१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

ग्रामीण पर्यटन, दिगो आर्थिक अभियान

समृद्धिबारे बहस गर्नुपर्ने यो समयमा नेपालका राजनीतिक दलहरूले ग्रामीण अर्थतन्त्र चलायमान गराउन, नागरिकलाई आफ्नै थातथलोमा समृद्धिका सम्भावनाहरू खोज्नका लागि प्रेरित गर्न आपसमा प्रतिस्पर्धा गर्नुपर्छ ।
सुनिता बराल

नेपालको पर्यटन केही वर्षको निरन्तर ओरालो यात्रापछि सहज बाटामा फर्केको छ । भूकम्प र कोभिड–१९ महामारीपछि नेपाली पर्यटन पूर्ववत् अवस्थामा फर्किएको विश्वास गर्न सकिने तथ्यांकले अर्थतन्त्रमा आशा जगाएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार, सन् २०२३ मा १४८ देशका १० लाख १४ हजार ८७६ नागरिकले नेपाल भ्रमण गरेका छन् ।

ग्रामीण पर्यटन, दिगो आर्थिक अभियान

यो पाँच वर्षयताकै बढी हो । नेपाली पर्यटन तथ्यांक अन्य मुलुकका नागरिकले भ्रमण गरेको अभिलेखका आधारमा निर्धारण हुने भए पनि यसमा आधारित अर्थतन्त्रलाई भने आन्तरिक पर्यटनले समेत थप बल दिने गरेको छ ।

पर्यटनले आय आर्जन बढाउने मात्र नभई खुसी सञ्चारको महत्त्वपूर्ण कामसमेत गर्छ जसको कहीँ अभिलेख राखिन्न । खुसी र सकारात्मक ऊर्जाको अभिवृद्धिले समाजमा पार्ने सकारात्मकताको मापन असम्भव छ । आन्तरिक पर्यटनमार्फत देशभित्र आर्थिक गतिविधिसँगै खुसी र सुखको सञ्चार गर्ने काममा नेपाली पर्यटन संस्कृति विभिन्न आयाममा फैलिएको छ । देशभित्रको पर्यटन उद्योगलाई संकटको अवस्थाबाट सम्भावनातर्फ लैजान समाजलाई नेतृत्व गर्ने र समाजको अभिभावकत्व गर्ने वर्गबाट ठीक पहल हुनुपर्छ ।

कोभिडपछि अर्थतन्त्र तहसनहस भएको र पर्यटन क्षेत्रमा निकै ठूलो असर परेको समयमा विभिन्न संघसंस्थाको पहलमा साना दूरीका पदयात्राहरू सञ्चालन भए । आन्तरिक पर्यटन स्थानीय चहलपहल र तनाव व्यवस्थापनका लागि पनि जरुरी थियो । थोरै खर्चमा हुने भएकाले पनि पदयात्रा (हाइकिङ) सजिलो, छोटो, छिटो र आनन्ददायी हुन्छ । छोटो दूरीका पदयात्राहरूले पर्यटन क्षेत्र चलायमान गराउँछन् । त्यस बेला हाइकिङबाट नेपाल सुरक्षित पर्यटन गन्तव्य रहेको सन्देश सम्प्रेषण पनि भयो ।

संसारभर हाइकिङलाई पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उपाय मानिन्छ । नेपालमा पनि पछिल्ला दिनहरूमा जहाँतहाँ पदमार्गहरू खोज्ने, प्राचीन र सांस्कृतिक तथा पुरातात्त्विक पहिचानमा आधारित मार्गहरूलाई पुनःस्थापित गर्ने र पर्यटक आकर्षित गर्ने प्रयत्नहरू भइरहेका छन् । संघीय, प्रदेश र स्थानीय सरकारका पर्यटनकेन्द्रित कामहरू पनि हाइकिङको विस्तारमा केन्द्रित छन् । हाइकिङले खोजेका नयाँ पर्यटन गन्तव्यहरू र आन्तरिक तथा बाह्य पर्यटकहरूको गाउँगाउँमा हुने चहलपहलले पर्यटनमार्फत दिगो आर्थिक विकासको सम्भावना ब्युँझाएका छन् ।

पर्यटन क्षेत्रलाई दिगो आर्थिक विकासको आधारका रूपमा लिइन्छ । पर्यटकका लागि स्वागतसत्कारमा प्रयोग हुने स्थानीय उत्पादन, उनीहरूलाई खुवाइने अर्गानिक खाना, स्थानीय समुदायको प्राचीन र मौलिक शैलीको घरबास (होमस्टे), पर्यटकले मन पराउने कोसेली, हस्तकला सामग्रीलगायत ग्रामीण र दिगो आर्थिक विकासका आधार हुन् ।

