१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

अविरल वर्षाले काठमाडौंका केही स्थान डुबानमा

तस्बिर : हेमन्त श्रेष्ठ, दीपक केसी

काठमाडौँ — सोमबार रातिदेखिको निरन्तरको वर्षापछि काठमाडौंका खोला वरिपरिका बस्ती डुबानमा परेका छन् । आसपासका नदीमा जल सतह बढेपछि काठमाडौं उपत्यकाका टेकु, थापाथलीको सुकुम्बासी बस्ती, कपन, ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालय र च्यासल फुटबल मैदान‚ शंखमूलस्थित शंखपार्क‚ यूएनपार्कलगायतका ठाउँ डुबानमा परेका छन् । सोमबार रातिदेखि मंगलबार बिहानैसम्म काठमाडौं उपत्यकामा भारी वर्षा भएको थियो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुनेछ । यसका साथै नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । यसैबीच काठमाडौं उपत्यकामा भारी वर्षाका कारण नदी र खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बाढीले जलसतह बढ्दो क्रममा रहेकाले ती स्थान आसपासमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।


प्रकाशित : श्रावण २३, २०८० ११:०२
प्रतिक्रिया
पठाउनुहोस्