२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

ओलीको प्रतिवेदनले प्रचण्डलाई धक्का

पाठक पत्र

सत्ता गठबन्धनको प्रमुख घटक एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले अप्रत्यक्ष रूपमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धक्का दिएको छ । कांग्रेसले यसअघि नै महासमिति बैठकबाट निर्वाचन अगाडि कुनै पनि दलसँग गठबन्धन नगर्ने नीति पारित गरिसकेको हुनाले प्रचण्डका लागि गठबन्धनमा जोडिने विकल्पका रूपमा एमाले थियो ।

ओलीको प्रतिवेदनले प्रचण्डलाई धक्का

ओलीले प्रस्तुत गरेको प्रतिवेदनको सार भनेको अब एमाले पनि निर्वाचनमा एक्लै मैदानमा उत्रन सक्नुपर्छ र एक्लै उत्रन्छ भन्ने नै हो । यसबाट कांग्रेस र एमालेको साथबिना एक्लै निर्वाचनको मैदानमा उत्रन नसक्ने माओवादीलाई निकै ठूलो चोट पुगेको देखिन्छ । चुनावी गठबन्धन मात्रै होइन, वाम एकताका लागि एमाले र माओवादी केन्द्रका केही नेताले नै बारम्बार पहल गरिरहेको भन्ने हल्लाका बीच ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा वाम एकता र समाजवादी ध्रुवीकरणलाई पाखा लगाइदिएका छन् ।

यसको सिधै असर पनि माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डलाई नै पर्नेछ । माओवादीका लागि गठबन्धन गर्न अन्य त्यस्ता कुनै दल देखिँदैनन्, जसले देशैभरिको चुनावी नतिजालाई सकारात्मक असर पार्न सकोस् । माओवादीले एमालेलाई समाजवादी मोर्चामा समेत सहभागी गराउन प्रयास गरेको थियो, त्यसमा पनि धक्का लागिसकेको छ ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले राजनीतिक वृत्तमा ठूलै तरंग पैदा गरेको छ । त्यो तरंग पार्टीभित्रै सीमित रहन्छ कि त्यसले सरकारको भविष्यमै उथलपुथल ल्याउँछ ? त्यो हेर्न भने केही दिन कुर्नै पर्छ । तथापि ओलीको प्रतिवेदन र उनलाई काउन्टर दिन एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दिएको वक्तव्यबाजी हेर्दा अहिलेको गठबन्धनको सय दिन पनि नटिक्ने देखिन्छ ।

नेता नेपाल र ओलीको तुस बढ्दै गए धेरैजसो प्रदेश सरकार भत्किने र त्यसले केन्द्रको सरकारलाई पनि प्रत्यक्ष असर पुर्‍याउने निश्चित छ । समाजवादीले सत्ता गठबन्धन छाडे मधेश प्रदेशमा जसपाको सरकार ढल्छ । समाजवादीले सरकार छाडे आफूले पनि बाध्य भई वर्तमान सरकार छाड्ने जसपाले बताइसकेको छ । कांग्रेस सत्तामा जान एउटा खुट्टा उचालेर बसेको छ । उसले नेता नेपाललाई फकाइरहेको छ ।

ओलीले आफ्नो प्रतिवेदनमा जे पनि लेख्न स्वतन्त्र छन् तर त्यसले गठबन्धन सरकारको भविष्यमा असर पर्छ कि पर्दैन भनेर सोच्नु आवश्यक थियो । वाम एकता र समाजवादी ध्रुवीकरण खारेज गर्ने प्रस्ताव ल्याउँदा नेता नेपाल र प्रचण्ड झस्कन्छन् भन्ने हेक्का राख्नुपर्थ्यो । प्रतिवेदनमा कांग्रेसलाई जतिसुकै गाली गरे पनि आफ्नै सत्ता सहयात्री दलहरूलाई झस्काउने गरी प्रतिवेदन लेख्नु ओलीको भूल हो । उनले समाजवादी पार्टीलाई दक्षिणपन्थी भासमा भासिएको भनेका छन् ।

रास्वपालाई देश बनाउने कुनै विचार, योजना र दृष्टिकोण नरहेको आरोप लगाएका छन् । ओलीले झैं रास्वपा सभापति रवि लामिछानेले पनि पुराना दलहरूको भिजन नहुँदा ३० वर्षमा पनि नेपालको विकास हुन नसकेको आरोप लगाए भने ओलीलाई कस्तो लाग्ला ? ओलीको बेमौसमी प्रतिवेदनले सरकार ढले त्यसको दोष ओलीले मात्र लिने कि सिंगो एमाले पार्टीले ? पार्टीभित्र यसबारे छलफल हुनुपर्छ । तर पनि ओलीको विरोध गर्ने हिम्मत कसको ? गरे कि भीम रावल बन्छन् कि धनश्याम भुसाल बनाइन्छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर ८, काठमाडौं

प्रकाशित : वैशाख १०, २०८१ ०५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?