के अर्को विश्व सम्भव छ ?

जनआन्दोलन–२०६२/६३ लगत्तै हामीले अत्यन्त धेरै प्रयोग गरेको शब्द हो- ‘नयाँ नेपाल’ । तर यो शब्द अहिले अर्थहीन भएको छ । बरु उल्टो हामी असफलता र निराशामा फसेका छौं ।
केशव दाहाल

सन् २००४ अर्थात् झन्डै बीस वर्षअगाडिको कुरा हो । त्यो वर्ष, हामी दर्जनौं राजनीतिक तथा सामाजिक कार्यकर्ता नेपालबाट विश्व सामाजिक मञ्च, मुम्बईमा सहभागी हुन पुगेका थियौं, जहाँ झन्डै सय देशका हजारौं अभियन्ता उपस्थित थिए । दर्जनौं विचार मन्थन, प्रदर्शन, झाँकी, सांगीतिक कार्यक्रम, नाटक, चलचित्र ।

के अर्को विश्व सम्भव छ ?

मैले त्यहाँ एकै पटक संसारका अनेक आन्दोलन, प्रतिरोध र संघर्षबारे थाहा पाएँ । लाग्यो, मुम्बईमा अफ्रिकाको गरिबी, मध्यपूर्वको द्वन्द्व, युरोपको आप्रवासन र एसियाको पछौटेपन एकसाथ न्याय माग्दै चिच्याइरहेका छन् । कतै आदिवासीहरू जल, जंगल र जमिन मागिरहेका भेटिन्थे, कतै किसानहरू जमिन, बीउ, मल र बजार, जो मल्टिनेसनल कम्पनीसँग आक्रोशित थिए र आक्रोशित थिए नाफाखोर पुँजीवादसँग । कतै देखिन्थ्यो, जलवायु परिवर्तन र पर्यावरणको संकट त कतै सुनिन्थ्यो अनिकालको कहालीलाग्दो चिच्याहट । कतै प्यालेस्टाइनी युवा आफ्नो हिस्साको जमिन मागिरहेको देखिन्थ्यो त कतै सुनिन्थे तानाशाहीविरोधी प्रतिरोधका स्वर । कतै युद्धविरोधी आवाज, कतै शान्तिको प्रार्थना । त्यो समय मैले पढेका किताब, विश्वविद्यालयको ज्ञान र पार्टी प्रशिक्षणभन्दा त्यहाँको संसार निकै भिन्न थियो ।

त्यो यस्तो समय थियो, भर्खर २१ औं शताब्दी सुरु हुँदै थियो । संसारका अनेक समाजवादी सत्ता भत्किएका थिए । द्विध्रुवीय विश्व बहुध्रुवतिर जाँदै थियो तर अविश्वास चर्को थियो । मान्छे नयाँनयाँ कष्टको फन्दामा पर्दै थिए र गरिबीको माखेसाङ्लो कसिँदै थियो । विश्वभर एड्सको आतंक थियो । महिला, लैंगिक अल्पसंख्यक र आदिवासीहरू अधिकार माग्दै लडिरहेका थिए । जल, जमिन र जंगलको मुद्दा प्रखर बन्दै थियो । ठूला परियोजना र कम्पनी जमिन कब्जा गर्दै थिए र किसान विस्थापित हुँदै थिए । धनी देशले गरिब देशलाई उपहारमा ऋण पठाएर फन्दामा पार्दै थिए । तर सुखद कुरा के भने, मानव अधिकार र लोकतन्त्र विश्वव्यापी बन्दै थियो । मान्छेहरू लोकतन्त्रको लोकतन्त्रीकरणका लागि बहस गर्दै थिए । २१ औं शताब्दीमा संसारको चासो कता ‘सिफ्ट’ हुँदै छ भन्ने थाहा पाउन त्यो मञ्च मेरा लागि निकै महत्त्वपूर्ण बन्यो । मुम्बईबाट फर्किंदै गर्दा मलाई लाग्यो, संसारभरका मान्छेहरू नयाँ युगको प्रतीक्षामा छन् । यस्तो युग, जसको मुख्य मुद्दा हुनेछ, मान्छेको गरिमा, स्वाभिमान र समृद्धि । लोकतन्त्रको लोकतन्त्रीकरण । मानवतावाद । मलाई लाग्यो, २१औं शताब्दी नयाँ विचारको शताब्दी हुनेछ । नयाँ सपनाको शताब्दी हुनेछ ।

