२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

स्वरोजगारीमा युवाको आकर्षण

पाठक पत्र

‘खाडीमा भन्दा चौंरीपालनमा आम्दानी’ शीर्षकको खबरले उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने जनता मात्र नभई सत्ताधारीलाई समेत उत्प्रेरणा प्रदान गर्ने देखिन्छ । पाँचथरका उच्च पहाडी भेगमा कृषि उत्पादनका अनेक सम्भावनाबीच चौंरीपालन व्यवसायबाट उच्च प्रतिफल पाउने सम्भावना देखेपछि वैदेशिक रोजगारीबाट हन्डर खाएर फर्केका स्थानीय युवा आफ्नै ठाउँमा परम्परागत कामप्रति आकर्षित भएका हुन् ।

फालेलुङ–४ का फिपराज राईले साउदी अरबमा ४ वर्ष बसेर हाडछाला घोट्दा मात्र ४ लाख रुपैयाँ कमाएको, त्यहींका अर्का युवा अजय केरुङले मरुभूमिमा १२ वर्ष संघर्ष गर्दासमेत आर्थिक लाभ लिन नसकेको, उता मलेसियाबाट हात लाग्यो सुन्नाको अवस्थाबाट फर्केका सन्दीप राई र सन्तकुमार लिम्बूले पनि वैदेशिक रोजगारीलाई तिलाञ्जली दिएर चौंरीपालन व्यवसाय थालेको समाचारमा उल्लेख छ ।

उक्त व्यवसायको आकर्षण बोकेका पाँचथरका उच्च पहाडस्थित फालौट, चारराते, सन्दकपुर, नेपालटार, चोयावन र चिवाभन्ज्याङ क्षेत्रमा मोटरबाटो पुगेपछि घिउ, छुर्पी, चीज खपत र निर्यात बढेको, दाना आयात एवं औषधोपचारमा सहजता मिलेको हुनाले व्यवसायीको मनोबल बढेको छ । अहिले त्यहाँ अवलोकनका लागि आन्तरिक साथै भुटान र भारतबाट समेत पर्यटक पुग्ने गरेका छन् ।

नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, ओखलढुंगा, डोल्पा, मुगुलगायत जिल्लाका उच्च भेगमा चौंरीपालन गरिन्छ भने यी जनावर त्यहाँका गहना मानिन्छन् । चौंरीको संख्या न्यून हुँदै गएको, सो जनावर विश्वकै निम्ति आकर्षक बनेको स्थितिमा नेपालका सत्ताधारीहरू भने दुर्गम ठाउँका व्यवसायमाथि टेढो आँखा लगाएर बसेका छन्, आफ्नो शरीरको आभूषण नचिनेर विदेशीसामु हात फैलाइरहेका छन् ।

एकातिर चौंरीबाट प्राप्त दूधजन्य जैविक उत्पादनले देश, विदेशमा उच्च आकर्षण थपेको छ भने अर्कातिर उच्च पहाडमा उत्पादित स्याउ, आलु, उवा, गहुँ, खुर्पानी, फापर, कोदोको माग दिन प्रतिदिन बढिरहेको छ । यता उच्च पहाडका उत्पादनलाई प्रवर्द्धन गर्नुको साटो ठूला दलका शीर्ष नेता भने समाजवादी सिद्धान्त रटेर राजधानीमा बर्बराइरहेका छन् । देशभित्र रोजगारीको सम्भावना नदेख्ने, भएभरका युवालाई विदेश धकेल्ने शासकीय शैली रहँदासम्म मुलुकले काँचुली फेर्न सक्दैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : वैशाख ५, २०८१ ०५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?