१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

कम्युनिस्टको कन्तबिजोग

कम्युनिस्टमा सत्ताकेन्द्रित मानसिकतामा यति जड भएर बसेको छ कि, तिनमा सत्ताबाहिर बस्न नसक्ने चरित्र हाबी भएको छ । जुन तह र तप्काको मत/समर्थनमा नेताहरूले सत्ताको साँचो हात पारे, तिनको वर्गीय उत्थान उनीहरूको मुद्दा बन्नै सकेन ।
राजाराम गौतम

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेछ । मुलुकमा जहानियाँ राणा शासनविरुद्ध आन्दोलन चलिरहेकै बेला २००६ वैशाख १० गते (२२ अप्रिल) नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । उक्त ऐतिहासिक सन्दर्भको स्मरणमा नेकपा एमालेले आज हीरक महोत्सव आयोजना गर्दै छ । समारोहमा विभिन्न कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू मात्रै होइन, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत सरिक हुनेछन् । 

कम्युनिस्टको कन्तबिजोग

लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा शीर्ष नेतृत्वको यो जमघट झट्ट हेर्दा लोभलाग्दो लाग्छ । फरक राजनीतिक दर्शनको पृष्ठभूमि भएका नेताहरू एउटै मञ्चमा अटाउँदा लोकतान्त्रिक देखिन्छ । तर, जब देखिने र जनताले भोग्ने लोकतन्त्रमा आकाश–जमिनको अन्तर अनुभूति हुन्छ, तब नेतृत्वका यी चरित्र ढोंगी लाग्छन् । दशकौं लामो राजनीतिक संघर्ष र प्रक्रियाबाट स्थापित नेतृत्व ढोंगी हुनु चिन्ताको विषय हो । कम्युनिस्ट पार्टीको ७५ औं वर्षगाँठका अवसरमा यो चिन्तामा थप चिन्तन जरुरी छ ।

कुनै बखत क्रान्तिकारी छवि बनाएका कम्युनिस्टहरूको व्यवहार र कार्यशैलीमा यो चरित्र अझ धेरै प्रतिबिम्बित हुन्छ । माओवादी पृष्ठभूमिका लेखक मुमाराम खनाल एक्समा लेख्छन्, ‘ढोंगको कुनै औषधि हुन्न । किनकि ढोंग कुनै रोग होइन, कम्युनिस्ट विचारधारा हो ।’ कुनै बखत पत्रकार अग्निशिखा लेख्थे, ‘कम्युनिस्ट आन्दोलन आस्थाको लडाइँ हो । प्रतिबद्धताको लडाइँ हो । कम्युनिस्टहरू विशेष धातुबाट बनेका हुन्छन् । त्यो विशेष धातु साम्यवादप्रतिको अटुट आस्था हो । पार्टी प्रतिको प्रतिबद्धता हो ।’

अग्निशिखाले कम्युनिस्ट आन्दोलनका गाथा कोरिरहँदा यसप्रति आम आकर्षण बढ्दो थियो । खनालले अहिले आलोचना र आक्रोशका अभिव्यक्ति पोखिरहँदा कम्युनिस्टहरू प्रति औधि विकर्षण छ । हुन त यतिबेला सरकारको नेतृत्वमा कम्युनिस्ट पार्टीकै नेता छन् । गठबन्धनका मुख्य सहयात्री कम्युनिस्ट नै छन् । विभाजित भए पनि सबैको मत जोड्दा आज ठूलो राजनीतिक शक्ति कम्युनिस्ट नै हुन् । यथार्थ के हो भने, ७५ वर्षे पाको नेपाली कम्युनिस्ट आन्दोलनप्रति आमजनको मोहभंग हुँदै गएको छ ।

साढे सात दशक लामो कम्युनिस्ट आन्दोलन किन स्खलित हुँदै छ ? यसले नेपाली समाजलाई के दिन सक्यो, के सकेन ? कम्युनिस्टहरूको ‘क्रान्तिकारी’ छवि कसरी ढोंगी चरित्रमा बदलियो ? मुक्तिकामी योद्धा कहलिएका कम्युनिस्टहरू किन खलपात्र बन्दै छन् ? वामपन्थी रुझान भएको नेपाली समाजमा यस्ता प्रश्न उठिरहन्छन् । नेपाल कम्युनिस्ट पार्टीको हीरक महोत्सवको अवसरमा यी प्रश्नमा विमर्श अझ सान्दर्भिक भएको छ ।

