सत्ताको चास्नीमा डुबेको राजनीति
राजनीतिक नेताबारे एउटा चर्चित भनाइ छ, ‘राजनीतिज्ञ सबैतिर उस्तै छन्, जो खोला नभएको ठाउँमा पुल बनाउने वाचा गर्छन् ।’ नेपाली राजनीतिमा पनि सपनाको पुल बाँध्ने नेताको कमी छैन । तर, व्यवहारमा ती सपना कोरा आश्वासनमा सीमित भएका छन् ।नयाँ गठबन्धन बनेपछि ‘केही भइहाल्छ कि’ भनेर झिनो आशा पाल्ने स्वजनहरूका लागि खबर सुखद छैन ।
कारण, यहाँ पनि ‘खोला नभएको ठाउँमा पुलको वाचा गर्ने’ उही प्रवृत्ति हाबी छ । सत्तारूढ गठबन्धनका पुराना/नयाँ नेताले चर्को स्वरमा जेजे वाचा गरे पनि वास्तविकता यही हो कि, राजनीति गणितकै गोलचक्करमा फसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाए पनि संसद्मा समर्थन गर्ने टाउकाहरू घट्दै जाँदा त्यसमा तलबितल पर्ला कि भन्ने चिन्ताले उनलाई छोड्ने छैन । राजनीति गणितबाट उठेर सामाजिक विज्ञानको विषय नबन्दासम्म हुने यही हो ।
राजनीतिक दल र यसका प्रमुख पात्रहरू, के सत्तापक्ष के प्रतिपक्ष सबैमा अवसरवाद हाबी छ । सैद्धान्तिक/राजनीतिक अन्तर्विरोध र डिस्कोर्स टाढाका विषय बनेका छन् । राजनीति पद र व्यक्तिकेन्द्रित विवाद, प्रतिष्ठाको लडाइँको विषय बन्दै गएको छ । विश्व परिवेशमै लोकतान्त्रिक मूल्य गिर्दै अतिवादी धार हाबी हुन थालेको यो समय
ती बाछिटाबाट नेपाली राजनीति पनि मुक्त छैन । संसद्मा सत्तापक्ष र प्रतिपक्षका बेन्च फेरिएका छन् तर चरित्र उही छ । सत्तापक्षका स्वर र गतिविधिमा शक्तिको उन्माद बढ्दो छ भने प्रतिपक्ष सत्ताच्युत हुनुपर्दा हारको मानसिकताबाट उठ्न सकेको छैन ।
यस पटक यो स्तम्भ सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्ष दलका भूमिका, तीमाथि उठेका प्रश्नहरूमा केन्द्रित रहनेछ । थालनी गरौं, संसद्को सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट ।
कांग्रेस : प्रतिक्रिया होइन, पुनर्गठन
भनिन्छ, राजनीतिक दलको पुनर्ताजगीका लागि ‘मेघा इभेन्ट’ हरू औषधि हुन् । बृहत् राजनीतिक भेला र छलफलपछि दलहरूमा नयाँ उत्साह र ऊर्जा सञ्चार हुने विश्वास गरिन्छ । तर, हालसालै मिनी महाधिवेशन भनिने महासमिति बैठक सकेको कांग्रेसमा नयाँ ऊर्जा सञ्चार हुन सकेको छैन । बरु, गठबन्धनबाट बाहिरिएर प्रमुख प्रतिपक्षको बेन्चमा पुग्दा उसमा निराशा र अन्योल देखिएको छ ।
