कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थतन्त्र सुध्रिएको कि सुन्निएको ?

कुल वैदेशिक व्यापारको अंश हेर्दा ९१ प्रतिशत आयात र ९ प्रतिशत निर्यात छ, हाम्रो अर्थतन्त्रको अवस्था कस्तो छ भन्नलाई यही तथ्यांकले छर्लंग पार्छ ।

विभिन्न सभा/समारोहमा सरोकारवाला व्यक्तिबाट अर्थतन्त्रमा सुधार हुँदै छ, अब लयमा फर्कंदै छ भन्ने गरेको सुनिन्छ । जिम्मेवार तहमा रहने व्यक्तिबाट बोलिएका विषय पक्कै पनि जायज हुनुपर्ने हो तर तथ्यांकको अध्ययन र विश्लेषण गर्ने हो भने सुधार केमा भएको रहेछ ? एउटा गम्भीर प्रश्न मनमा उब्जिरहेको छ ।

अर्थतन्त्र सुध्रिएको कि सुन्निएको ?

अर्थतन्त्र सबल बन्न र सुधारोन्मुख हुनका लागि त देशमा केही नयाँ काम हुनुपर्थ्यो होला, त्यसो भएको पनि केही छैन । विगतमा के भएकाले समस्या आयो र अहिले के हुँदै छ र सुधार भयो भन्ने विषय आफैंमा अस्पष्ट छ ।

२०८० मंसिरको तथ्यांकलाई हेर्दा विदेशी विनिमय सञ्चिति गतवर्षको सोही अवधिको १२ खर्ब ९३ अर्ब २६ करोडको तुलनामा ३६.७ प्रतिशतले वृद्धि भई १७ खर्ब ६७ अर्ब ४ करोड कायम छ । जसले ११.८ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त देखिन्छ ।

रेमिट्यान्सको कुरा गर्दा २०८० मंसिरमा २७.६ प्रतिशतले वृद्धि भएको छ, गतवर्ष सोही अवधिमा २३ प्रतिशतले बढेको थियो । सरकारको तिर्न बाँकी ऋण २०७९ मंसिरमा २० खर्ब ७ अर्ब १३ करोड रहेकामा २०८० मंसिरमा २३ खर्ब ७१ अर्ब २६ करोड देखिन्छ, जुन ३ खर्ब ६४ अर्बले बढी छ ।

बैंक तथा वित्तीय संस्थाको अवस्था हेर्ने हो भने २०७९ मंसिरमा १२५ वटा बैंक तथा वित्तीय संस्था र तिनका शाखा ११ हजार ६ सय ५० थिए । २०८० मंसिरमा घटेर ११२ वटा बैंक तथा वित्तीय संस्था र तिनको शाखा संख्या ११ हजार ५ सय ७० रहेको देखिन्छ । २०७९ पुसको तुलनामा २०८० पुसमा १४.३६ प्रतिशत निक्षेप वृद्धि भएको छ भने ४.९५ प्रतिशत कर्जा वृद्धि भएको तथ्यांकले देखाउँछ । अझै पनि ३५ प्रतिशत जनसंख्या वित्तीय पहुँचबाट बाहिर रहेको भनिन्छ । एकातिर वित्तीय संस्थाको संख्या घट्दै छ, अर्कोतिर वित्तीय पहुँच पुग्न सकेको देखिँदैन । वैदेशिक सहायता प्रतिबद्धता २०८०/८१ मंसिरमा ५८ अर्ब १७ करोड रहेको छ । गतआर्थिक वर्षको सोही अवधिमा वैदेशिक सहायता १ खर्ब ९ अर्ब ४ करोड थियो । आर्थिक वर्ष २०७९ मंसिरमा जीवन बिमाको दायरा जनसंख्याको ४४ प्रतिशत रहेकामा २०८० मंसिरमा आइपुग्दा घटेर ४३.१ प्रतिशतमा सीमित भएको छ । वस्तुको निर्यात गतवर्षको सोही अवधिको तुलनामा ६.१ प्रतिशतले कमी छ । पाम तेल र भटमासको प्रशोधित तेल, चिया, ऊनी, गलैंचा, कार्पेट लगायतका वस्तुको निर्यात घटेको छ । विगतका वर्षमा पाम तेल र भटमासको प्रशोधित तेलको निर्यात उच्च भएर कुल वस्तु निर्यातको उच्च वृद्धि देखिए पनि हाल ती वस्तुको निर्यातमा कमी आएको छ ।