यहाँ यो प्रसंग यसकारण उठाइरहेको छु, आगामी फागुनमा (३ देखि ७ गते) विश्व सामाजिक मञ्च काठमाडौंमा आयोजना हुँदै छ, जहाँ संसारभरका लगभग सय देशका युवा, महिला, दलित, आदिवासी, किसान, मजुदरलगायत अनेक आन्दोलनका प्रतिनिधि भेला हुनेछन् । त्यो कार्यक्रम यसकारण महत्त्वपूर्ण हुनेछ, संसारभर चलेका राजनीतिक र सामाजिक आन्दोलनका पछिल्ला प्रवृत्ति, नारा र सपनाहरू काठमाडौंमा सुनिनेछन् । किनभने त्यहाँ हुनेछ, संसारभर बढ्दो आर्थिक असमानता र गरिबीको कुरा । युद्धबाट उजाडिएका परिवार र समाजको कुरा । सत्तासँग जुधेर न्याय मागिरहेका मान्छेका कुरा । अवश्य नै त्यहाँ वर्ग, जात, धर्म, लिंग र रंगका नाममा निर्माण भएका कुरूपताहरूको कुरा हुनेछ । साथसाथै त्यहाँ हुनेछ, चर्को बेरोजगारी, आप्रवासन, रोग र भोकको कुरा । जलवायु परिवर्तन, पर्यावरण संकट र हिमाली सभ्यताको कुरा त त्यहाँ हुने नै छ, त्यसैगरी हुनेछ युद्धको अन्त्य र शान्तिको कुरा । मुख्यतः त्यहाँ गरिनेछ— ‘नयाँ विश्वको परिकल्पना’ । यस्तो विश्व जहाँ सबै कुरा सुखद हुनेछन् र सुखदबाहेक केही पनि हुने छैन । नेपालका आयोजकहरूले राम्रोसँग तयारी गर्ने हो भने, त्यो मञ्चमार्फत हाम्रो सामाजिक तथा राजनीतिक आन्दोलनको वैचारिकी, भविष्यदृष्टि र समय चेतनाको अन्तर्राष्ट्रियकरण हुनेछ । त्यो हाम्रा लागि निकै महत्त्वपूर्ण कुरा हो ।

आलोचना र प्रश्न

विश्व सामाजिक मञ्च सन् २००१ मा ब्राजिलमा सुरु भएको नागरिक अभियान हो । नवउदारवाद, पुँजीवाद र वर्चस्ववादविरोधी मञ्चका रूपमा स्थापित यसको मुख्य नारा छ— ‘अर्को विश्व सम्भव छ’ । त्यसो त मञ्चमाथि काफी आलोचना छन् । मुख्यतः यसलाई गैससहरूबाट प्रायोजित कुम्भमेला भन्नेहरू धेरै छन् । उनीहरूको आरोप छ, यसमा समस्याको कुरा त हुन्छ, तर योसँग कुनै नयाँ राजनीतिक विकल्प छैन । त्यसैले होला, आलोचकहरू यसलाई दाताको लगानीमा आयोजना हुने मध्यमवर्गीय रोमाञ्चकता भनेर खिसी गर्दछन् । उनीहरूको आरोप छ, ‘आम रूपमा मध्यम वर्गले गर्ने नै पुँजीवादको सेवा हो र यो कार्यक्रमले पनि गर्ने त्यही नै हो, जे अन्तर्राष्ट्रिय दाताहरू चाहन्छन् ।’ उनीहरूको प्रश्न छ, ‘के यसले व्यापक, सुदृढ र एकताबद्ध विश्व नागरिक आन्दोलनको रचना गर्न सक्छ, जसले संसारलाई बदल्ने तागत राखोस् ?’ अन्यथा, उनीहरूको आरोप छ, ‘यो परियोजना हो र परियोजनाले परिवर्तन गर्दैन ।’