निश्चय पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोप नैतिक र कानुनी प्रश्न हो । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले बचाउ गरे पनि दोहोरो नागरिकता अभियोगमा एक पटक न्यायालयबाट दण्डित भइसकेका लामिछानेमाथि छानबिन आवश्यक छ । यद्यपि कांग्रेसले यसलाई प्रतिष्ठाको विषय बनाउँदै संसद् अवरुद्ध गर्ने तहमा ओर्लेर प्रतिक्रियाको राजनीतिमा सीमित हुनु कति उचित हो ? संसद्मा चर्का भाषण र विरोध गरेर प्रतिक्रियाको राजनीतिमै आफ्नो जीवन्तता खोज्ने कि साँच्चैको रचनात्मक प्रतिपक्ष बन्ने ? सत्ता गुमाएको अवसादमा रहेको कांग्रेसले घोत्लिनु जरुरी छ ।
दाहालले सत्ता गठबन्धन तोडेपछि एक मुख लागेर त्यसको विरोध गरेको देखिए पनि खासमा कांग्रेसभित्र दुईथरी धारणा छ । चुनावपूर्व गठबन्धन नगर्ने धारणा राख्ने समूहलाई ‘जे भयो ठीकै भयो’ भन्ने लागेको छ भने छैटौं पटक प्रधानमन्त्री बन्ने अवसर गुमेकामा शेरबहादुर देउवालगायत समूहचाहिँ चिढिएको छ । पार्टी सत्तामा बलियो वर्चस्व भएका देउवाको मूल प्राथमिकता फेरि पनि गठबन्धन निर्माण गरेर सरकारमा पुग्ने नै हुनेछ । एमालेसँग सहकार्यको हात बढाउने वा फेरि दाहाललाई नै मनाउने, यी केही सीमित विकल्पमा देउवा लाग्नेछन् । कांग्रेसको प्रतिपक्षीय भूमिका कस्तो बनाउने भन्नेमा उनको खासै रुचि नहुन सक्छ ।
त्यसो त संसद्मा कांग्रेसले यो पटक आफ्नो उपस्थितिलाई लिएर धेरै चिन्ता गर्नुपर्ने देखिँदैन । कांग्रेसको बेन्चमा दुई महामन्त्री लगायतका प्रशस्त नयाँ अनुहार छन्, जसले उपस्थिति बोध गराउने छन् नै । २०७४ को सदनमा कांग्रेस कमजोर र निरीह हुँदा त गगन थापा र मीनेन्द्र रिजालले धानेका थिए भने अहिले अरू थुप्रै अनुहार छन् । अझ लामो संसदीय अभ्यासको अनुभव लिइसकेका थापालाई आफ्नो उपस्थिति बोध के कसरी गराउने ? राम्रै थाहा छ । संसद्, सडक अथवा मिडिया/सामाजिक सञ्जालमार्फत बोल्दा उनलाई सुन्न चाहने पंक्ति ठूलै हुन्छ । तथापि प्रश्न के हो भने, चर्का भाषण गरेर सार्वजनिक खपत भएको आत्मरतिमा रम्ने कि त्यसलाई ‘ओन’ पनि गर्ने ? जस्तो कि, महामन्त्री थापाले सत्ता गठबन्धनमा हुँदा होस् वा अहिले प्रतिपक्ष बेन्चमा बस्दा पनि जोडदार उठाएको एउटा मुद्दा हो, २०४६ सालपछि लाभको पदमा बस्नेहरू सबैका सम्पत्तिको निष्पक्ष छानबिन । उनले उठाएको यो मुद्दा के कांग्रेसको मुद्दा हो ? सरकारलाई यसका लागि दवाब दिन के कांग्रेसले पार्टीस्तरीय छानबिन संयन्त्र बनाएर बढ्न सक्छ ?
