३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

दलका दम्भी नेताको  ‘एलिट क्लब’ मा बन्धक प्रणाली

टिकटक बन्द विरोधको सामना प्रतिपक्षले गर्ने, टीआरसीमा नेतृत्वको स्वविवेक, तल्ला सरकारहरूको संवैधानिक अधिकार दिन्ना नभन्ने तर नदिने नेतृत्वको संकीर्णतालाई हेर्दा नीति निर्माण तीन शीर्ष नेताको छायामा चलिरहेको देखियो । सत्तापक्ष र प्रतिपक्ष भन्ने नै देखिएन ।
रामप्रसाद दाहाल

समाजमा उत्पन्न समस्याहरू समाधान गर्न सरकारले गर्ने कार्यको विवरण वा राज्य सञ्चालनको लिखित दस्ताबेजलाई सार्वजनिक नीति भनिन्छ । संविधान, ऐन, नियमावली, नीति–नियम, निर्देशिका, आदेश, सर्कुलर, सार्वजनिक निकायले गर्ने निर्णयहरू सार्वजनिक नीतिका अंश हुन् ।

दलका दम्भी नेताको  ‘एलिट क्लब’ मा बन्धक प्रणाली

नागरिक अधिकार, विकास निर्माण, सुशासन, सार्वजनिक सेवा प्रवाह, जनकल्याण आदि उद्देश्य लिने वैधानिक दस्ताबेज भएकाले सार्वजनिक नीति आम (आन्तरिक र कतिपय अवस्थामा बाह्य) चासो र महत्त्वको विषय बन्ने गर्छ ।

नीति निर्माणमा निश्चित विधि–प्रक्रिया अपनाइन्छ, मुलुकको शासन प्रणालीको सोझो अनुहार सार्वजनिक नीति निर्माणमा प्रतिविम्बित हुन्छ । बदलिँदो विश्वपरिवेशमा सार्वजनिक नीति निर्माणका आदर्श, सिद्धान्त, मूल्य–मान्यता र व्यवहारहरू परिवर्तन हुँदै गएका छन् । सामान्यतः लोकतान्त्रिक मुलुकमा व्यापक जनसहभागिता र तथ्य–प्रमाणमा आधारित सार्वजनिक नीति निर्माणले अधिक स्थान पाउँछ ।

नेपालमा भने सार्वजनिक नीति निर्माणमा जनसहभागिता र तथ्य–प्रमाणलाई बेवास्ता गर्ने संस्कार नै बन्न थालेको प्रतीत हुन्छ । नीति मस्यौदा गर्ने राज्य संरचना छन्, विधि निर्माण गर्ने थलो संसद् छ, तर पछिल्लो समय ती संरचना छलेर सीमित व्यक्तिको इसारा/चाहनामा नीति निर्माण हुने डरलाग्दो अवस्था आएको छ, जसले गर्दा हाम्रो शासन व्यवस्था नै सानो समूहको कब्जामा गएजस्तो देखिँदै छ ।

उदाहरण–१

मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय लियो । सामाजिक सञ्जाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विषय हो । मन्त्रालयले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका–२०८० को मस्यौदा गरिरहेको थियो । टिकटकलाई पनि त्यसैको अंग बनाउन खोजिएको थियो । तर, बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच एउटा छलफल भयो । ओलीले टिकटक नियमन होइन, बन्द गरौं भन्ने प्रस्ताव गर्नुभयो, प्रचण्ड र देउवाले विरोध हुन सक्ने त्रास देखाउनुभयो, तर ओलीले त्यसको प्रतिवादमा मै उत्रन्छु भनेर आश्वस्त पार्नुभयो ।

फलतः प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव राखेर टिकटक बन्द गर्ने निर्णय भयो । यो निर्णयमा विभागीय मन्त्रालयसँग सामान्य परामर्शसम्म आवश्यक ठानिएन । यसबाट सार्वजनिक नीति निर्माणमा सरकारी संरचनाको उपेक्षा भएको मन्त्रालयका अधिकारीहरूले अनौपचारिक रूपमा बताउने गरेका छन् । विभागीयमन्त्री रेखा शर्माले सरकारकी प्रवक्ताका नाताले सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै मन्त्रिपरिषद्ले टिकटक बन्द गर्ने निर्णय गरेको सुनाउने अवसर भने पाउनुभयो । कात्तिक २७ गते तिहार बिदाको मौकामा यो निर्णय लिइएको थियो ।

