२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

‘मेरो मास्कले तिमीलाई सुरक्षा दिन्छ, तिम्रो मास्कले मलाई’

विभिन्न अस्पताल, सीमानाका, स्थान र उमेर समूहबाट लिइएका १६ नमुनालाई पुस २२ मा जिनोम सिक्वेन्सिङ गर्दा ७ वटामा जेएन१ पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि विज्ञहरूले सचेत तुल्याउँदै भनेका छन्— लक्षण देखिनेबित्तिकै स्वास्थ्य सचेतना अपनाऔं र रुघाखोकी, ज्वरो छ भने मास्क लगाऔं, आइसोलेसनमा बसौं, अरूलाई बचाउन खोजौं तथा लक्षण सुरु भएको ४८ घण्टापछि एन्टिजेन जाँच गराऔं । 

‘मेरो मास्कले तिमीलाई सुरक्षा दिन्छ, तिम्रो मास्कले मलाई’

नेपालमा हालसम्म साढे ११ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ, १.२ प्रतिशत अर्थात् १२ हजार २० जनाको निधन भएको छ । तथापि हालसम्म सामान्य ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने लाग्नेजस्ता लक्षण मात्र देखिएका छन् । खोक्दा, हाच्छ्युँ गर्दा निस्केका छिटाहरूबाटै भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । अहिले देखिएको जेएन१ सब भेरिएन्ट भाइरस छिटो फैलिए पनि यसले नेपालमा मानव स्वास्थ्यमा गम्भीर हानि पुर्‍याएको छैन ।

डब्लूएचओले ओमिक्रोनको नयाँ सब भेरिएन्टबाट गत डिसेम्बरभरिमा १० हजार कोभिडका बिरामीको मृत्यृ भएको जनाएको छ । संक्रमणको फैलावट भएका ५० देशमध्ये अमेरिका र युरोपमा अस्पताल भर्ना ४२ प्रतिशतले बढेको छ । डब्लूएचओले पनि कम घातक वर्गमा राखेर यसलाई चासोको भेरिएन्ट भनेको छ ।

२०२३ अगस्टमा पहिलोपटक अमेरिकामा पत्ता लागेको जेएन१ ओमिक्रोनको अठारौं सब भेरिएन्ट हो । जेएन१ को संक्रमण ४४ औं हप्तामा ३.३ प्रतिशत रहेकामा ४८ औं हप्तामा २७.१ प्रतिशत पुगेको छ । मूल वंश ओमिक्रोनको संक्रमण भने ४.४ प्रतिशतबाट ५.९ प्रतिशतमा उक्लेको छ । विशेषतः क्यानडा, फ्रान्स, सिंगापुर, स्विडेन, बेलायत, अमेरिकालगायतमा प्रमुख रूपमा फैलिएको छ । कुल श्वास–प्रश्वासजन्य संक्रमणको २७ प्रतिशत जेएन१ का कारणले भएको पाइएको छ ।

हालसम्म उपलब्ध तथ्यांकका आधारमा डब्लूएचओले जेएन१ ले निम्त्याउने विश्वव्यापी जनस्वास्थ्य जोखिम न्यून रहेको जनाएको छ । तथापि तीव्र वृद्धिका कारण डिसेम्बर १८, २०२३ मा चासोको भेरिएन्ट (भेरिएन्ट अफ इन्ट्रेस्ट) का रूपमा यसलाई राखेको छ । हाल उपलब्ध भएका कोभिडविरुद्धका खोपहरू सार्स कोभ२ का अन्य भेरिएन्ट र जेएन१ विरुद्ध सुरक्षामा प्रभावकारी रहेको पाइएको छ ।

खोपले जटिलताबाट जोगाउँछ

नेपालमा हालसम्म कुल जनसंख्याको ८४ प्रतिशतले पूर्ण र ९६ प्रतिशतले एक मात्रा खोप लिएका छन् । पहिलो बुस्टर मात्रा लगाउने १ करोड ९६ हजार र दोस्रो बुस्टर लगाउने १३ लाख १७ हजार छन् । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग साढे ७ लाख मात्रा खोप भण्डारणमा छ । २५ लाख ल्याइँदै छ । कोरोनाविरुद्ध खोप लगाएका व्यक्तिलाई जेएन१ ले खासै प्रभाव नपार्ने बताइएको छ । तथापि जोखिम वर्गहरूमा संक्रमण हुने, घातक हुने सम्भावना भएकाले जनस्वास्थ्य मापदण्ड पालनामा सतर्कता अपनाउनुपर्छ । जेएन१ संक्रमणबाट पहिलेजस्तो अस्पताल भर्ना, कडा लक्षण र बढी मृत्यु नभए पनि सर्ने दर उच्च छ ।

महामारी नयाँ चरणमा प्रवेश गर्दै जाँदा लक्षण सुरु भएपछि भाइरस एन्टिजेन जाँचमा देखिन लाग्ने समय झन् ढिलो हुँदै छ । लक्षणबिनाका संक्रमितको संख्या पनि बढ्दै छ । जटिलता नदेखिएला भन्ने अनुमान गरे पनि लक्षण सुरु भएको ८–१० दिनसम्म पल्स अक्सिमिटरले रगतको अक्सिजनको मात्राको निगरानी गर्नुपर्छ । जोखिम समूहमा संक्रमण देखिए विज्ञसँग परामर्श लिनुपर्छ ।