कांग्रेसको नयाँ पुस्ताले एकाध नौला अभ्यास गरेका छन् । संवाद यात्रा, पार्टी गतिविधिका क्यालेन्डर लागू गर्नु अथवा सार्वजनिक विमर्शका मञ्च सञ्चालन गर्नु केही सकारात्मक कर्म हुन् । यद्यपि कांग्रेसभित्रको मूल समस्या नीतिगत प्रस्टता र नेतृत्वको चुस्तता नै हो । नीति महाधिवेशनको सट्टा गरिएको महासमितिले चुनावपूर्व गठबन्धन नगर्ने एउटा धारणामा बल्लतल्ल प्रस्टता खोज्न सके पनि खासमा पार्टीलाई दिशानिर्देश गर्ने राजनीतिक/वैचारिक विमर्श गर्न सकेन । अब कांग्रेसले पार्टी सुधार र सच्चिने बासी बहस गरिरहने होइन, पुनर्गठन गर्दै मौलिक र सिर्जनात्मक मुद्दा उठाउन सक्नुपर्छ । संसद्मा प्रतिक्रियाको राजनीतिमा रमाउँदै सत्ताको ढोक्सा थाप्न केन्द्रित गर्ने कि रचनात्मक पहल थाल्ने ? कांग्रेस यता केन्द्रित हुनुपर्छ ।
एमाले : बदलिएका ओली
लोकतन्त्रको संवर्द्धन र सुदृढीकरणका लागि रचनात्मक पहल अरू दलले पनि गर्नुपर्छ । दोस्रो ठूलो दल एमाले यसमा कति खरो उत्रिन सकेको छ, एकैछिन उसका भूमिका नियालौं । एमालेका ‘ब्रान्ड’ अध्यक्ष ओली हुन् । उनका कर्म र अभिव्यक्तिले एमालेको भाग्य र भविष्य निर्धारण गर्छ । एमालेजनको ओलीमाथिको निर्भरता यही तहमा छ । जसको सुविधा उनले लिइरहेका छन् । विपक्षी दल कांग्रेसप्रति कडा कटाक्ष गरे पनि समग्रमा ओलीको यसबीचको प्रस्तुतिमा आश्चर्यजनक बदलाव आएको छ । तर, यो उनको रणनीतिक ‘मुभ’ हो वा कार्यशैली/व्यवहारमा आएको परिवर्तन ? निर्क्योल निकाल्न सायद हतारो हुन्छ ।
यतिचाहिँ भन्न सकिन्छ, ओली कांग्रेससँगको गठबन्धन टुटाएर दाहाललाई आफ्नो साथमा ल्याउन सक्दा विजय भावमा छन् । माधव नेपाल समूह चोइटिएर जाँदा एमालेलाई भएको नोक्सानीको सायद महसुस गरेका छन् । त्यसबारे खुलेर आत्मसमीक्षा वा आत्मालोचना नगरे पनि एकीकृत समाजवादीलाई समेटेर उनी एमालेलाई पुरानै आकार दिन प्रयत्नमा छन् । सँगै, माओवादीलगायत वामपन्थी ‘कस्न्टिच्युएन्सी’ को मुख्य नेता बन्ने लक्ष्य र अभ्यासमा पनि छन् ।
यसअघि गठबन्धन बन्दा प्रधानमन्त्री दाहाललाई ‘डिक्टेट’ गर्ने तहमा देखिएका ओलीले यस पटक सहज हुने गरी लचिलो अवस्था निर्माण गरिदिएका छन् । कतिसम्म भने, उनले आलोपालो प्रधानमन्त्री बन्ने कुरालाई समेत इन्कार गर्दै भनेका छन्, ‘प्रधानमन्त्री बन्ने कुरा धारामा लाइन बसेर पानी थापेजस्तो होइन ।’ यो अभिव्यक्ति र लचकता हेर्दा उनी आफ्नो छवि ‘मेकओभर’ मा केन्द्रित भएका हुन सक्छन् । गणितीय राजनीतिक भुमरीमा परेको अहिलेको राजनीतिलाई स्थिर र उत्पादक बनाउन एमालेको महत्त्वपूर्ण भूमिका छ । त्यसमा ओलीका आगामी कदम के कस्ता हुनेछन्, त्यसमा सत्तारूढ गठबन्धनका प्रस्तुति र भूमिका निर्धारण हुन्छन् ।