यसका आयोजकहरू, मञ्चले राजनीति र समाजलाई बदल्न वैकल्पिक मुद्दा र दृष्टिकोण निर्माण गर्ने ठान्छन् । उनीहरूका विचारमा, विश्व सामाजिक मञ्च एउटा ऐक्यबद्धता मञ्च हो, स्वयं राजनीतिक आन्दोलन होइन । कतिपय भने यो मञ्चलाई ‘समाजवादी पुस्ताको अन्तिम जमघट’ भनेर समेत आलोचना गर्छन् । तर यसका समर्थक भने, यसलाई नागरिक आवाज बोल्ने विश्वकै एक सशक्त मञ्च मान्छन् । उनीहरूको मत छ, ‘विश्व सामाजिक मञ्चको अवमूल्यन गर्नु यथास्थितिलाई स्वीकार गर्नु हो । आलोचक र आयोजकबीच यही फरक छ कि आयोजकहरू संसार बदल्न चाहन्छन् । आलोचकहरू भने फगत आलोचना गरिरहेका छन् ।’

अर्को विश्वको सपना

विश्व सामाजिक मञ्चले भनेझैं, के अर्को विश्व सम्भव छ ? अर्को विश्व भनेको के हो ? आयोजकमध्येका एक नेत्र तिम्सिना भन्छन्, ‘यो कुनै अलग ग्रहको परिकल्पना होइन । बरु यो हो, पृथ्वीलाई सुन्दर बनाउने सपना ।’ यस्तो बेला नेपालमा विश्व सामाजिक मञ्चको आयोजना हुँदै छ, जति बेला गाजा र युक्रेनको माटोमा रगतको होली खेलिँदै छ । धनी देशहरू आफ्नो वर्चस्वका लागि रणनीतिक लगानीका नाममा ऋणको पासो बुनिरहेका छन् । इतिहासमै पहिलोपटक असंलग्न आन्दोलनको औचित्यमाथि प्रश्नहरू उठेका छन् । जलवायु परिवर्तन, पर्यावरणीय संकट, खाद्य असुरक्षा र महामारी बढ्दो छ ।

संसारभर फैलिएको गरिबी, विभेद र द्वन्द्वले शताब्दीलाई नै गिज्याइरहेको छ । दक्षिणपन्थी अतिवाद र लोकरिझ्याइँले विश्वभर लोकतन्त्रलाई जिस्क्याउँदै छ । आर्टिफिसियल इन्टेलिजेन्सले मान्छेको क्षमता र मानवीय संवेदनामाथि धावा बोलिरहेको छ । तर नाफाखोरहरू विश्वव्यापी संकटलाई नै बेचेर सम्पत्ति थुपारिरहेका छन् । युद्ध र आप्रवासन बढ्दै छ । गाउँबाट सहरतिर हुने आन्तरिक आप्रवासन अहिले गरिब देशबाट विकसित देशतिर सरिरहेको छ । यसको प्रभाव अबका ५० वर्षमा कस्तो होला ? विश्वका सीमित मानिसका हातमा जसरी धन, प्रविधि र शक्ति केन्द्रित छ, त्यसले अबका ५० वर्षपछि सीमान्त मान्छेको जीवनलाई कस्तो बनाउला ? यस्तै भइरह्यो भने के विश्वमा मानवता, भ्रातृत्व र समभाव रहला ? भोका मान्छेको गाँस खोसिरहने हो भने संसार कसरी शान्त रहला ?

