कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

लेकबेंसी यात्रामा भेडीगोठाला

भेडाका लागि चरन खोज्दै लेकबेंसी, खुला आकाशमुनि त्रिपालको भरमा दैनिकी 
महेश केसी

रुकुम पश्चिम — रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ तकसेराका ६७ वर्षीय करबहादुर बुढाले ५२ वर्षदेखि भेडा चराउँदै आएका छन् । १५ वर्षको उमेरदेखि भेडा गोठाला जान थालेका उनी निरन्तर यही पेसामा छन् ।

वर्षैभरि भेडाको रेखदेखमा खटिने उनी यतिबेला भेडाको बथान लिएर रुकुम पश्चिमको मुसीकोटनजिकै ठूली दहमा आइपुगेका छन् । मुसीकोट नगरपालिका–७ मा पर्ने ठूली दह छेउको पाखामा भेडाको बथान चरिरहेको छ । यहीं स–साना त्रिपाल टाँगेर भेरी गोठालाका तीन परिवार बसेका छन् । 

रुकुम पूर्वबाट रोल्पाको थबाङ अनि नौबहिनीको लेक पार गरेर मंसिर पहिलो साता यहाँ आइपुगेका गोठालाहरूको नेतृत्व गरिरहेका बुढाले फागुन अन्तिमतिर यहाँबाट रुकुम पूर्व र बागलुङको सीमा ढोरपाटनका बुकी–पाटनहरूमा जाने तयारी गरिरहेको बताए । भदौसम्म त्यहाँ बसेर फेरि तकसेराको मूल घरमा फर्किएर चाडबाड मान्ने उनले सुनाए । बुढाले भने, ‘हामी उकाली–ओराली गरिरहन्छौं । भेडाको चरन खोजेरै बित्यो यो जिन्दगी ।’करिब ५ सय भेडा ल्याएर झन्डै चार महिनाका लागि मुसीकोट आसपास आएका गोठालाहरू खानपिन र लत्ताकपडा बोकेरै आएका छन् । भेडापालक किसान तेजमाया बुढा भन्छिन्, ‘हाम्रा लागि भेडाको चरन नै जीवन हो । भेडाबाख्रा अघाए हाम्रो पेट भरिन्छ,’ ६४ वर्षीया तेजमायाले १६ वर्षको उमेरदेखि भेडीगोठसँग रहेको बताउँदै भनिन्, ‘बीचमा बा–आमाले भेडी गोठालोबाट छुटाए । पछि फेरि जोडिएँ । 

यसैमा जीवन बित्दै छ ।’ केही वर्षअघिसम्म रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका अधिकांशका घरमा भेडा हुन्थे । उनीहरू यसैलाई आम्दानीको पहिलो स्रोत मान्ने गरेकामा अब भने यो संख्या बर्सेनि घट्दो रहेको अर्का किसान दिलकर्ण बुढाले बताए । ‘यसरी भेडा पाल्ने हामी नै अन्तिम पुस्ता हुन्छौं जस्तो छ,’ उनले भने, ‘हाम्रा छोराछोरीले त अब मन गरेनन् । बरू पैसा कमाउन भन्दै विदेशतिर लागे ।’भेडापालन व्यवसायलाई नै जीवन निर्वाहको आधार बनाएका किसानहरू पछिल्लो पुस्ता यसप्रति आकर्षित नभएकामा चिन्तित पनि छन् । ‘पहिले–पहिले त हामी चरन खोज्दै प्यूठानदेखि दाङसम्म पनि पुग्थ्यौं । अब त भेडा नै घटेपछि यतैयतै आइपुगिन्छ,’ उनले थपे, ‘ऊ बेला नुन–तेल र खानपानको अभाव हुन्थ्यो, यसकारण पनि सहर नजिकै जान्थ्यौं । अब त सुविधा गाउँसम्मै पुग्यो, हामीले सहर आसपास जानु परेको छैन ।’ मुसीकोटकै गर्पा धुरी, बैरी दह हुँदै यहाँसम्म पुगेका भेडीगोठ केही दिनको बसाइँपछि नजिकै रहेको पोखरा र थर्पु सर्छन् । ‘पहिलेजस्तो चरन पाइने वन त अब छैन । पहिले जहाँ पुगे पनि भेडा चराउन पाइन्थ्यो । अब विभिन्न बहानामा हामीलाई रोक्ने काम हुन्छ । चरन पाउन पनि मुस्किल छ,’ उनले भने, ‘सम्बन्धित वन समूहलाई केही पैसा दिएर मात्रै भेडा चराएर अर्को ठाउँ जान्छौं ।’

