कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

ट्रेड एक्स्पोमा ४ दिनमा ४ करोडको कारोबार

विनोद भण्डारी

विराटनगर — मोरङ व्यापार संघको १० दिने ट्रेड एक्स्पो-२०२३ को चौथो दिनसम्ममा ४ करोडभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ । एक्स्पोमा कृषिजन्य र औद्योगिक उत्पादनदेखि भान्सारका सामानको स्टलमा उपभोक्ताको भीड बढ्दो छ ।

ट्रेड एक्स्पोमा ४ दिनमा ४ करोडको कारोबार

४ दिनमा ५० हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्दा ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको व्यापार संघका अध्यक्ष नविन रिजालले जनाए । 'एक्स्पोका २ सय ५० वटै स्टलमा उपभोक्ता र सर्वसाधारणको उल्लेख्य भीड छ,' रिजालले भने, 'अहिलेको शिथिल आर्थिक अवस्थामा एक्स्पोले केही हदसम्म आर्थिक चहलपहल बढाएको छ ।'

सनम फलफूल उत्पादन तथा प्रशोधन केन्द्र मिक्लाजुङ पाँचथरकी जुनु लावतीले एक्स्पोको ४ दिनमा ४० हजारभन्दा बढीको कारोबार भएको बताइन् । 'अरु समयमा दैनिक २ हजारको किवी र त्यसका परिकारको बिक्री हुन हम्मे पर्थ्यो,' लावतीले भनिन्, 'एक्स्पोमा दैनिक १० हजारभन्दा बढीको कारोबार भइरहेको छ ।'

गाडी र मोटरसाइकलको व्यापार पनि राम्रो भएको छ । गाडी तथा मोटर साइकल विक्रेता मुस्कान अलीका अनुसार अहिलेको समयमा १ गाडी र ३ मोटरसाइकल बिक्री हुनु एक्स्पोको उपलब्धि मान्नुपर्छ ।

विराटनगर-२ शंकरपुरमा सञ्चालित एक्स्पोमा औद्योगिक उत्पादनसहित कृषि उपज र भान्सारका सामानमा भीड बढी छ । 'अन्य औद्योगिक उत्पादनको बजार प्रवर्द्धन भएको छ,' रिजालले भने, 'ठूला औद्योगिक उत्पादनको यहाँ बजार प्रवर्द्धन भने अकल्पनीय भइरहेको पाइएको छ ।' उनका अनुसार एक्स्पोले शिथिल रहेको सुनसरी-मोरङ औद्योगिक क्षेत्रको आर्थिक कारोबार चलायमान बनाएको छ ।

व्यापार रणनीतिअर्न्तगत पहिचान गरिएका प्रदेशका कृषि उत्पादन, अन्तरप्रादेशिक व्यापार संभावना र सेवालाई अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने एक्स्पोको लक्ष्य छ । एक्स्पोका संयोजक अनिल साहले भने, 'स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार आकर्षण बढाउने उद्देश्यले एक्स्पोलाई क्रिसमस र अंग्रेजी नयाँ वर्षको फेस्टिभल मुभमेन्टका रुपमा पनि आयोजना गरिएको हो ।

एक्स्पो ४ लाखले अवलोकन गर्ने र करिब १५ करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । एक्स्पोमा स्वदेशीसहित भारत, पाकिस्तान, बंगलादेशका औद्योगिक उत्पादन, कृषि उत्पादन, सवारी साधन, व्यापारीक साधन र घरेलु वस्तुका २ सय ५० वटा स्टल राखिएका छन् । एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।

प्रकाशित : पुस ९, २०८० १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?