मास्कको महत्त्व

कोरोना महामारीअघि काठमाडौंमा धूलोधूवाँबाट जोगिन हरेक दसमा तीन जनाले मास्क लगाउने गर्थे । कोरोनाको उच्चतम संक्रमणको अवस्थामा समेत मास्क लगाउने ७२.१ प्रतिशतले सही विधि पालना गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एउटा अध्ययनमा देखिएको थियो । सार्वजनिक स्थानमा मास्क नाकमुनि वा चिउँडोमा सार्ने, घाँटी वा हातमा झुन्ड्याउने, मास्कको कडा भागलाई नाकको आकारमा नथिची लगाउनेहरू २७.३४ प्रतिशत भेटिएका थिए । संक्रमण नै घटेका बेला मास्क लगाउने, तिनमा पनि उचित तरिकाले लगाउने नगण्य नै थिए ।

अमेरिकाको सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले कोरोना भाइरस नियन्त्रणका लागि खोपभन्दा मास्कको उचित प्रयोग बढी सुरक्षित र प्रभावकारी हुने बताएका थिए । बीएमजी ग्लोबल हेल्थमा प्रकाशित अध्ययनमा कामको समयमा मास्क प्रयोग गर्दा संक्रमण निकै कम पाइएको छ । चीनको बेइजिङमा घरायसी काम गर्दा मास्क प्रयोग गर्नेहरूबीच गरिएको खोजमा महामारी पहिलेदेखि नै मास्क लगाउनेहरूमा संक्रमण ७९ प्रतिशत कम देखिएको थियो । आईजेडीएले जर्मनीका केही क्षेत्रमा गरेको अर्को अध्ययनमा मास्क अनिवार्य गरिएका १० दिनमा संक्रमणको दर २.३ देखि १३ प्रतिशतसम्म घटेको पाइएको थियो । संक्रमितले बोल्दा मुखबाट निस्किने ससाना छिटाबाट भाइरस अर्को व्यक्तिमा सजिलै सर्ने सम्भावना बढी हुने सीडीसीको भनाइ छ । कम्तीमा ६ फिटको दूरीमा बस्नुपर्छ, मास्क लगाएर मात्र एकअर्कासँग कुराकानी गर्नुपर्छ । गुणस्तरीय मास्कको प्रयोगबाट वायुलगायतका प्रदूषण पनि ८० प्रतिशतसम्म छल्न सकिन्छ ।

वैज्ञानिक आधारअनुसार, कुनै खोपले सतप्रतिशत जोखिम रोक्दैन तर संक्रमणको जोखिम विस्तारै घट्दै जान्छ । भीडमा जोखिम समूह र खोप नलगाएका पनि प्रशस्तै हुन सक्छन् । सबैको परीक्षण गर्न सम्भव हुँदैन । लक्षणविहीन संक्रमितहरूको परीक्षण नभएको र खोप लगाएकामा एन्टिबडी नबनेको पनि हुन सक्छ । त्यसैले कम्तीमा प्रदूषण, श्वास–प्रश्वासजन्य, ब्याक्टेरियल, भाइरल संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । भौतिक दूरी, हातको सरसफाइ र मास्कको उचित प्रयोग नै सबैभन्दा उत्तम विकल्प हो । ‘मेरो मास्कले तिमीलाई सुरक्षा दिन्छ, तिम्रो मास्कले मलाई’ भन्ने नीति अवलम्बन गर्नुपर्छ ।

जनस्वास्थ्यका मापदण्ड पालना

कोभिडविरुद्धको खोप तथा खोपको पहिलो बुस्टर मात्रा लक्षित वर्ग सबैले लगाउनु जति जरुरी छ, त्यति नै दोस्रो बुस्टर मात्रासमेत खोप सल्लाहकार समितिले सिफारिस गरेका जोखिम समूहलाई लगाउन अत्यावश्यक छ । खोप लगाए पनि, दायरा सतप्रतिशत बने पनि विशेषतः फ्रन्टलाइनर, स्वास्थ्यकर्मी, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी, बालबालिका र खोप नलगाएकाहरू संक्रमणमा बढी प्रभावित हुने देखिएकाले र जोखिममा रहेकाले उनीहरूले विशेष सावधानी र ध्यान दिनुपर्छ ।

कामको सिलसिलामा बाहिर जाने परिवारका सदस्यले घरमै बस्ने ज्येष्ठ नागरिकमा संक्रमण सार्न सक्छन् । त्यसैले जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिनुपर्छ । सरकारद्वारा सीमानाकामा सबैको स्वास्थ्य तथा कोरोना परीक्षण गर्नुपर्छ । होम तथा संस्थागत क्वारेन्टिन र आइसोलेसनको व्यवस्था र निगरानी, स्वास्थ्य संस्था तथा जनशक्तिलाई तयारीको अवस्थामा राख्नुपर्छ । कोरोनाविरुद्ध खोप लगाएका व्यक्तिलाई जेएन१ ले खासै प्रभाव नपार्ने बताइएको छ । तथापि जोखिम वर्गहरूमा संक्रमण भई घातक हुने सम्भावना भएकाले जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । लापरबाहीले संक्रमण उकालो लाग्न सक्छ । संक्रमणको विस्तार जोखिम वर्ग र समूहका लागि घातक बन्न सक्छ ।

-बुढाथोकी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन् ।

प्रकाशित : माघ ९, २०८० ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?