कम्युनिस्टहरूलाई हेर्ने मूलतः दुईथरी दृष्टिकोण छन् । एउटा कम्युनिस्ट पक्षधर र अर्को इतर । कम्युनिस्ट इतरहरू यसलाई अधिनायकवादी दर्शनका रूपमा बुझ्छन्, आलोचना गर्छन् । रुस, चीन आदि मुलुकले अभ्यास गरेका कम्युनिस्ट व्यवस्था यसको उदाहरण हो, जहाँ कम्युनिस्ट पार्टीको नेतृत्व नै सर्वेसर्वा हुन्छ । कम्युनिस्ट विचारधारा बोक्नेहरू चाहिँ आफूलाई समाजका भुइँवर्गका ‘मुक्तिदाता’ भन्ठान्छन् । आफूलाई सर्वहारा वर्गको नेता, समाजका तल्लो तहका गरिब र विपन्न वर्गका सारथिका रूपमा परिभाषित गर्छन् । जर्मन दर्शनशास्त्री कार्ल मार्क्सले करिब एक सय ७५ वर्षअघि समाजमा व्याप्त आर्थिक शोषण, वर्ग विभेदको अन्त्यका लागि समाजवाद हुँदै साम्यवादी व्यवस्थाको परिकल्पना गरेर कम्युनिस्ट घोषणापत्र लेखेपछि त्यसले कम्युनिस्टहरू संगठित हुने आधार बनाइदियो । त्यही आयातित राजनीतिक दर्शनबाट प्रभावित भएर नेपाली कम्युनिस्टहरू पनि संगठित हुँदै आएका हुन् ।

सुरुवातमा नेपाली कम्युनिस्टहरूले संगठन निर्माणको मुख्य आधार समाजको तल्लो तप्काका विपन्न जनताका जनजीविकाका मुद्दालाई बनाए । तिनले प्रगतिशील राष्ट्रवादको नारा बोके । २०४६ को ऐतिहासिक जनआन्दोलनअघि नेपाली कम्युनिस्टहरूका लागि संघर्षको चरण थियो । संघर्षको चरणमा तिनले आफूलाई अब्बल सावित गरेका छन् । नेपालको राजनीतिक आन्दोलनहरूको उत्सर्ग र सहभागितामा कम्युनिस्टहरूको योगदान कम छैन । मुख्य कुरा, नेपाली कांग्रेसको नेतृत्वमा भएको लोकतान्त्रिक आन्दोलनमा कम्युनिस्टहरूले काँधमा काँध मिलाए । राणाशाहीविरुद्ध जनक्रान्ति चलेकै बेलामा नेपाली कम्युनिस्टहरू संगठित भए । २०४६ को ऐतिहासिक जनआन्दोलन नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको संयुक्त पहलमा भएको थियो । २०६३ मा सम्पन्न दोस्रो जनआन्दोलनमा पनि नेपाली कांग्रेससँगै एमाले, माओवादी लगायतका कम्युनिस्टहरू सक्रिय सहभागी भए ।

पञ्चायती व्यवस्थाका शासकका अनेक ज्यादती र दमन भोगेका कम्युनिस्टले सामाजिक र राजनीतिक जागरण ल्याउन भूमिका खेले । जेलनेल भोगे, कैयौं कम्युनिस्ट नेता, कार्यकर्ता सहादत भए । पुष्पलाल श्रेष्ठ र मदन भण्डारीजस्ता नेताहरू कम्युनिस्ट आन्दोलनले जन्मायो । लोकतान्त्रिक आन्दोलनसँगै नेपाली कम्युनिस्ट पनि लोकतान्त्रिकीकरण भए । विश्वका अरू कतिपय देशका कम्युनिस्टको तुलनामा नेपाली कम्युनिस्टको यो विशिष्ट चरित्र थियो । जनवादी सत्ता स्थापनाका लागि दशक लामो हिंसाको राजनीति गरेको माओवादी पनि अन्ततः लोकतान्त्रिक प्रक्रियामा मिसियो । तर, जब सत्ता यात्रा सुरु भयो, त्यसपछि कम्युनिस्ट राजनीतिको स्खलन हुन थाल्यो ।