उदाहरण–२

यही पुस ६ गते प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकबारे छलफल भयो । मिनी संसद् मानिने समितिमा सहमतिका आधार वा विकल्पमा पर्याप्त छलफल गर्नुको साटो ठूला पार्टीका शीर्ष नेताहरूलाई सहमति जुटाउन अधिकार दिने निष्कर्षमा पुगेर बैठक टुंगियो । शीर्ष नेताहरूसँग संवाद गर्न समिति सभापति, कानुनमन्त्री, दलका प्रमुख सचेतक र सचेतकलाई अख्तियारी दिइयो । यसले विधि निर्माण गर्ने थलोको अधिकार सीमित व्यक्तिलाई सुम्पने अभ्यास सतहमा आयो । यसपछि प्रमुख दलका ‘सीमित’ शीर्ष नेताहरूबीच यो विधेयकबारे घनीभूत छलफल चलिरहेको छ । यसले सार्वजनिक नीति निर्माण गर्ने सार्वभौम संसद्लाई ‘शीर्ष’ नेताहरूले रबर स्ट्याम्प बनाउने परिस्थिति बनाइदिएको छ ।

उदाहरण–३

उद्योग–व्यवसाय थिलथिलो भएका बेला डेडिकेटेड र ट्रकलाइन विवाद चर्किरहेको छ । उद्योगी–व्यवसायीले यो समस्या समाधान गर्न राजनीतिक दलहरूका शीर्ष नेताहरूको दैलो चहारिरहेका छन् । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई भेटेर यो समस्या समाधान गरिदिन अनुनय–विनय गरेका छन् । सरकारी संरचनाहरूबाट समाधानको सम्भावना नदेखेपछि सार्वजनिक नीति निर्णयका लागि उनीहरू नेताको दैलो चहार्न बाध्य भएका हुन् । यो पनि सार्वजनिक नीति निर्माणको संरचना र विधि–प्रक्रियाको उपेक्षा हो ।

उदाहरण–४

अझ डरलाग्दो घटना त के छ भने, मुलुकले संघीय शासन प्रणाली अपनाएसँगै संविधानमै संघ, प्रदेश र स्थानीय तहका साझा र एकल अधिकारहरू स्पष्ट छन् । तर, संघले संविधानबमोजिमको ऐन निर्माण नगर्दा अधिकार नपाएको भन्दै प्रदेश सरकारहरू आन्दोलित बनेका छन् । उनीहरूले संगठित रूपमा प्रधानमन्त्री प्रचण्डलाई भेटी प्रदेशले अधिकार नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन् । संविधानमै लिपिबद्ध अधिकार पाउनसमेत यो तहको असिनपसिन हुने अवस्था आउनु भनेको हाम्रो सार्वजनिक नीति निर्माण स्वाभाविक गतिमा छैन, उनै शीर्ष भनिएका नेताहरू नगुहारी कानुन पाउँदैनौं भन्ने उदाहरण हो । सामान्यतः प्रदेशलाई अधिकारसम्पन्न बनाउने कानुनको मस्यौदा गर्ने विभागीय मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन हो । त्यो संरचना छलेर प्रधानमन्त्री र शीर्ष नेताहरू गुहार्ने अवस्था आउनु र मुख्यमन्त्रीहरू आन्दोलनमा उत्रन्छु भन्नुले हाम्रो सार्वजनिक नीति निर्माणको विकृति छताछुल्ल पारिदिएको छ ।