२०८०/८१ को मंसिरमा आइपुग्दा कुल वस्तु आयात गतवर्षको सोही अवधिको तुलनामा ३.४ प्रतिशतले घटेको छ । आयात घट्ने वस्तुमध्ये सुन, डिजेल, पेट्रोल, एलपी ग्यासलगायत छन् । चालु खाता एवं शोधानान्तर स्थिति २०८०/८१ को मंसिरसम्म अमेरिकी डलर १ अर्ब ५८ करोड बचत रहेको छ । गतआर्थिक वर्षको सोही अवधिमा शोधानान्तर स्थिति ३४ करोड ६८ लाख बचत रहेको थियो । त्यसैगरी चालु खाता अमेरिकी डलर १ अर्ब ५ करोडले बचतमा छ, गतवर्ष सोही अवधिमा चालु खाता ३२ करोड २२ लाखले घाटामा थियो । पर्यटक आगमनको अवस्था चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा उल्लेख्य वृद्धि भई १० लाख १४ हजार ८ सय ७६ पुगेको छ । गतवर्षको सोही अवधिमा ५ लाख ४६ हजार २ सय १६ मात्रै थियो । यस अवधिमा भ्रमण खर्च ५९.५ प्रतिशतले वृद्धि भएको छ । कम्पनी दर्ता भने आर्थिक वर्ष २०७९ को तुलनामा २०८०/८१ मा घटेको छ । यो आवमा १० हजार ४२ रहेको छ भने गतवर्षको सोही अवधिमा १० हजार १ सय १७ रहेको थियो ।

२०८०/८१ मंसिरसम्म आइपुग्दा व्यापार घाटा गतआर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१ प्रतिशतले कमी आएको छ । गतआवको सोही अवधिमा १८.८ प्रतिशतले घटेको थियो । वैदेशिक व्यापारको अंश २०८०/८१ मा आयात ९१ प्रतिशत र निर्यात ९ प्रतिशत छ । गतवर्षको सोही अवधिमा ९०.७ प्रतिशत र ९.३ प्रतिशत रहेको थियो ।

माथि उल्लिखित विभिन्न क्षेत्रको अध्ययन र तथ्यांकीय विश्लेषण गर्दा अर्थतन्त्र सुध्र्रिएको हो वा सुन्निएको, प्रस्ट हुन जरुरी हुन्छ । यथार्थमा भन्ने हो भने समग्र अर्थतन्त्रको चक्रलाई रेमिट र आयातले मुख्य भूमिका खेलेको देखिन्छ । देशमा कुनै सम्भावना नदेखेर विदेश गएका युवाले रेमिट नपठाउने हो भने देशको अवस्था कहाँ पुग्थ्यो ? अर्को पक्ष भने वस्तु आयातले ठूलो भूमिका निर्वाह गरेको छ । कुल व्यापारमा निर्यातको अंश ९१ प्रतिशत छ र ६.१ प्रतिशत आयात घटेको छ । यो भनेको कुल आयातको ४०५४.९५ करोडको आयात कम हुनु हो । निर्यात पनि ३.४ प्रतिशत अर्थात् ३४१.३२ करोडले घटेको छ । जम्मा जोड ४३९६.२७ करोडले व्यापार घाटा कम भयो र भुक्तानी सन्तुलनमा कमी भयो भने

विदेशी विनिमय सञ्चितिमा समेत त्यसको प्रभाव पर्ने नै भयो ।

पर्यटक आगमन बढेको देखिएको छ । पछिल्लो समय नेपाली देश बाहिर घुम्न जानेको संख्या पनि बढिरहेको छ । देशबाट युवा बाहिरिएका मात्रै छैनन्, उनीहरूसँगै ठूलो रकम फि, होस्टल खर्च, पाकेट खर्चका नाउँमा विदेशी मुद्रा घटिरहेको हुन्छ ।

कुल वैदेशिक व्यापारको अंश हेर्दा ९१ प्रतिशत आयात र ९ प्रतिशत निर्यात छ, हाम्रो अर्थतन्त्रको अवस्था कस्तो छ भन्नलाई यही तथ्यांकले छर्लंग पार्छ । वैदेशिक सहायता प्रतिबद्धतामा दातृ राष्ट्रको विश्वास घट्दै गइरहेको छ । प्रतिबद्धता अनुरूपको रकम गतवर्षदेखि नै घटिरहेको छ । यो वर्ष मात्रै ५० अर्बले कमी भएको तथ्यांकले देखाउँछ । जीवन बिमाको दायरा संकुचन भएको छ, बैंक तथा वित्तीय संस्थाको संख्या र शाखा घटेका छन् । यस्तै, निक्षेप १४ प्रतिशतको हाराहारीमा रहँदा लगानी करिब ५ प्रतिशतमा सीमित भएको अवस्था छ । जबकि करिब ७० प्रतिशत अंश आयातमा लगानी हुने रहेकामा आयातमा कमी हुँदा कर्जाको माग कम हुने नै भयो । सरकारले तिर्न बाँकी ऋणको अवस्था हेर्दा गतवर्षको तुलनामा यस वर्ष मंसिरसम्म ३ खर्ब ६१ अर्ब १३ करोडले वृद्धि भएको छ । यस्ता केही पक्ष छन्, जसले अर्थतन्त्रका बारेमा सिधा सम्बन्ध राख्छन्, जुन केही सूचकांकमा कमी भएको महसुस देखिन्छ भने केहीमा वृद्धि भएको ।

