२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

जबर्जस्ती करणीपछि एक महिला र बालिकालाई भारत लैजान खोज्ने दुई भारतीय पक्राउ

विनोद भण्डारी

विराटनगर — झापाकी एक महिला र १३ वर्षीया बालिका जबर्जस्ती करणीपछि मानव बेचबिखनको फन्दामा परेको घटना सार्वजनिक भएको छ । उनीहरूलाई दुई भारतीय नागरिकले होटलमा जबर्जस्ती करणी गरेपछि भारतीय कोठीमा बेच्नका लागि लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरूको उद्धार गरेको छ भने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जबर्जस्ती करणीपछि एक महिला र बालिकालाई भारत लैजान खोज्ने दुई भारतीय पक्राउ

प्रहरीलाई पीडित महिलाले दिएको बयानअनुसार अर्काको घरमा मजदुरी गरेर जीविका चालउँदै आएकी झापा कन्काई नगरपालिका ४ की मुस्लिम समुदायकी २७ वर्षीया महिला र १३ वर्षीया बालिका कामको खोजी गर्दै गत बिहीबार प्रदेश १ को राजधानी विराटनरमा आइपुगे ।

ती महिलाकी माइली दिदीको एक दशकअघि नै मृत्यु भएपछि ती बालिका उनीसँगै बस्दै आएकी हुन् । विराटनगर आइपुगेपछि ती महिला बालिकालाई सँगै लिएर कामको खोजी गर्दै मुख्यमन्त्री कार्यालय दक्षिणको नहर छेउको मनकामना होटल पुगिन् । त्यसबेला साँझको ४ बजेको थियो । झापा घर फर्कन उनीसँग रकम पनि थिएन । खाने र बस्नेको ठेगान पनि थिएन । अन्योलमा परिरहँदा होटलमै रहेका भारतीय नागरिक सुपोल सिम्राही-१३ का बाबु साहव र अररिया नसदगन्ज-१४ का मोहम्मद जाहगिरसँग उनको भेट भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

उनीहरुले ती महिला र बालिकालाई सोधखोज गर्न थाले । महिलाले आफ्नो अवस्थाबारे बेलीबिस्तार सुनाइन् । त्यसपछि ती दुई भारतीय नागरिकले होटलको भन्दा राम्रो र बढी पैसा हुने जागिर लगाइदिने आश्वासन दिँदै आफूहरुसँगै हिँड्न आग्रह गरेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ ।

महिला र बालिकाले उनीहरुको प्रस्ताव तत्काल स्वीकार गरेनन् । 'तपाइँलाई चिनेका पनि छैनौं र हामीसँगै पनि जाँदैनौं,' ती महिलाले उनीहरुलाई जवाफ दिएकी थिइन् । भारतीय नागरिकले भने आफूहरू पनि मुस्लिम भएकाले आफ्नै समुदायका महिला अप्ठ्यारोमा पर्दा सहयोग गर्ने भन्दै सहयोग गर्ने बाचा दिए।

'यति साँझ भइसक्यो । तिमीहरुको बस्ने र खानेको टुंगो पनि छैन । हामी पनि आज विराटनगरमै होटलमा बस्छौं । तिमीहरु पनि यतै बस । पैसाको चिन्ता नगर हामी तिरिदिन्छौं भने,' ती महिलाले भारतीय नागरिकलाई उद्धृत गर्दै भनिन् ।

त्यसपछि भने ती महिला र बालिका आर्थिक समस्याका कारण उनीहरुको प्रस्तावमा राजी भए । त्यहाँबाट भारतीय नागरिकले उनीहरूलाई सिटी रिक्सामा हालेर विराटनगर-१५ रानीस्थित सीमा क्षेत्रको हिमाल गेष्ट हाउसमा पुर्‍याए । त्यहाँ पुगेपछि चारै जनाले खाना खाए ।

तर राती ती भारतीय नागरिक बाबु साहवले महिलालाई सहयोग गर्ने भन्दै आफैसँग सुत्न दबाब दिए । १३ वर्षीया छोरीलाई भने आफ्नै साथीसँग सुत्न उनले दबाब दिए । यसो गर्दा होटल खर्च कम हुने भन्दै ती भारतीयले महिलालाई दबाब दिए ।

महिलाले भारतीय बाबु साहवको प्रस्ताव अस्वीकार गर्दै आफूहरू अलग कोठामा सुत्ने भनेर अडान राखिन् । तर बाबु साहव रिसाउँदै त्यसो भए आफ्नो खर्च आफैं तिर्नुपर्ने भने ।

अन्तत: महिला बाबु साहवकै कोठामा सुत्न बाध्य भइन् । राती बाबु साहवले जबर्जस्ती करणी गरेको महिलाले प्रहरीसँगको आफ्नो बयानमा भनेकी छन् ।

भोलिपल्ट बिहान ११ बजे चारै जनाले खाना खाएपछि होटलको सबै खर्च दुवै भारतीय नागरिकले तिरेर होटलबाट निस्किए । त्यहाँबाट उनीहरुले ती महिला र बालिकालाई भारतमा राम्रो जागिर लगाइदिने प्रस्ताव गर्दै भारतीय सीमातिर लगे ।

तर मूल ढाटमा इलाका प्रहरी रानीका प्रहरीको केरकारमा उनीहरु चारै जना पक्राउ परे । प्रहरीले दुवै भारतीय नागरिकलाई मानव बेचविखन तथा जबर्जस्ती करणीमा मुद्दा दायर गर्न सोमबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार अनुसन्धानको प्रारम्भिक चरणमा त‍ी महिला र बालिकाको आर्थिक अवस्थाको मजबुरीको उठाएर जबर्जस्ती करणी गरेको र भारत पुर्‍याएर आफैं उपयोग गर्ने र पछि कोठीमा बिक्री गर्ने नियत रहेको पाइएको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दर्नालले बताए ।

प्रकाशित : माघ १८, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?