कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

उल्लु हुन्न उल्लु

मुसा र अन्य हानिकारक कीरा, फट्यांग्रा, सर्प, चरा र साना स्तनधारी जीव खाई लाटोकोसेरोले पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न र सनातन खाद्यचक्रलाई गतिशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

नेपाली बृहत् शब्दकोशमा उल्लुको विशेषणात्मक अर्थ उरन्ठेउलो, बदमास, मूर्ख र बेबकुफ हुने उल्लेख छ । हामी काम बिगारिरहने, भनेको कुरा ठीकसँग नबुझ्ने व्यक्तिलाई उल्लु भन्ने गर्छौं । थुप्रै लोककथा, साहित्य र उखानहरूमा पनि उल्लुलाई खराब विम्बका रूपमा प्रस्तुत गरिएको भेटिन्छ । तर, सामान्य बोलीचालीमा उल्लु भनेर चिनिने लाटोकोसेरो तथा हुचिल राति बढी सक्रिय हुने, हामीलाई काम लाग्ने सिकारी चराका प्रजाति हुन् ।

उल्लु हुन्न उल्लु

डरलाग्दो आवाज निकाल्दै राति कराउने र ठूला आँखासहितको तर्साउने अनुहार हुने ठूलो खाले लाटोकोसेरोलाई कतिपय स्थानमा भूतप्रेत पनि ठान्ने गरिन्छ । त्यसैले उल्लु शब्द र यसले प्रतिनिधित्व गर्ने चराको समूह हाम्रो समाजमा प्रिय छैन । अर्कातिर, नेपालमा चराहरूको अवैध व्यापारमध्ये लाटोकोसेरोको व्यापार सबैभन्दा बढी हुन्छ । औषधि र झारफुकको अन्धविश्वास तथा भ्रम छरेर तस्करहरूले लाटोकोसेरोको अवैध व्यापार गर्ने गर्छन् । तर लाटोकोसेरोको कुनै पनि अंगको औषधीय उपयोग र अदृश्य तान्त्रिक शक्तिबारे वैज्ञानिक आधारहरू छैनन् । यसरी आम धारणा त्यति धेरै सकारात्मक नहुनु र सबैभन्दा बढी अवैध व्यापार गरिनुले लाटोकोसेरो पछिल्ला दशकमा संकटमा पर्दै गएको विभिन्न अध्ययनले देखाएका छन् ।

‘प्रकृतिका साथीहरू’ संस्थाले ४६ जिल्लामा गरेको अध्ययनअनुसार, नेपालबाट वार्षिक कम्तीमा २ हजार लाटोकोसेराको विदेश चोरी–निकासी हुन्छ । सयौं मारिन्छन् पनि । महँगोमा बिक्री हुन्छ भन्ने लहलहैमा लागेर आफ्ना गाउँठाउँमा भेटिने लाटोकोसेरोलाई छोप्ने, घरमा पाल्ने वा बेच्न बजारबजार डुलाउने गरेको एक दशकअघिसम्म सहजै देखिन्थ्यो । राजधानी काठमाडौं आउने बसहरूका हुट र डिक्कीमा राखेर ओसारपसार गरिएका लाटोकोसेराहरू बेलाबेला बरामद हुन्थे । तर लाटोकोसेरोको बिक्री–वितरण गैरकानुनी हो भन्नेसम्म जानकारी धेरै सर्वसाधारणलाई नभएको पाइन्थ्यो ।

भारतमा हरेक वर्ष लक्ष्मीपूजामा ७०–८० हजार वटासम्म लाटोकोसेराको बलि दिने गरिएको भनी केही वर्षअघिका अध्ययन प्रतिवेदनहरूले देखाएका छन् । उक्त मागको पूर्तिका लागि पनि नेपालबाट हरेक वर्ष हजारौं लाटोकोसेरोको चोरीसिकारी हुने सहजै अनुमान गर्न सकिन्छ । अवैध व्यापारको मारमा परी नेपालका ठूला खाले लाटोकोसेराहरू हुचिल, हाप्सिलो, महाकौशिक, भासोलुक, उलुक र कालपेचक संकटापन्न भइसकेका छन् ।

बढ्दो अवैध व्यापारसँगै वनजंगलको फँडानी र खण्डीकरण, ठूला र बूढा रूखहरूको कटानी, आवास निर्माण, सहरीकरण आदिले बासस्थान विनाश, सुरक्षित आहाराको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग र मौसम परिवर्तनजस्ता कारणले गर्दा

लाटोकोसेराले थप संकट झेलिरहेका छन् । हामीले विष प्रयोग गरी मारेर खुला ठाउँमा फालेका अथवा विषादी खाएका मुसा र अन्य साना स्तनधारी जीवहरू खाँदा पनि लाटोकोसेराहरू मर्ने गर्छन् । हामीले विकास र समृद्धिको प्रतीक ठान्ने रातको झिलीमिलीले अँध्यारोमा सक्रिय हुने लाटोकोसेरोको दैनिकीमा असर गरिरहेको छ । व्यापक रूपमा विस्तारित र दिन–प्रतिदिन बढ्दै गइरहेका विद्युत् प्रसारणका संरचनाहरूमा ठोक्किएर र करेन्ट लागेर पनि लोटोकोसेराहरू मर्ने गरेका छन् । नेपालमा हालसम्म अभिलेख भएका २३ प्रजातिका लाटोकोसेरामध्ये नौ प्रजाति राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा छन् भने दुई प्रजातिबारे पछिल्लो भरपर्दो जानकारी छैन । नेपालमा लाटोकोसेराको अध्ययन तथा अनुसन्धान अत्यन्तै कम भएकाले पनि अधिकांश प्रजातिको संख्या, वितरण र संरक्षण अवस्थाबारे पर्याप्त तथ्यांक छैन ।

