कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

कोशीमा सभामुख राप्रपाले दाबी गर्ने

देवनारायण साह

मोरङ — कोशी प्रदेशसभा सचिवालयले सभामुख चयनको तयारी थालेको छ । उपसभामुख सिर्जना दनुवारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग सभामुख चयनका लागि छलफल सुरु गरेको बताइन् । आउँदो पुस ४ गते बस्ने प्रदेशसभा बैठकबाट सभामुख चयन प्रक्रिया सुरु गर्ने तयारीमा प्रदेशसभा सचिवालय जुटेको हो । 

कोशीमा सभामुख राप्रपाले दाबी गर्ने

उपसभामुख दनुवारले कार्य व्यवस्था परामर्श समितिमा सभामुख चयन प्रक्रिया सुरु गर्ने सहमति भएकोले अब दलहरुको नेतासँग छलफल गरेर प्रक्रिया अघि बढाउने तयारी गरेको बताइन् ।

प्रदेशसभा सचिवालयले सभामुख चयनको तयारी गरेसँगै सभामुख पदमा राप्रपाले दाबी गर्ने भएको छ । सभामुखमा राप्रपाले प्रमुख सचेतक अमरबहादुर विष्टलाई अघि सार्ने तयारीसमेत गरेको हो । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुख पद राप्रपाले लिने छलफल भइरहेको बताएका छन् । ‘राप्रपाको ६ जना मात्रै प्रदेश सांसद रहे पनि हामीले सभामुख लिएको अवस्थामा सर्वसम्मत नै हुने अवस्था छ,’ उनले भने, ‘सभामुख पदमा प्रमुख सचेतक तथा राप्रपाका केन्द्रीय सदस्य अमरबहादुर विष्टलाई अघि सार्ने निर्णय भइसकेको छ ।’ सिटौलाले राप्रपाले सभामुख र एउटा संसदीय समितिको सभापति लिएर प्रदेश सरकारलाई साथ दिने राप्रपाको तयारी रहेको बताएका हुन् ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले राप्रपालाई प्रदेशसभामा जिम्मेवारी दिन एमाले तयार रहेको बताएका छन् । उनले एमाले वा राप्रपामध्ये एउटा दलले सभामुख र अर्को दलले उपसभामुखको जिम्मेवारी लिएर प्रदेशसभाको नेतृत्व गर्ने बताएका हुन् ।

प्रदेशसभा गठन भएपछि पुस २८ गते सभामुख पदमा निर्विरोध निर्वाचित भएका माओवादी केन्द्रका तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते पदबाट राजीनामा दिएका थिए । उनी कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकार गठनका लागि बहुमत पुर्‍याउन प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा सभामुख पदबाट राजीनामा दिएर आर्थिक मामलिा तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी सभामुख पदबाट राजीनामा दिएदेखि उपसभामुख दनुवारले प्रदेशसभा सम्हाल्दै आएकी हुन् ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा(५) अनुसार कांग्रेसका ८ विद्रोही प्रदेश सांसद र एकालेको ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले राप्रपाको साथ लिएर सदनमा बलियो उपस्थिति जनाउने तयारीमा छन् । उनले पनि राप्रपालाई सभामुख र एउटा संसदीय समितिको सभापति दिएर साथ लिने तयारीमा रहेको स्रोतले जनाएको छ ।

९३ सदस्यीय प्रदेशसभामा एमालेको उपसभामुख सहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका एक जना प्रदेश सांसद छन् । मुख्यमन्त्री कार्कीलाई राप्रपा बाहेकका सबै दलले विश्वासको मत दिए पनि माओवादी केन्द्र र एकिकृत समाजवादी सरकारमा सहभागी भएपछि एमाले सरकारबाट बाहिरिएको छ । जनता समाजवादी पार्टीले सरकारलाई समर्थन दिए पनि आन्दोलनरत पहिचान पक्षधरको माग र मुद्दा सरकारले सम्बोधन नगरुञ्जेल सरकारमा सहभागी नहुने अडानमा छ । त्यसैले मुख्यमन्त्री कार्कीले कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६ र एकिकृत समाजवादीका ४ गरी ४२ सांसदको साथ लिएर प्रदेशसभामा बलियो बहुमत कायम राख्ने रणनीतिमा देखिएका हुन् ।

प्रकाशित : पुस २, २०८० १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?