अत्यावश्यकबाहेक अन्य सरसामान नजिकैको बजारबाट किनेरै खाने गरेको बताउँदै भेडापालक किसानहरू यो पेसाबाट सन्तुष्ट रहेको बताउँछन् । तर, उनीहरूले उत्पादन गरेका भेडाच्याङ्ग्रा, ऊनलगायतको कारोबार व्यवस्थित हुन सकेको छैन । चाडबाडको सिजनमा भेडा किन्न बाहिरबाट ग्राहक आएर लैजाने गरे पनि अन्य समयमा गोठ सारेको ठाउँमा थोरै मात्रै बिक्री हुने गरेको छ । कतिपयले ऊनमात्रै बेच्छन् भने कतिले गोठसँगै गलैंचा बुनेर पनि बिक्री गर्छन् ।

एउटा भेडा १५ देखि ३० हजार रुपैयाँसम्ममा बिक्री हुने तेजमाया बताउँछिन् । हिउँदमा चिसो हुँदा र बर्खामा पानी पर्दा गोठमा बस्न मुस्किल पर्ने भन्दै उनले वर्षौंदेखि यस्ता दुःख–कष्ट व्यहोर्दै आएकाले बानी परेको बताइन् । ‘सुखै–सुख त कसलाई पो छ र ? यो त मान्ने कुरा न हो । भेडा पाल्ने अनि यही बेचेर घरखर्च चलाउने गरेका छौं । ठिकै छ,’ उनी भन्छिन्, ‘खानपानका सामान बोकेर भीरपाखा चहार्दै भेडाका पछिपछि डुल्न सजिलो त छैन । तर, यसको विकल्प पनि त छैन ।’

भेडाका लागि चरन खोज्दै लेकबेंसी गरिरहेका उनीहरूको सुरक्षाको विषय भने निकै चुनौतीपूर्ण छ । खुला आकाशमुनि त्रिपालको भरमा दैनिकी बिताइरहेका भेडापालक किसान सरकारले नहेरेको गुनासो गर्छन् । ‘वनको बीचमा खुला ठाउँमा बसिन्छ । बाघ–भालु र अरू वन्यजन्तुको डर उत्तिकै छ,’ करबहादुरले भने, ‘भेडा पालेर मात्रै हुँदैन, फर्म पनि दर्ता गर्नुपर्छ भनेपछि त्यो पनि गरियो तर केही पनि सरकारी सहयोग पाइएन । कम्तीमा भेडाका लागि ओखतीमूलो मात्रै मिले पनि ठूलो राहत हुन्थ्यो ।’ 

स्कुल छोडी गोठालाठूली दहदेखि तलको मुहानबाट खानेपानी बोकेर उकालो लाग्दै गरेका बेला भेटिए मुसीकोट–७ खाल्बोटका १२ वर्षीय पारस कवार । घाँटीमा गुलेली भिरेका उनले चिसोले सुक्क–सुक्क गर्दै आफूलाई स्कुल जान मन भए पनि गोठालो आउनुपरेको दुःखेसो गरे । आमाले अर्को बिहे गरेपछि बुबाले कान्छीआमा ल्याएको उनले सुनाए । ‘आफूहरू तीन भाइ र कान्छीआमाबाट एक भाइ गरेर चार भाइ छौं । बाबाले खलंगामा भारी बोक्छन् । जेठो दाइ र कान्छो भाइ घरमै छन् । एउटा भाइ दुई वर्षअघि इन्डिया गएको अहिले सम्पर्कमै छैन,’ उनले भने, ‘५ कक्षामा पढ्दा–पढ्दै बाले गोठालो लाइदिए । मन अन्तै छ, काम यता ।’ भेडीगोठाला दिलकर्णले पारसका बुबासँग मीत लगाएको बताउँदै मीतका छोरा काममा सघाउन आएको सुनाए । ‘राम्रोसँग पढ्न पनि सकेन, बरु यता पठाए काम सिक्ला भनेर मीतले नै पठाउनु भएको हो,’ उनले भने, ‘काम सिकेर राम्रो गरे त यसैलाई फाइदा हुन्थ्यो । हेरौं कस्तो गर्छ ?’

प्रकाशित : फाल्गुन ४, २०८० ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्