रूखका टोड्का, भुइँ तथा पहराहरूमा गुँड बनाउने लाटोकोसेरो नेपालमा तराईदेखि हिमालसम्म र घना जंगल, गाउँदेखि सहरमा समेत व्यापक रूपमा वितरित चराका प्रजाति हुन् । लाटोकोसेरोको शरीर अत्यन्तै हलुका तथा नरम भुवाले ढाकेको हुनाले उड्दाखेरि आवाज आउँदैन, जसले यिनीहरूलाई सिकार गर्न सजिलो बनाएको छ । टाउकोलाई एकापट्टि मात्रै पनि २७० डिग्रीसम्म घुमाउन सक्ने हुँदा लाटोकोसेरोले अघि, पछि, दायाँ, बायाँ चारै दिशा देख्न सक्छ । लाटोकोसेरोको मुख्य आहारा मुसा हो । मुसाको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकाले लाटोकोसेरोलाई ‘किसानको साथी’ भनिन्छ ।

गोठे लाटोकोसेरोको एउटा परिवारले एक प्रजनन अवधिमा करिब ३ हजार मुसा खाने अध्ययनहरूले देखाएका छन् । अन्य हानिकारक कीरा, फट्यांग्रा, सर्प, चरा र साना स्तनधारी जीवलाई आहारा बनाई लाटोकोसेरोले पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न र सनातन खाद्यचक्रलाई गतिशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । लाटोकोसेरोलाई वातावरणीय सन्तुलनको सूचकका रूपमा पनि लिइन्छ । लाटोकोसेरो बेवास्ता र चोरीसिकारका कारण तीव्र दरमा घट्दै गएको भए पनि अध्ययन र संरक्षणको कुनै पहल गरिएको थिएन । सन् २००८ मा मुस्ताङमा लाटोकोसेरोको सर्वेक्षणमा सहभागी भएपछि राजु आचार्यलाई यस पन्छीप्रति चासो बढ्यो । लाटोकोसेरोको तस्करी अनुमान गरेभन्दा ठूलो संख्यामा भइरहेको र स्थानीय बासिन्दाहरू नै परिचालित भएको थाहा पाएपछि आचार्य र उनको संस्था ‘प्रकृतिका साथीहरू’ ले संरक्षणका लागि

‘लाटोकोसेरो तथा हुचिल उत्सव’ एउटा साध्य हुन सक्ने परिकल्पना गरे । लाटोकोसेरो तथा हुचिल र तिनको बासस्थान संरक्षण तथा चोरीसिकार रोक्नका लागि स्थानीय समुदाय र सरोकारवाला निकायहरूलाई सुसूचित र संरक्षणमा जागरुक बनाउनु यस उत्सवको लक्ष्य बन्यो । हरेक वर्ष फरक–फरक जिल्लामा आयोजना हुने त्यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ, स्याङ्जा र कैलालीपछि यही माघ १९ र २० गते पर्वतको जलजला गाउँपालिका–५, लेखफाँट, लोप्रेमा हुँदै छ ।

उक्त उत्सवका माध्यमले पनि समुदाय, सुरक्षा निकाय र अन्य सरोकारवाला सजग र सुसूचित भइदिनाले पछिल्ला वर्षहरूमा नेपालमा लाटोकोसेरो छोप्ने र बजारबजार डुलाउनेजस्ता घटना विरल बन्दै गएका छन् । सुरक्षा निकाय तथा वन र निकुञ्जका कर्मचारीहरूले लाटोकोसेरो ओसारपसारमा कडा निगरानी र नियन्त्रण गर्दै आएका छन् । लाटोकोसेरोको व्यापार वा सिकार गरे २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागले दसवर्षे लाटोकोसेरो तथा हुचिल संरक्षण कार्ययोजना (सन् २०२०–२९) लागू गरेका छन् । यस कार्ययोजनाले लाटोकोसेरोको बासस्थान सुधार, वैज्ञानिक अनुसन्धान, अवैध चोरीसिकार नियन्त्रण, सरोकारवालाको क्षमता अभिवृद्धि र स्थानीय–राष्ट्रिय–अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राखेको छ । तर मूलतः बजेट अभावमा यस कार्ययोजनाले तय गरेका क्रियाकलापहरूको अक्षरशः कार्यान्वयन भने हुन सकेको छैन ।

लाटोकोसेरो जस्ता वन्यजन्तुको संरक्षण, तिनको बासस्थान व्यवस्थापन र समग्रमा पर्यावरणीय स्रोतको दिगो उपयोगमा जनचासो, जनसहभागिता र अपनत्व अपरिहार्य छ ।

-भुसाल चरा र तिनको बासस्थानको अध्ययन, अनुसन्धान र संरक्षणमा क्रियाशील छन् ।

प्रकाशित : माघ १४, २०८० ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?