संक्षेपमा, टिकटकसँग डर किन ? बन्द किन गरियो ? यसमा तीन नेताको सहमति किन ? यी प्रश्नको जवाफ जनताले पाएनन्, त्यसको पर्याप्त व्याख्या भएन । दोस्रो त मिनी संसद्को अधिकार शीर्ष नेताहरूको स्वविवेकमा छोडियो । तेस्रोमा उद्योगधन्दा चलाउन पनि शीर्ष नेताहरूकै इसारामा मात्र सेवा–सुविधा पाइन्छ भन्ने देखियो । चौथोमा संघ सरकारले ढोका नखोलिदिएकाले प्रदेश सरकारले कार्यसम्पादन गर्न नपाएको तथ्य आयो । टिकटक बन्दको विरोध प्रतिपक्षले सामना गर्ने, टीआरसीमा नेतृत्वको स्वविवेक, तल्ला सरकारहरूको संवैधानिक अधिकार दिन्नँ नभन्ने तर नदिने नेतृत्वको संकीर्णतालाई हेर्दा नीति निर्माण तीन शीर्ष नेताको छायामा चलिरहेको देखियो । यहाँ सत्तापक्ष र प्रतिपक्ष भन्ने नै देखिएन । यो गणतान्त्रिक पद्धति नभई ‘अथोरिटारियनिजम’ मा मुलुक हिँडिरहेको संकेत हो । नेपालको इतिहासका पाना पल्टाउँदा यस्ता विशेषता राणा शासनसँग मिल्दाजुल्दा देखिए ।

यही कारण नेपालमा सार्वजनिक नीति निर्माणका क्रममा हुने नीतिगत भ्रष्टाचार, स्वार्थको टकराव, कानुन निर्माणसँग सम्बन्धित निकायलाई निकम्मा बनाउनेदेखि सीमित व्यक्तिको चाहना लाद्ने प्रवृत्ति बढिरहेको हो । यसले हाम्रो विधि निर्माणमा कुरूप अभ्यास मात्र भित्र्याएको छैन, विधि–प्रक्रिया छल्ने, निकम्मा कानुन बन्ने र आवश्यकता एकातिर कानुन अर्कातिर हुँदा प्रभावकारी कार्यान्वयन नहुने समस्या बढ्दो छ । यसले शासन व्यवस्थासँग जनआक्रोश बढाएको छ र लोकतन्त्रका औजारहरू झन्झन् कमजोर बन्ने क्रममा छन् ।

हामी लोकतान्त्रिक व्यवस्थामा छौं, तर नीति निर्माणमा सीमित/सम्भ्रान्त वर्ग हाबी छ, जुन राणाकाल या पञ्चायतकालमा व्यापक थियो वा कम्युनिस्ट शासन व्यवस्थामा यसले स्थान पाउँछ । सार्वजनिक नीति निर्माणको ‘एलिटिजम थ्योरी’ ले लोकतान्त्रिक शासन व्यवस्थामा स्थान नपाउनुपर्ने हो, तर यो झन् बढी अभ्यासमा छ । राजनीतिशास्त्रका प्राध्यापक थोमस डाई, हर्मोन जेइजलर, लुइस स्चुवर्टको पुस्तक ‘दी आइरोनी अफ डिमोक्रेसी : एन अनकमन इट्रडक्सन टु अमेरिकन पोलिटिक्स’ मा यो सिद्धान्तले नीति निर्माणमा सीमित वर्गको प्रतिनिधित्व गर्ने समूहले राजनीतिक–प्रशासनिक संरचनाहरूलाई आफ्नो मातहत राखी स्वार्थअनुकूल चलाउने र आम नागरिकका चाहना, आवश्यकता बुझ्नेभन्दा नीति थोपर्ने मान्यता राख्छ । पुँजी, शक्ति, शिक्षा, सीप, अनुभव आदि हिसाबले समाजको माथिल्लो तहमा रहने सानो समूहले जनइच्छा वा नीति निर्माणका संरचनालाई आफू मातहत राखेर आफ्नो वर्गको स्वार्थपूर्ति हुने नीति निर्माण गर्छ । सार्वजनिक नीतिलाई सम्भ्रान्त वर्गको उत्पादन ठानिन्छ । सरकार र शक्ति मुठीभर व्यक्तिको कब्जामा रहने यो सिद्धान्तले नेपालमा अझै डेरा जमाइरहेको घटनाक्रमले देखाउँछ ।