माओवादी : तस्करीले उघारेको चेहरा
अस्थिर छविका प्रधानमन्त्री दाहालका कदम र गतिविधिले पनि अहिलेको सत्तारूढ गठबन्धनको स्वास्थ्यमा भूमिका नखेल्ने होइन । तर, उनी ओलीजस्तो सहज अवस्थामा छैनन् । गणितीय राजनीतिका हिसाबले सत्ताको चलखेल गर्न सके पनि राजनीतिक रूपमा अत्यन्त कमजोर धरातलमा छन् । उनको नेतृत्वमा रहेको पार्टी माओवादी विघटनको साँधमा आइपुगेको छ । यसको उत्थान वा अवतरण दाहालसामु ठूलै चुनौती हो ।
एउटा समय माओवादीलाई राजनीतिक शक्ति मान्न पनि हिचकिचाउने अवस्था थियो । माओवादीको सशस्त्र विद्रोहलाई सत्तासीनहरू आतंकवादी गतिविधि ठान्थे, प्रतिपक्षीहरू माओवादी समस्या । माओवादीले राजनीतिक विद्रोह दाबी गरे पनि त्यसको स्वीकारोक्ति अलि पछि मात्रै भयो, जब मिडिया र बौद्धिक विमर्शले भन्यो, ‘माओवादी जनयुद्ध राजनीतिक उद्देश्य प्राप्तिका लागि भइरहेको विद्रोह हो जसमा ध्वंस र आतंकवादका अंश पनि समावेश छन् ।’
यसरी राजनीतिक वृत्तले विद्रोहलाई स्वीकारेपछि वार्तामार्फत माओवादी शान्ति प्रक्रियामा आयो । माओवादीको हिंसाको राजनीतिले १७ हजार नेपाली नागरिकको ज्यान लियो । जसमा माओवादीका लडाकु, सुरक्षाकर्मी, सर्वसाधारण सबै पर्छन् । यस्तो रक्तरञ्जित इतिहास भएको माओवादीले दस वर्षसम्म कैयन् आतंकवादी गतिविधि गर्यो र अन्ततः शान्ति प्रक्रियामार्फत मूलधारको राजनीतिमा आयो । यो अँध्यारो पक्षका बाबजुद शान्ति प्रक्रियामा आएको माओवादीलाई नेपालीजनले स्वीकारे । पहिलो संविधानसभामा त माओवादी सबैभन्दा ठूलो दल बन्यो, चुनावबाटै । संविधानसभा, संघीय गणतन्त्र जस्ता राजनीतिक परिवर्तनपछि माओवादीको उपस्थितिले कहीं न कहीं राजनीतिक, सामाजिक रूपान्तरण भएको भाष्य पनि निर्माण भयो । तर, आज एकपछि अर्को तस्करीका घटना सामुन्नेमा आएपछि प्रश्न उठेको छ, आफ्नै छोराछोरीलाई रूपान्तरण गर्न नसक्ने माओवादीले समाज रूपान्तरण गरे भनेर के पत्याउनु ?
अरू गम्भीर प्रश्न पनि छन् । तस्करीले उघारिदिएको माओवादी अनुहार के महरा मात्रै हुन् ? टोपबहादुर रायमाझी मात्रै हुन् ? अथवा आशंकाको सुई तेर्सिएका बादल, वर्षमान, नन्दकिशोर र उनका परिवार मात्रै हुन् ? पार्टीमा रहँदा यी पात्र दाहालका निकटस्थ हुन् । के चार दशकदेखि पार्टी हेडक्वार्टरको ‘मुखिया’ भएका दाहाललाई यी अनधिकृत गतिविधिबारे सुइँको थिएन ? उपराष्ट्रपति सचिवालय नै तस्करीमा संलग्न भएको तथ्यबाट केही उनी बेखबर थिए ? यसको नैतिक दायित्व उनले लिनु नपर्ने ? यस्ता थुप्रै प्रश्न जन्मिन्छन्, जसको सुई दाहाल लगायतको माओवादी नेतृत्वतिर सिधै तेर्सिन्छ ।
रास्वपा : अहंकार कि आत्मविश्वास ?