२०४६ सालको जनआन्दोलनपछि कांग्रेससँगै एमालेको सत्ता यात्रा सुरु भयो । ०६३ को दोस्रो जनआन्दोलनपछि माओवादीले पनि सत्ताको स्वाद लियो । यो साढे तीन दशकमा स–साना कम्युनिस्ट घटकका एकाध नेताले सत्ताको स्वाद चाखे पनि मूलतः दुई ठूला कम्युनिस्ट पार्टी पटकपटक सत्तामा पुगे । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारको नेतृत्वमा यो तेस्रो ‘इनिङ्स’ हो । एमाले अध्यक्ष केपी दुई पटक प्रधानमन्त्री भइसके । हाल एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादीमा संगठित भएका माधव नेपाल र झलनाथ खनाल पनि प्रधानमन्त्री भइसकेका पात्र हुन् । माओवादीमै छँदा बाबुराम भट्टराई पनि एक पटक प्रधानमन्त्री भइसकेका छन् । सबैभन्दा पहिलो कम्युनिस्ट प्रधानमन्त्रीचाहिँ मनमोहन अधिकारी हुन्, जो ०५१ को मध्यावधि निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा नौ महिना अल्पमतको सरकारको नेतृत्वमा रहे । अनेक पटक कम्युनिस्ट नेताहरू सत्तामा पुगे । तर, सरकारको अुनभूति थोरै भए पनि जनताले मनमोहन कार्यकालमा मात्रै गर्न सकेका हुन् ।

त्यसउप्रान्त प्रधानमन्त्री भएका कम्युनिस्ट नेताहरूले नियमित आइपर्ने कामहरू गरे पनि जनताको मनमा छाप छोड्न सक्ने उल्लेख्य कुनै काम गर्न सकेनन् । शान्ति प्रक्रिया, संविधानसभा, संविधान निर्माण, राजनीतिक रूपान्तरण आदि केही मोटा मुद्दाहरूमा कम्युनिस्ट प्रधानमन्त्रीहरूको भूमिका खोज्न सकिएला तर जुन तह र तप्काको मत/समर्थनमा कम्युनिस्ट नेताहरूले सत्ताको साँचो हात पारे, तिनको वर्गीय उत्थान उनीहरूको मुद्दा बन्नै सकेन ।

कहाँ–कहाँ चुके नेपाली कम्युनिस्टहरू ? अब एकैछिन साढे तीन दशक लामो कम्युनिस्टहरूले गरेको सत्ता अभ्यासको समीक्षा गरौं । नेपाली कम्युनिस्ट आन्दोलन अद्योगतितिर लाग्नु र कम्युनिस्ट चरित्र भुत्ते हुँदै जानुका पछाडि तिनमा झाँगिँदै गएका केही प्रवृत्तिहरू जिम्मेवार छन् ।

पहिलो, कम्युनिस्टहरू जतिबेला संघर्षको मोर्चामा थिए, तिनले भुइँमान्छेहरूलाई अनेक सपना बाँडे । जब सत्ता र शक्ति तिनको हातमा पुग्यो । भुइँमान्छेसँगको तिनको नाता टुट्यो । कम्युनिस्टका लागि त्यो वर्ग चुनावमा भोट माग्ने र सडक आन्दोलनका उपयोग गर्ने वस्तुमा सीमित भए ।

दोस्रो, कम्युनिस्टहरूमा सत्ताकेन्द्रित मानसिकता यति जड भएर बसेको छ कि, तिनमा सत्ताबाहिर बस्न नसक्ने चरित्र हाबी भएको छ । कुनै बेला ‘सत्ता बाहिर बस्दा पानीबिनाको माछा जस्तो’ भनेर कांग्रेसको आलोचना हुन्थ्यो । २०४६ सालको परिवर्तनपछिको संसदीय अभ्यासमा गिरिजाप्रसाद कोइरालामा जसरी पनि सत्तामै पुग्ने जुन प्रवृत्ति हुर्कियो, अहिले कम्युनिस्टका शीर्ष नेतामा त्यही ‘रोग’ सरेको छ ।