विचार गरौं, किन हाम्रो संसार सबैका लागि बस्न योग्य छैन ? किनभने अहिले विश्वले अवलम्बन गरिरहेको आर्थिक, सामाजिक र राजनीतिक सिद्धान्तमा खोट छ त्यसैले । यसको अर्थ हुन्छ— नव–उदारवादी पुँजीवादको संकट । जतिसुकै विकल्पहीन भने पनि, आज पुँजीवाद, विश्वव्यापीकरण र नवउदारवादले विश्वका आधाभन्दा धेरै मान्छेलाई न्याय गर्न सकेको छैन । त्यसैले मान्छेहरू विकल्पको खोजीमा छन् । सरल भाषामा भन्दा, उनीहरू यस्तो पृथ्वी चाहन्छन् जहाँ डुंगा डुबेर फेरि पनि कुनै आप्रवासी मर्नेछैन । जहाँ मध्यरातमा आमाको काखमा मिसाइल खस्नेछैन । जहाँ कुनै एउटा देशको दादागिरी चल्नेछैन र सहअस्तित्व प्रखर हुनेछ । जहाँ मानवता र शान्तिको संगीत सर्वत्र गुन्जनेछ । जहाँ शासकहरूको अहंकारलाई लोकतन्त्रले परास्त गर्नेछ । यस्तो संसार जहाँ बसेर गर्वसाथ भन्न सकिनेछ, हाम्रो संसार ब्रह्माण्डकै उत्कृष्ट संसार हो । योभन्दा सुन्दर, सभ्य र बस्नयोग्य धर्ती यो ब्रह्माण्डमा अन्त कतै छैन । यस्तो संसार जहाँ मानव गरिमा, स्वतन्त्रता, स्वाभिमान र समृद्धिको स्थान सबैभन्दा उच्च हुनेछ ।

के विश्व सामाजिक मञ्चले यावत् विकल्पका लागि ठोस बहस गर्ला ? के विश्व सामाजिक मञ्चले ठीक वैचारिकी निर्माण गर्ला, जसले अर्को विश्व सम्भव बनाओस् ? सुन्दर, शान्त र न्यायपूर्ण विश्व निर्माणका लागि यसले बनाउने रणनीति कस्तो होला ? आज जसरी विश्वभरका शासकहरू एक ठाउँ उभिएर आफ्नो सत्ताको हिसाबकिताब गर्दै छन्, त्यसरी नै विश्वभरका नागरिक पनि एक ठाउँ उभिन आवश्यक छ । के विश्व सामाजिक मञ्चले त्यो आवश्यकता पूरा गर्ला ?

अर्को नेपालको कुरा

‘अर्को विश्व सम्भव छ’ भन्ने नारामा विचार गरिरहँदा, स्वभावतः हाम्रो मनमा प्रश्न आउँछ— के अर्को नेपाल सम्भव छ ? अर्को नेपाल अर्थात् नयाँ नेपाल । जनआन्दोलन–२०६२/६३ लगत्तै हामीले अत्यन्त धेरै प्रयोग गरेको शब्द हो— ‘नयाँ नेपाल’ । तर यो शब्द अहिले अर्थहीन भएको छ । बरु उल्टो हामी असफलता र निराशामा फसेका छौं ।

कस्तो छ आजको नेपाल ? आज हामी गरिबी, असमानता र दिशाहिनतामा फसेका छौं । एकातिर भ्रष्टाचार तीव्र छ, अर्कातिर भुइँमान्छेहरू जीविकाको कष्टमा छन् ।

इकोनोमिक्स सर्भे (सन् २०२२/२३) अनुसार, नेपालमा अझै १५.१ प्रतिशत मान्छेहरू गरिबीको रेखामुनि छन् । अर्थात्, ४५ लाख मान्छे अझै खाना, नाना र छानाको सकसमा छन् । जो दैनिक १.९० अमेरिकी डलरभन्दा कम कमाउँछन् । नेपालमा अझै १५ लाख मान्छे बिजुलीको पहुँचबाहिर छन् । सन् २०१६ मा गरिएको खाद्य सुरक्षासम्बन्धी सर्वेक्षणअनुसार, नेपालमा अझै ४६ लाख मान्छे खाद्य सुरक्षाको जोखिममा छन् । हाम्रोमा लगभग १० लाख बालबालिका अझै निकृष्ट श्रममा छन् । ४० प्रतिशत नागरिकलाई अझै स्वास्थ्य सेवा सर्वसुलभ छैन । वार्षिक १० लाख मान्छे कामको खोजीमा भारत र अन्य देश जान्छन् । हाम्रा युवा भाडाको सिपाही बनेर मरिरहेका छन् । रुस, युक्रेन, इजरायल र गाजा त पछिल्ला उदाहरण मात्र हुन् । देशमा रोजगारी छैन । विकास धिमा छ । विभेद चर्को छ । भ्रष्टाचार तीव्र छ । राष्ट्र निर्माणको काम अधुरै छ । राज्य न्यायपूर्ण, समावेशी र लोकतान्त्रिक छैन ।