यस सिद्धान्तलाई आधार मान्ने हो भने अहिले नेपालमा सार्वजनिक नीतिमा राजनीतिक दलहरू र वैधानिक संरचनाहरूको भूमिका क्षयीकरण हुँदै गएको छ । दलका शीर्ष नेताहरूको एलिट क्लब छ, उनीहरूले सरकार र नीतिसम्बन्ध निकायलाई नियन्त्रणमा राखिरहेका छन् । र, जनतामा नीति थोपर्ने उद्योग चलाइरहेका छन्, आफ्नो स्वार्थपूर्ति हुने गरी ।

यो अवस्था आउनुमा राज्य संयन्त्र कमजोर हुनु त एउटा कारण मात्र हो, मूल कारण राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्रको अभाव पनि हो । एलिट क्लबका सदस्यहरूले राजनीतिक दलमा आफ्नो अहं अर्थात् सार्वजनिक नीतिको दर्शन हेर्ने हो भने ‘इगोइजम’ लादिरहेका छन् । सामान्यतः कर्मचारीतन्त्र वा सरकारी निकायले कुनै सामाजिक मिसन वा सरकारको लक्ष्यभन्दा व्यक्तिगत स्वार्थ लादेर नीति निर्माण गरी साम्राज्य वा आधिपत्य जमाउँछन् भन्ने मान्यता यो दर्शनले राखेको छ ।

आधुनिक अहंवादी म्याकेभेलीले सत्तामा हुनेले पद र शक्ति वृद्धिका लागि आफ्नो स्वार्थपूर्ति हुने गरी नीति निर्माण गर्छ भन्ने मान्यता राखे भने एन्थोनी डाउन्सले कर्मचारीतन्त्रको उद्देश्य बहुपक्षीय हुन्छ, तर उनीहरू आफ्नो स्वार्थ विस्तारित गर्ने यत्न गर्छन् भनेका छन् । वास्तवमा राजनीतिक दलको नेतृत्वमा लामो समय हालीमुहाली जमाएका ठूला नेता ती दलका कर्मचारीतन्त्र जस्तै भएका छन् र यो दर्शन पार्टी राजनीतिमा लादिरहेका छन् ।

देशको पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रदेखि नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि देखिएको रोग हो यो, स्वतन्त्र भनिएकाको पनि चालामाला ठीक छैन । यसले दलमा आन्तरिक लोकतन्त्र समाप्तितिर लगिरहेको छ, पदमा हुनेले दलमा मनपरी गरिरहेका छन्, फरक मतको सम्मान हुन छोडेको छ । यसको असर सार्वजनिक नीति निर्माणमा नपर्ने कुरै भएन । दलले जुन निर्णय लियो, त्यही मान्नुपर्ने अवस्थामा ती दलका नेता, कार्यकर्ता छन् । दलहरूका नेता–कार्यकर्ता शीर्ष नेताहरूले एलिट क्लबमा बसेर गरेका सार्वजनिक नीतिसम्बद्ध निर्णयमा ताली ठोक्ने हूलमा रूपान्तरित हुँदै गएका छन् भने, नीति निर्माता र संरचना ल्याप्चे ठोक्नमा सीमित भएका छन् ।

‘इनफ इज इनफ’ भनेझैं, बहुलवादी शासन व्यवस्थामा एलिट क्लब र इगोइजम रोक्ने अभियान थाल्न ढिला भइसकेको छ । नीति निर्माणको बहुलवादी वा समूह सिद्धान्त बमोजिम सरोकारवालाहरूसँग व्यापक छलफल गरी तिनका सरोकारलाई सरकारले सन्तुलन गरी सहमति जुटाएर र अनुसन्धान/विश्लेषणका आधारमा तथ्य–प्रमाणमा आधारित सार्वजनिक नीति निर्माणको अभ्यासमा जोडबल नगर्ने हो भने जतिसुकै गणतन्त्र वा लोकतान्त्रिक व्यवस्था भनेर भट्याए पनि सार्वजनिक नीति निर्माणको गणतन्त्र, पञ्चायत र राणा शासनको शैलीमा कुनै भेद अनुभूति गर्न सकिन्न ।

प्रकाशित : पुस २०, २०८० ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?