पहिलो पक्षः आयात कमी हुँदा लगानी पनि कम भयो । जहाँ बैंक तथा वित्तीय संस्थाले लिएको निक्षेप निष्क्रिय रहनाले पैसा चलायमान हुन सकेन । यसको प्रभाव रोजगारी, राजस्व, निर्माण सेवालगायत विविध क्षेत्रमा पर्ने भयो ।

दोस्रो पक्षः रेमिट्यान्स बढ्नु राम्रो पक्ष हो । तर, देशका युवा गाउँ नै रित्तै हुने गरी विदेशिने क्रमबाट आएको पैसाले हामी सबल छौं भन्ने विषय एकछिनको चित्तबुझाइ मात्र हो । दैनिक २ हजार २ सय देखि २ हजार ५ सय युवा देशबाट बाहिरिँदै छन् ।

तेस्रो पक्षः विदेशी विनिमय सञ्चिति रेमिट बढेको छ, आयात घटेको छ, लगानी ठप्प छ । भइरहेका व्यवसाय सुस्त गतिमा चलेका छन् ।

चौथो पक्षः बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भयो भनिन्छ । ८० प्रतिशतको सीडी रेसियोलाई ९० प्रतिशत बनाइएको छ, जहाँ १४ प्रतिशतको निक्षेप बढ्दा लगानी ५ प्रतिशत मात्र भएको छ । सहकारीमा जम्मा हुने गरेको रकम तथ्यांकको दायरामा थिएन । अहिले सहकारीमा समस्या देखिएपछि बैंकिङ च्यानलमा आउन थालेको छ । ७.६ प्रतिशत लगानी भएको छैन, जसले गर्दा वित्तीय संस्थामा तरलता छ भनिएको छ । अझै पनि सहज कर्जाको माग भई लगानी गर्न सक्ने वातावरण देखिँदैन ।

पाँचौं पक्षः ९१ प्रतिशत आयात र ९ प्रतिशत निर्यातको अंश छ । ६.१ प्रतिशत आयात घट्दा व्यापार घाटा कम हुनु स्वाभाविक हो ।

छैटौं पक्षः अहिले वित्तीय संस्थामा निष्क्रिय कर्जा बढेकाले व्यवस्थापनमा चुनौती देखिएको छ । त्यसमा पनि विभिन्न समूहले कर्जा तिर्नु पर्दैन, छुट दिनुपर्छ भन्ने भाष्य बनाई दबाब सिर्जना गर्ने वातावरणले ऋणीहरूले कर्जा तिर्न अग्रसरता नदेखाउने प्रवृत्ति देखिन थालेको छ । बजारमा कर्जाको मागमा कमी छ । सञ्चालन भइरहेका व्यवसायमा मन्दीको प्रभाव छ । वित्तीय संस्थामा तरलता जम्मा भएको छ, जसले लागत बढिरहेको छ । अर्कोतिर सहकारी संस्थाको समस्या लिएर सडकदेखि सदनसम्म आन्दोलित बनेको छ ।

यस्ता विविध पक्ष छर्लंग देखिँदादेखिँदै पनि हामी सुधारोन्मुख छौं, हाम्रा तथ्यांक सबल बन्दै गइरहेका छन्, हामीसँग लगानीयोग्य रकम थुप्रिएको छ भनिरहेका छौं । उत्पादन चाहे कृषि होस्, चाहे औद्योगिक, नुनदेखि सुनसम्मको परनिर्भरता छ । राजनीतिको गाँठो कहिले कसिन्छ त कहिले फुक्छ । यस्तो अवस्थालाई अर्थतन्त्र सुध्रिएको भनी मानिसमा भ्रम छर्नु हुँदैन । यस्ता चिल्ला र मिठा भाषण अरूलाई सुनाउनका लागि एकछिन राम्रो देखिएला तर यथार्थ जगजाहेर छ । शरीरको भित्री अंगमा खराबी भई मानिसको शरीर सुन्निएको छ भने त्यसलाई कसरी स्वस्थ भन्न सकिएला र ? सुन्निएको शरीर हेरेर बेलैमा उपचारतर्फ नलाग्ने हो भने अन्य अंगमा पनि असर पर्न सक्छ ।

– कँडेल राष्ट्रिय वाणिज्य बैंककी उपकार्यकारी अधिकृत हुन् ।

प्रकाशित : चैत्र १४, २०८० ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?