँडो सम्पन्न गर्न माग गर्दै दुवै जिल्लाका जनप्रतिनिधि, सरोकारवाला र राजनीतिक दलका नेताहरू पटक–पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालयसम्म पुगेर मन्त्रीहरूको ध्यानाकर्षण गराएर फर्किएका छन् । सम्बन्धित मन्त्री र मन्त्रालयले समेत पुल निर्माणमा चासो नदेखाएको भन्दै पछिल्लो समय दुवै जिल्लाबासीले अन्दोलनको तयारी गरेको म्याङलुङ नगरपालिकाका नगर प्रमुख सञ्जय तुम्बाहाङ्फेले बताए । ‘अबको एक साताभित्र पनि निर्माण कम्पनीले रोकिएको काम नथाले सदरमुकामदेखि निर्माणस्थलसम्म नै विरोधका कार्यक्रम सुरु गर्छौं,’ उनले भने ।

नगर प्रमुख तुम्बाहाङ्फेको नेतृत्वमा तेह्रथुमका राजनीतिक दलका अगुवा, सरोकारवाला र स्थानीयको टोली र पाँचथरको नेतृत्व गर्दै कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्रबहादुर खड्काको नेतृत्वको टोलीले पुल निर्माण स्थल तमोर नदीको लुमुघाटमा पुगेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

निर्माण सम्पन्न भएको काममा समेत ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरेको आरोप उनीहरूको छ । दुवै जिल्लाका जनप्रतिनिधिले पुलको स्थलगत अनुगमन निरीक्षण गरी गुणस्तरीय सामान प्रयोग गरी चाँडो काम सक्न अनुरोध गर्दै आएका थिए । स्थलगत अनुगमन निरीक्षणका क्रममा तमोर नदीको लुमुघाटमा निर्माणाधीन मोटरेबल पुलमा प्रयोग गरिएका अधिकांश निर्माण सामग्री कमसल भएको फेला परेको म्याङलुङ नगरपालिकाका प्रमुख तुम्बाहाङ्फेले बताए ।

निर्माण कम्पनीले पुलमा कमसल सामग्रीको प्रयोग गरेको जनगुनासो आएपछि दुवै जिल्लाका जनप्रतिनिधिले फरक–फरक समयमा पुलको स्थलगत अनुगमनसमेत गरेका थिए । विभिन्न बहाना देखाउँदै पुल निर्माणमा ढिलाइ गर्दै आएको स्वछन्द निर्माण सेवालाई पुलमा प्रयोग गरिएका सामग्रीको ल्याव टेस्ट रिपोर्ट मगाएका थिए । त्यसयता ठेकेदारले काम नै रोकेर बसेको छ ।

पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद वसन्तकुमार नेम्वाङसमेतको टोलीले पुल निर्माण स्थलमै पुगेर पटक–पटक अनुगमन गरेको थियो । नेम्वाङले सदनमा समेत पुल निर्माणमा ठेकेदारले ढिलाइ गरेको बारेमा जानकारी गराएका थिए । अघिल्लो सरकारको पालामा उनै नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत बने । तर पनि उनकै जिल्लाको सीमा तमोर नदीमा निर्माणाधीन पुल बनेन ।

निर्माण कम्पनीले पुल निर्माणमा ढिलाइ गरिरहेको र निर्माणमा प्रयोग गरिएका सामग्रीसमेत कमसल रहेको जनगुनासो आएपछि पुलको स्थलगत अनुगमन निरीक्षण गरिएको म्याङलुङ नगरपालिकाका मेयर तुम्वाहाम्फेले बताए । पुल निर्माणमा प्रयोग भएका सामग्री कमसल रहेको भेटिएपछि त्यसबारे थप परीक्षण गर्न सम्बन्धित कार्यालयलाई अनुरोध गरिएको कांग्रेसका पूर्वजिल्ला सभापति गोविन्द ढुंगानाले बताए ।

निर्धारित समयमा पुल निर्माणको काम सम्पन्न नहुँदा दुई जिल्लाका बासिन्दाले दुःख व्यहोर्नु परिरहेको उद्योग वाणिज्य संघ यासोक पाँचथरका अध्यक्ष गोपाल पोखरेलले बताए । कांग्रेसका प्रभावशाली नेतासमेत रहेका निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका ठेकेदार जयराम लामिछानेले भने सुरुताका भारतीय नाकाबन्दी, बाढी पहिरो, सामान ढुवानीमा सडकको समस्या लगायतका कारण पुल निर्माणमा ढिलाइ भएको बताए । निर्माण कम्पनीले १० वर्षमा चारवटा पिलर हालेर पुलको सतह मात्र ढलान गरेको छ । बाँकी ६० प्रतिशत कामको अवस्था लथालिंग देखिन्छ । अहिले पुल निर्माण स्थलमा निर्माण कम्पनीका कोही प्रतिनिधिसमेत देखिंदैनन् । पुलको काम अलपत्र अवस्थामा छोडिएको छ ।

काम नगरे पनि निर्माण कम्पनीले पटक–पटक म्याद भने थप गर्दै आएको छ । पुलमा प्रयोग गरिएका निर्माण सामग्री कमसल भएको भन्ने गुनासो आएपछि परीक्षणमा पठाएको बताए पनि सडक डिभिजन कार्यालयले त्यसको रिपोर्ट सार्वजनिक गरेको छैन । पुल निर्माणको काम लामो समयदेखि रोकिएपछि दुई जिल्लाबासीलाई बिरामी ओसारपसार र कृषिजन्य बस्तु ढुवानीमा समेत समस्या भएको दुवै जिल्लाबासीको भनाइ छ ।

निर्माण कम्पनीका प्रमुख ठेकेदार लामिछानेले आगामी असार मसान्तसम्म काम गरिसक्ने म्याद पाएकाले सोही समयभित्र सम्पुर्ण काम सम्पन्न गरी सडक डिभिजन कार्यालयलाई जिम्मा लगाउने दाबी गरेका छन् । पुलमा प्रयोग गरिएका निर्माण सामग्रीहरू ढुंगा, बालुवा, गिटी, सिमेन्टलगायतका सबै सामानको ल्याब टेस्ट गरेर मात्र प्रयोग गरिएको लामिछानेको दाबी छ ।

तमोर नदीमाथि बनिरहेको यो पुलले पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्नेछ । पाँचथरको सदरमुकाम फिदिम र तेह्रथुमको सदरमुकाम म्याङलुङ जोड्ने छोटो दूरीको यो पुल निर्माणपछि मेची र कोशी राजमार्गको सिधा सम्पर्कसमेत जोडिनेछ । तर तोकिएको समय भन्दा ७ वर्ष ढिला भैसक्दा पनि पुल निर्माणले गति लिन सकेको छैन ।

प्रकाशित : माघ ३, २०८० १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?