लडेर पाँचथरमा दुई जनाको मृत्यु - कोशी - कान्तिपुर समाचार

लडेर पाँचथरमा दुई जनाको मृत्यु 

लक्ष्मी गौतम

पाँचथर — भीर र रुखबाट लड्दा सोमबार साँझ पाँचथरको फिदिमका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम–१३ लुङरुपाका ३८ वर्षीय मनोज नेम्वाङ  (सोम) र कुम्मायक ३ का ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फे छन् ।

उनीहरूमध्ये नेम्वाङको भीर र सम्बाहाम्फेको रुखबाट लडेर ज्यान गएको हो । नेम्वाङ फिदिम ७ को नाङलापा भन्ने स्थानमा भीरबाट लडेका थिए । त्यस्तै सम्बाहाम्फेको घाँस काट्ने क्रममा फिदिम–५ मा रुखबाट लडेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । रुखबाट झर्दा गम्भीर घाइते भएका सम्बाहाम्फेको उपचारका लागि पाँचथर अस्पताल फिदिम ल्याउने क्रममा निधन भएको हो ।

कुम्मायक गाउँपालिका ३ रानिगाउँ घर भएका सम्बाहाम्फे फिदिम–५ का रामकुमार तुम्बापोको घरमा कामदारका रुपमा बस्दै आएका थिए ।उनीहरूलाई पोस्टमार्टमका लागि पाँचथर अस्पताल ल्याएर मंगलबार आफन्तलाई बुझाइएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २४, २०७९ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं उपत्यकाका चार स्थानमा देखियो बर्डफ्लू [अपडेट]

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकाका चार स्थानमा बर्डफ्लू देखिएको छ । ललितपुरको खुमलटार, नागर्जुन–६ रामकोट, तार्केश्वर –७, संगालछाप र शंखमूलमा बर्डफ्लू देखिएको हो । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले साउनयता पहिलो पटक बर्डफ्लू देखिएको पुष्टि गरे ।

फाइल तस्बिर : रोयटर्स

कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । सूचना अधिकारी ढकालका अनुसार त्यहाँ अनुसन्धान प्रायोजनका लागि पालिएका टर्की र अरु चराहरु मर्न थालेपछि त्यसको नमूना परीक्षणमा पठाउँदा आइतबार बर्डफ्लू पुष्टि भयो ।

बर्डफ्लू देखिएसँगै कुखुरा र अन्डा तथा दानाहरु नष्ट गर्ने काम भइरहेको छ । रामकोटमा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ । त्यसैगरी, तार्केश्वरमा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ । साथै ललितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ ।

हालसम्म सबै फार्ममा ६ हजार ७१८ वटा कुखुरा, १० हजार २४५ र ५५० केजी दाना नष्ट गरिसकिएको विभागले जनाएको छ ।

प्रकाशित : माघ २४, २०७९ ०९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×