'किताबखानामै छैन कर्मचारीको विवरण' समाचारमा facebook.com/ eKantipur बाट लिइएका टिप्पणी:

पाठक पत्र

एउटा चिठीको बोधार्थ पठाएको हुन्छ, ‘रेकर्डिङ’ प्रणाली चुस्त–दुरुस्त राख्न अहिलेको प्रविधिको भरपूर उपभोग गर्नुपर्नेछ, ‘फाइलिङ’ प्रणाली पनि गतिलो छैन । धेरैजसो कार्यालयमा कमचारीलाई व्यक्तिगत कागजातहरू सधैं पेस गर्नुपर्छ, आईडी नम्बरबाट देखिने भैदिए बेसै हुन्थ्यो, प्रयास गर्नु सुधारका लागि !
– राज ज्ञवाली

दिनरात काम गरेर प्रणालीमा ल्याउनुपर्‍यो नि, हाकिम साप भएर गुनासो गरेर मात्र हुन्न ।
– सुशान शाही ठकुरी

जे कामका लागि संस्था राखिएको छ, उसैले त्यो काम गर्दैन, कर्मचारीहरूले खाली तलब पचाउने मात्रै !
– कान्छा

तपाईं ऊर्जाशील हुनुहन्छ, भिजन छ, किताबखानाको महानिदेशक हुनुभएको छ । प्रस्ताव बनाउनोस्, लडेर बजेट ल्याउनोस् अनि सुधार गर्नुहोस्, भविष्यले सम्झिरहनेछ ।
– गोविन्द सुवेदी

यस्तो प्रशासनबाट जनताले के आस गर्ने ?
– रूपमा शर्मा कटेल

सरकारी जागिर, काम देखेपछि ज्वरो आउने । प्राइभेट जागिर, ज्वरो आउँदा पनि काम गर्नुपर्ने । फरक यति हो नि !
– दीपक मगर

प्रकाशित : चैत्र १२, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्

सम्भव छ किताबखानाको सुधार

पाठक पत्र

‘किताबखानामै छैन कर्मचारीको विवरण’ समाचार पढेपछि टिप्पणी गर्न बाध्य भएँ । स्थायी सेवा प्रवेश गरेको दिनदेखि नै कर्मचारीको व्यक्तिगत विवरणको अभिलेख राख्ने राष्ट्रिय किताबखानाले आफ्नो काम राम्रोसँग गरेको छैन ।

माथिल्लो तहका अधिकांश कर्मचारीको विवरण भेट्न मुस्किल मात्र नभई गत फागुनमा सूचना निकालेर विवरण माग गर्नुपरेको अवस्था आएको साथै किताबखानामा प्रमुखकै विवरण अद्यावधिक नभएको समाचार आयो । सबै तहका सरकारी कर्मचारीको सम्पूर्ण विवरण किताबखानाले नै व्यवस्थापन अवश्य गर्नुपर्छ । त्यति मात्र नभई भ्रष्टाचार निवारण ऐन अनुसार कर्मचारीको सम्पत्ति विवरण व्यवस्थितसमेत गर्ने मुख्य जिम्मेवार निकाय किताबखानामा अहिले अरूको त परको कुरा, सहसचिव, सचिव आदिको शैक्षिक योग्यतासमेतको विवरण नभेटिनु अत्यन्त लाजमर्दो विषय हो ।

कतिपय पदाधिकारीले त आफ्नो विवरण आफैं थप गरेर अद्यावधिक गर्नुपरेको, समयसमयमा उमेर, शैक्षिक योग्यताजस्ता विषयमा विवाद आउने, विद्यावारिधि गरिसकेकाको शैक्षिक योग्यता प्रवीणता प्रमाणपत्र/स्नातकतह र सचिव भइसकेका कर्मचारीको पदीयस्तर नासु रहेको, अवकाश हुने डरले विवरण आफैं लुकाउने, शैक्षिक योग्यता, सरुवा, बढुवा र विशेषज्ञ सेवा दिने क्रममा कर्मचारीको व्यक्तिगत विवरणलाई बेवास्ता र लापरवाही गरिए यस्ता समस्या उत्पन्न हुन्छन् नै । हुन त कतिपय कर्मचारीले पनि आफ्नो विवरण अद्यावधिकका लागि चासो राखेको पाइँदैन, जतिबेला चाहियो त्यतिबेला दौडधुप गर्ने चलनले, कर्मचारीले पाउने अवसरका लागि शैक्षिक योग्यता, व्यक्तिगत चरित्र, तालिम, विज्ञता, अनुभव र कार्यकुशलता सम्बन्धी जानकारी दिने निकाय किताबखाना भए पनि राजनीतिक योग्यताका आधारमा काखी च्याप्ने तर कार्यसम्पादनको मूल्यांकन नगरिने हुँदा पनि किताबखानालाई अद्यावधिक गर्न मुश्किल परेको हुन सक्छ ।

सुरुमा स्थापना हुँदा ‘निजामती किताबखाना’ र हाल ‘राष्ट्रिय किताबखाना’ बाट चिनिने किताबखानाले सरकारी कर्मचारीको व्यक्तिगत विवरण व्यवस्थापन र अद्यावधिक गर्ने जिम्मेवारी बोकेको छ । तर अहिले किताबखानाको यस्तो बेथिति र निरीहताले लाखौं कर्मचारीको राष्ट्र सेवामा मनोबल र किताबखानाप्रति विश्वास कसरी कायम हुन सक्ला ? हरेक नियुक्ति, सरुवा, बढुवा, सजाय आदिमा सम्बन्धित निकायले किताबखानालाई बोधार्थ दिएको हुन्छ, प्राप्त बोधार्थ पत्र सम्बन्धित कर्मचारीको व्यक्तिगत विवरण फायलमा अद्यावधिक गरिदिएमा मात्र पनि अधिकांश विवरण अद्यावधिक हुन सक्छ । तर त्यति काम गर्न पनि किताबखानाले लापरवाही गर्नु र अल्छी मान्नु समस्या अरू बल्झाउनु हो ।

– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : चैत्र १२, २०७९ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×