कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

उत्तरगयाधाममा बिहानैदेखि पुसे औंसी श्राद्ध गर्नेको भिड

बलराम घिमिरे

रसुवा — रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगयाधाममा बिहीबार बिहानैदेखि पुसे औंसी श्राद्ध गर्नेहरूको भिड लागेको छ ।त्रिशुली र फलाखु खोलाको संगमस्थल उत्तरगयामा पुसे औंसीका दिन बर्सेनि हजारौं श्रद्धालुहरुले दिवंगत आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण दिने गर्छन् ।

उत्तरगया क्षेत्रमा टाढा–टाढादेखि श्राद्ध गर्न आएका हजारौं भक्तजनहरुको भीड लागेको हो । स्वर्गीय बाबु–आमा तथा आफन्तको नाममा भक्तजनले नदी किनारमा श्राद्ध गरिरहेका छन् । पितृको नाममा श्राद्ध गर्नेहरुको संख्या बर्सेनि बढ्दै गइरहेको छ ।

भारतको गया जान नसकेका श्रद्धालुहरु नेपालको यही ठाउँमा आएर श्राद्ध गर्ने गर्छन् । यस स्थानमा आएर परलोक भएका आफ्ना बाबु–आमाको नाममा श्राद्ध गरेमा २० पुस्ता अघिका पितृमोक्ष प्राप्त गरी स्वर्ग जाने जनविश्वास रहिआएको छ । पितृको नाममा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् । स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार उत्तरगया क्षेत्रमा त्रिशुली नदी र देवी गंगा नदी बगेकाले उक्त पवित्र ठाउँलाई बेत्रगंगा भनेर मानिएको छ ।

सत्ययुगमा देवता र दानवले समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म पार्न लागेपछि महादेवले कालकुट नामक विष पिएर त्यसको डाहा मार्न यही ठाउँमा बेतको लौरोले खोस्री बेत्रगंगा (तप्त नदी) उत्पन्न गराई सो नदीको पानीले शीतलता पाइ उत्तरापन्थ गोसाइँकुण्ड गएको धार्मिक किंवदन्ती रहेको छ ।

यहाँ भारतका विभिन्न प्रान्तदेखि, काठमाडौं, धादिङ, काभ्रे, चितवन, कास्की, नवलपरासी, मकवानपुर, गोरखा, पर्सालगायत विभिन्न जिल्लाबाट बर्सेनि हजारौं भक्तजनहरु श्राद्ध गर्न आउने गरेका गर्दछन् ।

प्रकाशित : पुस २६, २०८० १३:१३
प्रतिक्रिया
पठाउनुहोस्