३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

डेंगीको त्रासले दिउँसै झुलभित्र

जेठ तेस्रो सातायता धरानमा डेंगी संक्रमणबाट नौ जनाको ज्यान गइसकेको छ
प्रदीप मेन्याङ्बो

सुनसरी — श्रीमती र छोरीलाई पालैपालो डेंगी संक्रमणले सताएपछि ८२ वर्षीय रत्नकुमार श्रेष्ठ रात–दिन झुलभित्रै बस्छन् । धरान उपमहानगरपालिका–११ शिवजी चोकका श्रेष्ठकी पत्नीलाई १२ दिनअघि र छोरीलाई साताअघि डेंगु संक्रमण भएको थियो ।

डेंगीको त्रासले दिउँसै झुलभित्र

‘धरानमा कोरोना जस्तै फैलियो डेंगु’ कोठामा झुलभित्रै बसिरहेका बेला भेटिएका श्रेष्ठले भने, ‘श्रीमती र छोरीले पाएको सास्ती देखेर डरैले अचेल दिउँसै झुल टाँगेर बस्ने गरेको छु ।’ डेंगी भाइरस बोकेको लामखुट्टेले टोक्दा यो रोग सर्ने र संक्रमितलाई टोकेर अर्को स्वस्थ मान्छेलाई टोके पनि सर्नेबारे आफूलाई जानकारी भएको उनले सुनाए ।

श्रेष्ठजस्तै दिउँसो पनि बिस्तरामा झुल लगाउने गरेको धरान–१५ बाँझगराकी ५५ वर्षीया सविता लिम्बूले बताइन् । दिनभर झुलभित्र बसेपछि खुला हावा खान उनी घरनजिकैको चोकमा निस्केकी थिइन् । ‘मधुमेह र मुटुसम्बन्धी पनि रोग भएकाले छोराबुहारीले दिउँसो पनि झुल लगाएर बस्नु भनेका छन्,’ लिम्बूले भनिन् ।

उनले एक महिनाअघिसम्म बेलुका सुत्ने बेलामा मात्र बिस्तरामा झुल लगाउने गरेकी थिइन् । उच्च ज्वरो आउने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, शरीर दुखेर सहनै गाह्रो हुने जस्तो सास्ती देखेकी लिम्बूले झुलभित्रै बसेमात्रै लामखुट्टेको टोकाइबाट बच्न सकिने बताइन् । उनका छिमेकीलाई पनि दुई साताअघि डेंगीले सताएको थियो ।

धरान अहिले डेंगीको इपिसेन्टर जस्तै भएको छ । दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिका डेंगीबाट जोगाउन धरान उपमहानगरले ‘सर्च एन्ड डेस्ट्रोय’ अभियानलाई तीव्रता दिएको छ । उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बढी प्रभावित वडा र टोलमा यो अभियान चलाइरहेको बताए । उनका अनुसार साउन ११ सम्म धरानका ३ हजार ७ सय ३१ जनाले परीक्षण गराउँदा २ हजार १ सय ९९ सय (अर्थात् ५९ प्रतिशत) मा पोजिटिभ रिपोर्ट आएको छ ।

धरानमा सबैभन्दा बढी प्रभावित वडा १८, १५, १६, १७ र ८ छन् । जेठ तेस्रो सातायता धरानमा डेंगी संक्रमणबाट नौ जनाको ज्यान गइसकेको छ ।

धरानमा डेंगी फैलिएयता झुल, पारासिटामोल, थर्मोमिटर र जीवनजलको व्यापार बढेको छ । ‘अरू बेलाको तुलनामा यी औषधि र सामग्रीको करिब ४० प्रतिशत माग बढेको छ,’ धरान–७ शान्तिपथका हितैषी फार्मेसी सञ्चालक हरि बाँस्तोलाले भने, ‘तर हामीले फ्लाक्सन, ब्रुसेट र निम्स जस्ता औषधि बिरामीले मागे पनि बिक्री बन्द गरेका छौं ।’ चिकित्सकहरूले डेंगु संक्रमण हुँदा दुखाइ कम गर्ने ब्रुसेट टाइपका औषधिले झन् खराब गर्छ भनेकाले पारासिटामोल मात्र बेचिरहेको उनको भनाइ छ । झुलको बिक्री गत वर्षको तुलनामा ५० प्रतिशतले बढेको धरान–२ त्रिभुवनस्थित श्री पाथीभरा स्टोरका सञ्चालक चन्द्रशेखर अधिकारीले बताए ।

प्रकाशित : श्रावण १३, २०८० २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?