कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

उपत्यकामा बर्सेनि डुबान, छैन रोकथाम

सहरीकरण धान्ने ढल निकास र आकाशे पानी सोस्ने पर्याप्त खुला जमिन नहुँदा एक घण्टामा ३० मिलिमिटर वर्षा हुँदा नै काठमाडौं जलमग्न
विद्या राई, गोविन्द पोखरेल

काठमाडौँ — सोमबार रातिदेखि परेको लगातारको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदीमा जल सतहले खतराको तह नाघ्दा तटीय क्षेत्रहरू डुबानमा परेका छन् । मंगलबार वाग्मती, मनोहरा, धोबीखोला, विष्णुमतीलगायत नदीले खतराको तह पार गर्दा उपत्यकाका विभिन्न स्थान डुबानमा परेका हुन् । आसपासका क्षेत्रमा भारी वर्षा हुँदा उपत्यका हुँदै बग्ने खोलाको जलस्तर उच्च भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘सोमबारदेखि नै धादिङ, बूढानीलकण्ठ, नुवाकोट आसपासका क्षेत्रमा एकै पटक वर्षा हुँदा जमिन धेरै नै स्याचुरेटेड भइसकेको थियो,’ विभागका सिनियर हाइड्रोलोजिस्ट सुनील पोखरेलले भने, ‘जसले गर्दा पानी जमिनको सतहमुनि पुग्नै पाएन ।’

हरेक वर्षजसो काठमाडौंलगायत सहरी क्षेत्र वर्षायाममा डुबानमा पर्ने गरेका छन् । एक घण्टासम्म लगातार वर्षा हुँदासमेत काठमाडौंका केही क्षेत्र जलमग्न हुने गर्छन् । यस्तै पानी बहने र सार्वजनिक कुलो/पैनीहरूको नियमित मर्मत तथा सरसफाइ नहुँदा पानीको निकास रोकिने गरेको छ । एक घण्टामा ३० मिलिमिटर वर्षा हुँदा काठमाडौं जलमग्न हुने गरेको छ । जबकि, अन्य क्षेत्रमा एक घण्टामा ६० एमएम वर्षा हुँदा मात्र जलमग्न हुन्छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार सोमबार दिउँसो ३ बजेदेखि मंगलबार अपराह्नसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लामा भारी वर्षा हुँदा जल सतहले खतराको तह नाघेको हो । वर्षाको पानीको सहज निकास नहुँदा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्र जलमग्न भएका छन् ।

स्वचालित मौसम मापन केन्द्रको तथ्यांक हेर्दा बूढानीलकण्ठस्थित केन्द्रमा ८४.६ मिलिमिटर, सुन्दरीजलस्थित केन्द्रमा ९२.२, कीर्तिपुरमा ४७.६, नगरकोटमा ९८.६, ललितपुरको लेलेमा ६९.८, गोदावरीमा ४७, पनौतीमा ५८.४, पाँचखालमा ४४.८, धुनीबेंसीमा ४८ र नुवाकोटको ककनीमा ७१.४ मिलिमिटर वर्षा मापन गरिएको थियो । एक घण्टामा ६० एमएम, ३ घण्टामा ८० एमएम, ६ घण्टामा सय एमएम, १२ घण्टामा १२० एमएम र २४ घण्टामा १४० एमएम वर्षा हुँदा आकस्मिक बाढी एवं पहिरो जाने खतरा बढ्छ । ती क्षेत्रमा उक्त परिमाणको वर्षा हुँदा पानीले जमिन भिजाएर पहिरो जान सक्ने सम्भावना हुने विभागले जनाएको छ ।

मंगलबार दिउँसो १ बजेतिर टेकु दोभान क्षेत्रमा स्थलगत रिपोर्टिङका लागि पुग्दा स्थानीय ४० वर्षीया शोभा तण्डुकार घरअगाडि थुप्रिएका हिलो, गेग्रान, फोहोर पन्छाउँदै थिइन् । उनको घरदेखि ५० मिटरको दूरीमा रहेको वाग्मती नदीको भेल बिहान ६ बजे उठ्दा पार्क छिचोलेर ढोकानेरै आइपुगेको उनले सुनाइन् । ‘डुबान बढ्दै गएपछि भागेर घरपछाडिको सडकतिर निस्कें,’ उनले भनिन्, ‘तीन घण्टापछि बल्ल पानी घट्यो । ९ बजेतिर घर फर्किएँ ।’ नियमित पानी पर्दा वाग्मतीमा बाढी आउने पहिल्यैदेखि भोगेको उनले सुनाइन् । ‘तर, पार्कका लागि खोलामै पर्खाल बनाएपछि त घरैसम्म आउन थाल्यो,’ उनले भनिन् । शंखमूलको यूएनपार्क मंगलबार पूरै जलमग्न भएको थियो ।