तेस्रो, कम्युनिस्टहरू राजनीतिक/वैचारिक विमर्श गर्न रुचाउँछन् । लामा लामा बैठक गर्छन्, राजनीतिक दस्ताबेज लेख्छन् । तर, ती विचारको कार्यान्वयनमा सधैं उदासीनता देखिन्छ । राजनीतिक विचार र दर्शनका आधारमा सहकार्य र सम्झौता गर्ने, त्यसैका आधारमा राजनीतिक कार्यक्रमहरू निर्माण गर्ने कुरा कम्युनिस्टहरूले बिर्सिसके । सिद्धान्तको औपचारिकता र कर्मकाण्डी विमर्शमा रमाउने कम्युनिस्टहरू अवसर र व्यवहारवादी राजनीतिको बाटोमा अघि बढेका छन् ।

चौथो, कम्युनिस्टहरू सत्तामा पुगेपछि दुर्गन्धित भएका छन् । राष्ट्रिय सम्पत्तिको दोहन तिनको मुख्य अभीष्ट बन्दै गएको छ । नातावाद, परिवारवाद र आसेपासे पोस्ने तिनको कार्यसूची बन्न थालेपछि कम्युनिस्टहरूप्रति आमजनको विश्वास धुमिल हुँदै गएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालकै कुरा गरौं । उनी परिवारवादमा लिप्त छन् । आसेपासे र बिचौलिया टाइपका मान्छेहरू उनको रोजाइमा पर्ने गर्छन् । सिंहदरबार र बालुवाटारमा उनले ‘विज्ञ र सल्लाहकार’ को जुन लर्को खडा गरेका छन्, त्यो साँच्चिकै विज्ञप्रतिको भद्दा मजाक हो । यो प्रवृत्ति अरू प्रधानमन्त्रीहरूमा पनि नदेखिएको होइन । यद्यपि दाहाल यसमा अझ अगाडि देखिए ।

पाँचौं, हुन त गुट कम्युनिस्टहरूको पुरानै रोग हो । स्थापनाकालदेखि नै कम्युनिस्टहरूबीच ‘इगो टसल’ र विभाजन हुँदै आएका अनेक दृष्टान्त छन् । निरंकुशताविरुद्ध लडेका कम्युनिस्टहरू विभाजित भएर राजावादी कम्युनिस्ट बनेका नजिर पनि छन् । यद्यपि, कम्युनिस्टहरू दुई लाइन संघर्षमा विश्वास गर्छन् भनिन्छ । पार्टीभित्र राजनीतिक, वैचारिक विचार समूह निर्माण गरेर बहसहरू मार्फत पार्टीलाई जीवन्त बनाउँछन् पनि भनिन्छ । तर, अहिले कम्युनिस्टहरूमा राजनीतिक, वैचारिक डिस्कोर्स गर्ने प्रवृत्ति छैन भन्दा पनि हुन्छ । कम्युनिस्टहरूभित्र गुट सत्तामा जान, एकअर्काबीच ‘इगो’ साध्न र राष्ट्रको स्रोतहरूको दोहन गर्नका लागि बन्छन् । दुर्भाग्य के छ भने, यो प्रवृत्ति केन्द्रदेखि स्थानीय तह सरकारसम्मै छ ।

