२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अर्बभन्दा बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ 

डिल्लीराम खतिवडा

उदयपुर — अर्बभन्दा बढी ठगी गर्ने गिरोहका ७ सदस्यलाई उदयपुरको कटारीबाट पक्राउ गरिएको छ । सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने गिरोहका सदस्यलाई बुधबार दिउँसो प्रहरीले सार्वजनिक गरेको हो ।

अर्बभन्दा बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ 

पक्राउ पर्नेमा भारत उत्तराखण्ड राज्यको पौडीगढवालका ३६ वर्षीय आईटी इञ्जिनियर प्रवीण भट्ट र मोरङ विराटनगर महानगरपालिका-६ का हेमराज साह, सप्तरी विष्णुपुर गाउँपालिका–२, सिम्राहाका निरजकुमार साह, राजविराज नगरपालिका-१, डुम्रीका २५ वर्षीय डम्बर साह, गुल्मीको इस्मा गाउँपालिकाका–५ का ३२ वर्षीय ध्रुव थापा, झापाको झापा गाउँपालिका-१, बेलौतीबारीका ३१ वर्षीय बरजहान सेख र कलैया उपमहानगरपालिका–२० वसन्तपुरका २३ वर्षीय रुस्तम मन्सुरी रहेको प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बताए ।

उनीहरुले सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, भाइवर, हृवाट्सअपलगायत सामाजिक सञ्जाल उपयोग गर्दै विभिन्न व्यक्तिबाट एक अर्ब, नौ करोडभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धमा खुलेको प्रहरी उपरीक्षक फुयालले बताए ।

कटारी नगरपालिका– ४ की ३६ वर्षीय सरिता तामाङले दिएको ठगीसम्बन्धी उजुरीको अनुसन्धानको क्रममा ठगीमा संलग्न ७ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक फुयालले बताए । ‘तामाङलाई गुडनेस इजरायल नामको फेसबुक म्यासेन्जरबाट सम्पर्क गरी साथी बनाई कुराकानी गर्दै प्रभोलनमा पारेर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी उपरीक्षक फुयालले भने, ‘सुरुमा साथीलाई ७० हजारको अमेरिकी डलर बराबरको पार्सल पठाइदिएकाले एयरपोर्टमा उक्त सामान रोकिएको भन्दै फोटो पठाइएको थियो ।’ जतिसक्दो छिटो सामान लिन विमानस्थलको भन्सारमा कर तिर्नुपर्ने भन्दै एक लाख ३० हजारभन्दा बढी रुपैयाँ ठगेको पाइएको प्रहरी उपरीक्षक फुयालले बताए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सुरुमा पार्सल पठाएको र चिठ्ठा परेको भन्ने प्रचार गरेको, जुवा, हुण्डी कारोबारमा संलग्न भएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप भई अनुसन्धान कार्य अघि बढेको प्रहरी उपरीक्षक फुयालले बताए । उनीहरुलाई इलाका प्रहरी कार्यालय कटारीले विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रवीन कार्कीले बताए ।

प्रकाशित : असार २७, २०८० १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?