कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

क्रिकेट प्रशंसकलाई खेलाडीको भर, खेलाडीलाई कसको भर ?

क्रिकेटमा नेपाली टिमले जेजति उचाइ पाएको छ, त्यो खेलाडीकै अथक् लगनको परिणाम हो । देशमा क्रिकेट यति लोकप्रिय हुँदा पनि पूर्वाधार भने निकै कमजोर छ । ट्वान्टी–२० विश्वकप खेलेकै एक दशक भइसक्दा आफ्नै मुलुकमा एउटा पनि स्तरीय क्रिकेट मैदान तयार हुन सकेको छैन ।
सम्पादकीय

ट्वान्टी–२० पुरुष विश्वकप क्रिकेटमा अमेरिकाले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध बनायो । त्यस्तै केही वर्षअघिसम्म नेपालसँग प्रतिस्पर्धा गर्ने अफगानिस्तानले बलियो टिम न्युजिल्यान्डलाई ८४ रनले हरायो । युगान्डालाई १२५ रन र पपुवा न्युगिनीलाई ७ विकेटले हराएको अफगानिस्तान प्रतियोगिताको सुपर–८ मा प्रवेश गरेको छ ।

क्रिकेट प्रशंसकलाई खेलाडीको भर, खेलाडीलाई कसको भर ?

पाकिस्तान, न्युजिल्यान्ड र श्रीलंकाजस्ता क्रिकेट शक्तिले सुपर–८ मा स्थान बनाउन नसकेको अवस्थामा अमेरिका र अफगानिस्तान जस्ता टिमले पाएको सफलताले क्रिकेट आशावादीहरूको खेल हो भन्ने पुनः पुष्टि गरेको छ । यद्यपि नेपालका लागि यो प्रतियोगिता एउटा सिकाइमा सीमित हुन पुगेको छ ।

ट्वान्टी–२० विश्वकपमा दशकपछि पुनरागमन गरेको नेपालको यात्रा समूह चरणबाटै टुंगिएको छ । नेपालले आफ्नो समूहमा रहेका कुनै पनि टिमलाई जित्न सकेन, श्रीलंकासँगको खेल वर्षाका कारण रद्द हुँदा एक अंक प्राप्त गर्‍यो । प्रतिस्पर्धी टिम बलिया रहेकाले नेपालको पराजयलाई स्वाभाविक रूपमै लिन सकिन्छ । दक्षिण अफ्रिका र बंगलादेश नेपालमाथि हाबी हुन सकेका थिएनन्, तर पनि नतिजामा निराश हुनुपर्ने अवस्था आउनुमा भने नेपाली खेलाडीमा अनुभवको कमी प्रस्टै झल्किएको छ ।

क्रिकेटमा नेपाली टिमले जेजति उचाइ पाएको छ, त्यो खेलाडीकै अथक् लगनको परिणाम हो । देशमा क्रिकेट यति लोकप्रिय हुँदा पनि पूर्वाधार भने निकै कमजोर छ । ट्वान्टी–२० विश्वकप खेलेकै एक दशक भइसक्दा आफ्नै मुलुकमा एउटा पनि स्तरीय क्रिकेट मैदान तयार हुन सकेको छैन । घरेलु लिग नियमित रूपमा भइरहेका छैनन् । सरकारले प्रोत्साहनका लागि घोषणा गरेको रकम हात पार्न पनि खेलाडीले महिनौं कुर्नुपर्छ, कतिपय अवस्थामा ‘बिन्ती’ नै गर्नुपर्ने अवस्था छ । त्यसैले विश्वकपजस्तो ठूलो मञ्चमा नेपालले एउटै जित निकाल्न नसकेको विषयमा टिप्पणी/विश्लेषण गरिरहँदा नेपाली क्रिकेट खेलाडीले पाइरहेको सुविधा र सरकारको प्राथमिकतालाई पनि हेर्नुपर्छ ।

विश्व क्रिकेटको शक्तिशाली टिम दक्षिण अफ्रिकाविरुद्ध नेपालले गरेको प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरको प्रशंसा पायो । त्यही खेलमा नेपाल जम्मा एक रनले पराजित भयो । यो खेलमा नेपाली फिल्डरले केही सजिला ‘क्याच’ छाड्न पुगे । कारण यो पनि हुनसक्छ, नेपाली टिमले ‘फ्लडलाइट’ मा नखेलेको वर्षौं भइसकेको थियो । सरकारले कीर्तिपुरमा फ्लडलाइट जोड्ने घोषणा गरेर २० करोड रुपैयाँ बजेट पनि छुट्याएको छ तर कहिले जडान हुन्छ भन्ने टुंगो छैन ।

अमेरिका र वेस्ट इन्डिजको गर्मी एवं उच्च आर्द्रतामा नेपाली खेलाडीलाई खेल्न निकै गाह्रो भएको देखियो । सरकारले विराटनगर, भैरहवा र धनगढीको रंगशालालाई राष्ट्रिय परियोजनाका लागि बर्सेनि बजेट छरिरहेको हुन्छ । तर, ती रंगशाला क्रिकेटका लागि योग्यतम् कहिले भइसक्छन् भन्ने निश्चित छैन । तराई–मधेशका ती स्थानमा सुविधासम्पन्न क्रिकेट मैदान भइदिए नेपाली टिमले तयारी गर्न पाउँथ्यो, त्यसले उच्च तापक्रममा खेल्न खेलाडीलाई अभ्यस्त बनाउन सक्थ्यो । तर, यसतर्फ संवेदनशीलता देखिएको छैन ।

नेपाल क्रिकेट संघ (क्यान) को प्रमुख आयस्रोतका रूपमा रहेको फ्रेन्चाइज लिग आयोजना गर्न पक्कै चुनौतीपूर्ण छ, तर त्यसभन्दा पनि ठूलो बाधा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को प्रक्रियामा देखिन्छ । सरकारले नै क्यानलाई स्वतन्त्र हिसाबमा फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्ने वातावरण बनाउन जरुरी छ । क्यानले आफूलाई र आफ्ना कार्यक्रमलाई समीक्षा गरेर नेपाली क्रिकेटको स्तरवृद्धिका लागि योजना बनाएर अघि बढ्नुपर्छ ।

राज्यले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर घरेलु प्रतियोगिता आयोजनाका लागि अनुकूलता मिलाइदिने र खेलाडीको सुविधालाई पनि ध्यान दिने हो भने नेपाली टिमले अझै राम्रो प्रदर्शन गर्न सक्छ । कमसेकम अहिलेजसरी वर्षौं कुरेर होइन, नियमित रूपमा विश्वकप खेल्न सक्ने स्तरमा नेपाली टिमलाई पुर्‍याउनुपर्छ । त्यसका लागि योजनाबद्ध तयारीमा सरोकारवालाहरू तत्कालै जुटून् । अन्यथा खेलाडीले आशा जगाउने र प्रशंसक निराश हुने र सरकार रमिते बन्ने उपक्रम दोहोरिँदै जानेछ ।

प्रकाशित : असार ५, २०८१ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×