पर्यटन क्षेत्र उकास्नु र दिगो आर्थिक विकासको गति निर्धारण गर्नु अहिलेको राष्ट्रिय कर्तव्य हो । सरकार, निजी क्षेत्र, राजनीतिक दलहरू र सरोकारवाला सम्पूर्ण तहतप्काबाट त्यसका लागि वातावरण बनाउनुपर्छ । पर्यटनमैत्री नीति निर्माण गर्नुपर्छ । आवश्यक परे नियम–कानुन संशोधन गर्नुपर्छ । राजनीतिक दलहरूले पर्यटन उद्यमअनुकूल नीति र कार्यक्रमका लागि अन्तरपार्टी र सार्वजनिक बहस चलाउनुपर्छ । कोरा कुरा गर्नुभन्दा राजनीतिलाई काम, उद्यम र व्यस्ततासँग जोड्नुपर्छ । ग्रामीण अर्थतन्त्र बलियो नबनाई देश बन्दैन । ग्रामीण अर्थतन्त्र बलियो बनाउने एउटा पक्ष ग्रामीण पर्यटन नै हो । ‘ग्रामीण पर्यटन, दिगो आर्थिक अभियान’ सञ्चालन गर्नुपर्छ ।

पर्यटनमा आधारित अर्थतन्त्रमा विदेशी पर्यटकहरूको पनि विशिष्ट योगदान छ । नेपालका लागि भारतीय पर्यटकहरू आय आर्जनका पहिलो ठूलो स्रोत हुन् । त्यसपछि अमेरिका, चीन, यूके, अस्ट्रेलिया बढी पर्यटक नेपाल आउने देशका रूपमा छन् । यस्ता पर्यटकहरूलाई लक्षित गर्दै देशभित्र सांस्कृतिक, धार्मिक, पर्यापर्यटकीय महत्त्वका विषय र क्षेत्रहरूमा भौतिक निर्माण तथा प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । नेपाली आकाश सुरक्षित छ भन्ने अनुभूति गराउनेदेखि नेपालको पर्यटन क्षेत्रमा विवादमा आउने सवालहरूको सही निरूपण गर्न सक्दा संसारभर नेपालको पर्यटनबारे तीव्र प्रचार हुने निश्चित छ । फेक रेस्क्यु, विमान दुर्घटना, पर्यटकमाथि हुने हिंसा र दुर्व्यवहारका घटनाहरूले केही हदसम्म गएको नकारात्मक सन्देशप्रति सरकार संवेदनशील हुने हो भने पर्यटन उद्योगमार्फत अझ दिगो आय हुने निश्चित छ ।

नेपाली अर्थतन्त्रको प्राणका रूपमा रहेको ग्रामीण जनजीवनलाई ग्रामीण र दिगो अर्थोपार्जनमा केन्द्रित गराउने सम्भावना पहिचानका लागि नेकपा एमालेले मध्यपहाडी लोकमार्गको यात्रा सम्पन्न गरेपश्चात् दिगो आर्थिक विकासका लागि पर्यटनमार्फत हुन सक्ने समृद्धिका प्रयत्नहरूको खोजी भएको छ । नागरिकलाई आशा जगाउँदै समृद्धिका सम्भावना खोज्ने गरी पार्टीका विभिन्न तहका कमिटीमध्ये केहीले पर्यटन प्रवर्द्धनका उद्देश्यले मौलिक अभियान सञ्चालन पनि गरिसकेका छन् । यो प्रयास पर्यटन व्यवसाय उत्थानका लागि पनि एउटा योगदान हो । नागरिकमा पर्यटन संस्कृति स्थापित गर्ने प्रयत्न हो । यस्ता अभियानहरूलाई अझ बृहत् र राष्ट्रिय रूपमा सञ्चालन गर्नु आवश्यक छ । समृद्धिको सारथि पर्यटन क्षेत्र हो भन्ने बुझाउन जनस्तरमा गरिने प्रयत्नले नयाँ सम्भावनाको ढोका खोल्नेछ । देशभित्र पर्यटनमैत्री अभियानहरू सञ्चालन हुने हो भने विदेशी पर्यटकहरूको नेपाल बसाइ लम्बिँदै जान सक्छ । हाल विदेशी पर्यटकहरूको औसत नेपाल बसाइ दुई हप्ताको हुने गरेको छ ।

समृद्धिबारे बहस गर्नुपर्ने यो समयमा नेपालका राजनीतिक दलहरूले ग्रामीण अर्थतन्त्र चलायमान गराउन, नागरिकलाई आफ्नै थातथलोमा समृद्धिका सम्भावनाहरू खोज्नका लागि प्रेरित गर्न आपसमा प्रतिस्पर्धा गर्नुपर्छ । ग्रामीण अर्थतन्त्रको विकास र विस्तारका विकल्पहरूको पहिचान गर्न सघाउनुपर्छ । नेपालजस्तो जैविक विविधतायुक्त र बहुपारिस्थितिकीय प्रणाली भएको प्राकृतिक पर्यटनमैत्री देशमा पर्यटनलाई समृद्धिको प्रमुख स्रोतका रूपमा स्थापित गराउनुपर्छ ।

प्रकाशित : माघ १४, २०८० ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?