नैतिकताको खडेरी पुराना दल र नेतामा मात्रै होइन, नयाँ दलका ऊर्जावान भनिएका नेतामा पनि देखिँदै छ । जसको नजिर हुन्, गृहमन्त्री लामिछाने । जबजब नैतिक प्रश्न उठ्छन्, आलोचना हुन थाल्छन्, लामिछाने उद्धेलित हुन्छन् र प्रतिद्वन्द्वीलाई मैदानमा भिड्न लल्कार्छन् । कहिले चुनावी मैदानमा खडा हुन पत्रकारको नामै किटेर आह््वान गर्छन्, कहिले प्रतिद्वन्द्वी पार्टीका नेतालाई बहसको चुनौती दिन्छन् । उनीमाथि उठेको नैतिक र कानुनी प्रश्नको निवारण सरकारको सम्बद्ध निकायले छानबिन गरेपछि हुने हो, जो उनकै मातहतमा छ । दोहोरो नागरिकता र राहदानी प्रयोग गरेकामा उनलाई एक पटक न्यायालयले दण्डित गरिसकेको छ । अहिले उनीमाथि आरोप लागेको हो र त्यसमा छानबिन हुनुपर्छ भन्ने आवाज मात्रै उठेको हो ।
राजनीतिक नेता भएपछि आलोचना सुन्नुपर्छ । प्रश्न उठ्छन्, त्यसको जवाफ दिनुपर्छ । उद्धेलित भएर कटाक्ष गर्दै हिँड्ने होइन । आफ्नै पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पैसा मागेको विवादास्पद अडियो सार्वजनिक भएपछि ७२ घण्टाभित्र कारबाही उनैले गरेका होइनन् ? उनी स्वयंको हकमा त्यही प्रकृतिको प्रश्न उठ्दा त्यो नजिर कहाँ गयो ?
झन्डै दुई दशकअघि बनेको एउटा हिन्दी सिनेमा ‘नायक’ यदाकदा टेलिभिजन पर्दामा आइराख्छ । सुरुमा क्यामराम्यान त्यसपछि रिपोर्टर बनेका अनिल कपुर एक दिनको मुख्यमन्त्री हुँदै पूर्णकालीन राजनीतिमा होमिएको कथानक भएको यो सिनेमा औधि रोमाञ्चक छ । सिनेमाले भारतीय राजनीतिको कुशासन र विकृत पक्षलाई त उजागर गर्छ नै, इच्छाशक्ति भएको मुख्यमन्त्रीले चाहेमा कति काम गर्न सक्दोरहेछ, त्यो देखाउँछ । साथै राजनीतिलाई ‘फोहोरी खेल’ भनेर आलोचना मात्रै गरिबस्ने पंक्तिलाई सफा गर्न मैदानमै उत्रिन प्रेरित पनि गर्छ ।
लामिछानेको हुटहुटी देख्दा लाग्छ, उनी अनिल कपुरको ‘नायक’ बाट खुब प्रभावित छन् । हिरो शैलीमा धडाधड काम निप्ट्याउने लहड उनमा छ । त्यसैले उनी काँच पर्दाका नायकले जस्तै रोमाञ्चकता सिर्जना गर्न चाहन्छन् । तर के उनी त्यही नैतिक धरातलमा छन् ? पूर्वपत्रकार हुँदै पार्टी स्थापना यताका उनका अभिव्यक्तिमा देखिएका उतारचढाव र सत्तालिप्साबाट प्रेरित चरित्र ‘स्क्रिप्टेड नायक’ को जस्तो छैन ।
बरु, चर्का स्वरमा जनताका मुद्दा उठाउने, अनेक सपना र भावनामा वशीभूत पार्दै सत्ता र शक्तिमा कसरी पुग्ने भन्ने प्रियतावादी राजनीति अँगालेका छन्, उनले । निश्चय पनि उनीलगायत रास्वपाका नेताले शंकाको सुविधा पाउनुपर्छ । केही नयाँपन गरेर देखाउने उत्साह र ऊर्जालाई निरुत्साहित पारिनु हुन्न । तर उनी प्रस्ट हुनुपर्छ, राजनीतिमा ‘हिरोपन्थी’ गर्ने कि लामो दौडने ? आसलाग्दा नेताहरूले यो प्रश्नमा गम्भीर हुन नसके समाजले पाउने उही ‘खोला नभएको ठाउँमा फुलको वाचा गर्ने’ नेतृत्व नै हो ।
प्रकाशित : चैत्र १२, २०८० ०८:५८