के यस्तै देश हो हामीले बनाउन खोजेको ? हामीले बनाउन चाहेको हो— ‘न्यायपूर्ण र समृद्ध नेपाल । लोकतान्त्रिक, समतामूलक, समावेशी नेपाल । भ्रष्टाचारमुक्त नेपाल ।’ सरल भाषामा भन्दा, यस्तो नेपाल, जहाँ कोही भोको नहोस् । कोही नांगो नहोस् । कोही घरबारविहीन नहोस् । सबैले काम पाऊन् । जात, धर्म, वर्ण, लिंग, क्षेत्रका कारण कसैले पछाडि बस्न नपरोस् । सबैलाई स्वतन्त्रता र स्वाभिमान मिलोस् । के यी प्राप्त गर्नै नसकिने कोरा सपना हुन् ? होइनन् । तर त्यसका लागि हामीले नयाँ संकल्प गर्नुपर्छ । संकल्प गर्नुपर्छ, राजनीति, पार्टी, नेतृत्व, राजकाज र राज्यको चरित्र फेर्ने । अन्यथा, सबै कुरा पुरानै राखेर नयाँ नेपाल कसरी बन्छ ?

शासकहरू भन्छन्, सबै कुरा ठीकठाक छ । शासकहरूले भनेको ठीकठाक के हो ? सिंहदरबारको रंग हेरेर उनीहरूले ठीकठाक भनेका हुन् कि गरिबका झुप्रा ? आफू सवार हुने चिल्ला गाडी हेरेर उनीहरूले ठीकठाक भनेका हुन् कि शीतले खाएका खाली खुट्टा देखेर ? उनीहरूले आफ्नो भान्सा हेरेर ठीकठाक भनेका हुन् कि नागरिकको चिसो चुलो देखेर ? किनभने ठीकठाक आफैंमा विरोधाभास हो । सुन्दरता आफैंमा विरोधाभास हो । ठीकठाक आफैंमा पक्षपाती हुन्छ । सुन्दरता आफैंमा विभेदकारी हुन्छ । जब सत्तामा बस्नेलाई भुइँको धूलो, मैलो र पसिना गन्हाउँछ, त्यसपछि उसले देख्ने ठीकठाक र भुइँले देख्ने ठीकठाक फरक हुन्छ । र, त्यो फरकलाई जस्ताको तस्तै राखेर नयाँ नेपाल किमार्थ बन्दैन ।

अन्त्यमा, थप केही प्रश्न गरौं । के हाम्रो सामाजिक र राजनीतिक आन्दोलनसँग नयाँ नेपाल बनाउने सपना छ ? कि यो ऐतिहासिक असफलताको फगत साक्षी मात्र हो ? के हाम्रो सामाजिक र राजनीतिक आन्दोलनसँग समृद्ध, लोकतान्त्रिक र समावेशी नेपाल बनाउने वैचारिकी छ ? कि यो सनातनी वर्चस्ववाद र भ्रष्टाचारको मूकदर्शक मात्र हो ? किनभने हामीलाई विकल्प चाहिएको छ । यस्तो विकल्प, जसले साँचो अर्थमा लोकतान्त्रिक, न्यायपूर्ण, समावेशी र समृद्ध नेपाल बनाउने तागत राखोस् । प्रश्नहरू त मात्र सुरुआत हुन्, जसले उत्तरको प्रतीक्षा गरिरहेका हुन्छन् । के विश्व सामाजिक मञ्च, विश्वको पछिल्लो नागरिक आन्दोलन र स्वयं हाम्रो नागरिक तप्का आफूमाथि सोधिएका यावत् प्रश्नहरूप्रति इमानदार छन् ?

प्रकाशित : माघ ९, २०८० ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?