कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुक्लाफाँटाको चौधर नदीमा छाडियो घडियाल गोही [तस्बिरहरु]

भवानी भट्ट

कञ्चनपुर — चितवन राष्ट्रिय निकुञ्जको कसरा प्रजनन् केन्द्रबाट ल्याइएका घडियाल गोहीलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर नदीमा छाडिएको छ । शनिबार बिहान ३ भाले र २२ पोथीसहित २५ गोहीलाई चौधर नदीमा छाडिएको हो । ४ देखि ५ वर्षको गोहीको तौल २२ देखि ३२ किलोग्रामसम्म छ । काठको बाकसमा राखेर ट्रकमा ढुवानी गरेर शुक्रबार साँझ निकुञ्जमा पुर्‍याइएका गोहीलाई चौधर नदीमा छाडिएको हो । चौधर नदीको गोहीकुण्ड क्षेत्रमा दुई स्थानमा नरकटको घेरबार (सफ्ट इन्क्लोजर) लगाएर छाडिएको हो ।

 ‘कृत्रिम रुपमा हुर्काइएका गोही एक्कासी नदीमा छाड्दा भौतारिन सक्ने भएकाले घेरबारमै राखेर आहारा दिइनेछ,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराइले भने, ‘सुरुमा सानो क्षेत्रफलमा घेरबार गरिएको छ, त्यहाँबाट निस्केपछि नदीमा पनि तिन/चार किलोमिटर क्षेत्रमा बार लगाइएको छ ।’ उनका अनुसार तिन/चार दिनसम्म आहाराका लागि माछा पनि उक्त क्षेत्रमा हालिनेछ । शनिबार बिहान दुई स्थानमा गोही छाडिएको हो । गोही छाडिएको स्थानमा क्याम्प राखेर ५ दिनसम्म अनुगमन गरिनेछ । त्यसपछि दुई सातासम्म प्रत्यक्ष र ड्रोनबाट दैनिक अनुगमन गरिनेछ । चौधर नदीमा १९९० सम्म गोही रहेको निकुञ्जको कार्ययोजनामा उल्लेख छ । पछिल्लो पटक संकटापन्न अवस्थामा रहेको यो प्रजातीलाई पुर्नस्थापनका लागि कार्तिकमा सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसकै आधारमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले माघ २३ मा घडियाल गोही पुर्नस्थापनको निर्णय गरेको हो । ५० गोही पुर्नस्थापना गर्ने निर्णय भएपनि पहिलो चरणमा २५ मात्रै ल्याइएको छ । थप २५ गोही अर्को वर्ष ल्याइनेछ । 

प्रकाशित : चैत्र ३, २०८० १७:३१
प्रतिक्रिया
पठाउनुहोस्