कपन, सामाखुसी, धोबीखोला, टेकु, बल्खुलगायत क्षेत्रका नदीखोला किनार, आसपासका हरेक बस्तीका बासिन्दाले मंगलबार दिनभरि हिलो, गेग्रान, फोहोर पन्छाउँदै बिताए । तरकारी बजारहरू जलमग्न भए । मध्यपश्चिम विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका डिन सुदीप ठकुरीका अनुसार खोला साँघुरियो, उपत्यकामा सहरीकरण धान्ने ढल निकास भएन, आकाशेपानी जमिनमा सोसिने खुला जमिन पनि नहुँदा सबै पानी एकैचोटि खोलामै आइपुगेर बाढी र डुबानको जोखिम बढेको हो । यसकारण वाग्मती, विष्णुमती, धोबीखोला र मनोहरा आसपास संरचना बनाउँदा नदीकिनाराबाट दायाँबायाँ २०/२० मिटर छाड्नुपर्ने काठमाडौं र ललितपुर महानगरपालिका क्षेत्र तथा काठमाडौं उपत्यकाको सहर विस्तार क्षेत्रभित्र गरिने निर्माणसम्बन्धी ०५० सालको मापदण्ड हाल व्यावहारिक नहुने उनको तर्क छ ।

उपत्यका विकास प्राधिकरणले ०७९ कात्तिकसम्म २ सय ३३ वटा सामूहिक आवास (हाउजिङ, कोलोनी) र संयुक्त आवास योजना (अपार्टमेन्ट), व्यापारिक भवन, स्वास्थ्य संस्थालगायतलाई अनुमति दिएको थियो । त्यतिखेर कान्तिपुरकर्मीले ‘गुगल अर्थ प्रो’ मा पहिचान गरेका ९५ वटा कोलोनी, अपार्टमेन्ट, हाउजिङ, अस्पताल, सुपरमार्केटलाई भूउपग्रह तस्बिर र भूसूचना प्रणालीका सफ्टवेयरको सहायताबाट अध्ययन गर्दा ९५ वटा त्यस्ता योजनामध्ये ४१ प्रतिशत (३९ वटा) खोलाछेउमा, थोरै वा पूरै किनार मिचेर बनाएको पाइएको थियो ।

कान्तिपुरमा प्रकाशित यही समाचारपछि काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यले सरकारी, पर्ती, ऐलानी तथा खोलाको मापदण्ड मिचेर बनाइएका अनधिकृत संरचनालाई हटाउन थालेको हो । काठमाडौं महानगरले पनि गत वर्षबाटै खोला किनार, सार्वजनिक जग्गा, फुटपाथ मिचेर बनाइएका संरचनालाई बलपूर्वक हटाउँदै आएको छ । टुकुचा खोला, धोबीखोला करिडोर, सुकुम्बासी बस्तीहरू हुँदै हाल सामाखुसी खोला मिचिएका ‘स्लाब’ हरू खोल्ने काम गरिरहेको काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । ‘काठमाडौंमा खोलाहरू साँघुरा बनाइएको र राजकुलोहरू थुनिएकाले उसले आफ्नो बाटो खोज्दै जाँदा डुबान हुने गरेको हो,’ उनले भने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ०७९ मा मनसुन अवधिभर वाग्मती प्रदेशमा पहिरोका ५१, बाढीका १३ र भारी वर्षाका १६ घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए । यस वर्ष बाढी तथा पहिरोबाट वाग्मती प्रदेशभरका करिब २२ हजार घरधुरी र ९७ हजारभन्दा बढी जनसंख्या प्रभावित हुने आकलन गरिएको छ । साउन ७ मा सामाखुसी खोलामा बगेर बेपत्ता १३ वर्षीय साजन मगरको १२ दिनपछि दक्षिणकालीस्थित वाग्मती किनारमा शव फेला परेको थियो । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो तीन वर्षमा मात्रै बाढीका कारण ३९ जनाको डुबेर र बगेर मृत्यु भएको छ ।


प्रकाशित : श्रावण २४, २०८० ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्