छैटौं, कम्युनिस्ट नेताहरूको वर्ग फेरिएको छ । निम्न मध्यवर्गीय पारिवारिक पृष्ठभूमिबाट कम्युनिस्ट राजनीतिमा छिरेका नेताहरू अभिजात्य वर्गमा परिणत भएका छन् । एउटै पार्टीभित्र एकथरी ‘मालिक’ र अर्काथरी ‘दास’ वर्ग छ । व्यक्तिगत सम्पत्तिलाई पार्टीकरण गरेर राजनीतिक संघर्षमा लागेका कम्युनिस्टहरू सत्ता यात्रापछि अस्वाभाविक हिसाबले धनी बनेका छन् । समयक्रमसँगै धेरै कुरा बदलिएको छ । मानिसका आवश्यकताका आधार फेरिएका छन् । विगतका विलासी मानिने साधनहरू अब आवश्यकता बनेका छन् । तर, कम्युनिस्ट नेताहरूको जीवनशैली न्यूनतम आवश्यकतामा चित्त बुझाएर बस्ने खालको छैन । कम्युनिस्ट नेताहरूको घर, गाडी, सम्पत्ति, तिनको दैनिक रवाफ कुनै सामन्तभन्दा कम छैन । कम्युनिस्टहरू ‘नवसामन्त’ मा रूपान्तरित भएका छन् ।

सातौं, दलाल पुँजीवादको चंगुलमा परेका कम्युनिस्ट नेताहरूको उठबस संघर्षकालीन सहयोद्धासँग होइन, बिचौलियाहरूसँग बढी छ । बिचौलियाको पहुँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको शयनकक्षसम्मै पुगेको छ । आर्थिक अनियमितता र भ्रष्टाचारका प्रकरणहरूमा कम्युनिस्ट नेताहरू चुर्लुम्म डुबेका छन् । राजनीतिक, आर्थिक सबै दृष्टिले नेतृत्व अपारदर्शी छ ।

हुन त यी प्रवृत्ति कम्युनिस्ट पार्टी र तिनका नेतामा मात्रै हुर्केको होइन, समग्र राजनीतिमै यसखाले चरित्र हाबी छ । लोकतान्त्रिक आन्दोलनको नेता कांग्रेसभित्र लोकतन्त्रको अवस्था कति निम्छरो छ, यो बेग्लै विवेचनाको विषय हुन सक्छ । यद्यपि, समाज रूपान्तरणको अवसर पाएका कम्युनिस्ट नेताहरूबाट चुक हुँदा वामपन्थी जनमतको बाहुल्य भएको नेपाली समाजमा नैराश्य थपिएको छ ।

अहिले पनि एमाले, माओवादी र एमालेबाटै चोइटिएको एकीकृत समाजवादी लगायतको सत्ता गठबन्धन छ । यो गठबन्धनमा राजनीतिक संस्कार, मूल्य, मान्यता, आदर्श केही छैन, बरु यी सबै सत्ता अवसरवादमा चुर्लुम्म डुबेका छन् । कम्युनिस्ट राजनीतिले जनजीविकाको मुद्दामा हस्तक्षेपकारी भूमिका खेल्दै, सादगी र नमुना जीवनयापन गरेर प्रगतिशील राष्ट्रवादको झन्डा फहराउन सक्ने अवसर गुमाएको छ । र, पटक पटक लोकतन्त्र स्थापना भए पनि यो प्रणाली कमजोर छ, संस्थागत हुन सकेको छैन ।

अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेथे, ‘लोकतन्त्र भनेको जनताको, जनताद्वारा, जनताका लागि गरिने शासन व्यवस्था हो ।’ लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा लिंकनको यो भनाइ स्मरण गरिरहँदा लज्जाबोध भइरहेछ । किनभने, नेपाली लोकतन्त्रको नियति लिंकनले परिभाषित गरेजस्तो रहेन । नेपाली लोकतन्त्र ‘नेताको, नेताद्वारा, नेताका लागि गरिने शासन व्यवस्था’ मा परिणत भएको छ । लोकतन्त्रको आवरणमा जसरी राजनीतिक नेतृत्वले निर्बाध विचौलियातन्त्र, गुटतन्त्र, व्यक्तितन्त्र, परिवारतन्त्र, आसेपासेतन्त्र चलाइरहेको छ, यहाँनेर जनता, तिनका समस्या, मुद्दा सबै गौण छन् । हीरक महोत्सवमा कम्युनिस्ट पार्टीका साढे सात दशकको यात्राको समीक्षामा यी पक्षहरूलाई नझुल्ने कि ?

प्रकाशित : वैशाख १०, २०८१ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?