३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

महिनावारी बिदा र लैंगिक समानता 

नेपालमा आजका दिनमा पनि सार्वजनिक वृत्तमा महिलाको सहभागिता न्यून छ । महिनावारीमा बिदा नै लिएर बस्ने व्यवस्थाले महिलाहरू कमजोर हुन्छन् भन्ने कुरालाई नै अप्रत्यक्ष रूपमा स्थापित गर्छ ।
राधा पौडेल

लुम्बिनी प्रदेशसभा सचिवालयले निजामतीले पाउने छुट्टीअन्तर्गत ‘महिनावारी बिदा’ घोषणा गरेपछि यो राम्रो कि नराम्रो भन्ने बहस सुरु भएको छ, जसका कारण सदियौंदेखि लाज मानिएको, खुलेर बोल्न नसकिएको ‘महिनावारी’ शब्दले सार्वजनिक वृत्तमा ठाउँ पाएको छ । तर महिनावारी बिदाले महिनावारी विभेदलाई झन् मलजल गरेको छ ।

महिनावारी बिदा र लैंगिक समानता 

अझ भनौं, महिनावारी विभेदलाई राज्यले संस्थागत गरेको छ । यसो भन्दै गर्दा महिनावारी बिदा चाहिन्छ भन्ने वा महिनावारीका समयमा गाह्रो हुने साथीहरूलाई चित्त दुख्नु, रिस उठ्नु स्वाभाविकै हो । म विशेष गरेर महिनावारी हुँदै वा सुक्दै गर्दा र सुकिसकेपछि गम्भीर समस्या भोग्नेहरूप्रति समानुभूति राख्दै समष्टिमा महिनावारी बिदा किन र कसरी विभेद हो भन्नेबारे चर्चा गर्न चाहन्छु ।

सबैभन्दा पहिले, हामीले खोजेको के हो ? हाम्रो संविधानले लैंगिक समानताका सबालमा के भन्छ ? नेपालले पक्षराष्ट्र भएर हस्ताक्षर गरेका दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय मानवअधिकार दस्ताबेजको औचित्य के हो ? साझा उत्तर हो— लैंगिक समानता । त्यसो हो भने महिनावारी विभेदले लैंगिक समानता प्राप्त गर्न सहजीकरण गर्छ त ? गर्दैन ।

अनुसन्धानअनुसार, महिनावारी हुने करिब ५ प्रतिशतलाई महिनावारी तथा रजोनिवृत्ति हुँदा गम्भीर खालका समस्या देखा पर्छन्, जस्तै— इन्डोमेट्रोसिस, धेरै रगत बग्ने, उदासिनता, फिब्रोइड, पीसीओस आदि । यी समस्या केवल महिनावारी गराउने हर्मोनका कारण देखा परेका होइनन् । व्यक्तिमा पहिलेदेखि नै यस्ता रोग छन् भने महिनावारी हुँदै वा सुक्दै गर्दा यी समस्या गम्भीर रूपमा देखिन्छन् । महिनावारी हुनुभन्दा एक हप्ताअघि देखिएर महिनावारी भएपछि एक हप्ताभन्दा बढी समयसम्म यस्ता समस्या रहन्छन् ।

रजोनिवृत्तिका समयमा पनि यी रोगहरूको असर फरक–फरक समय र अवस्थामा देखा पर्छ । समस्या भएकाहरूलाई उच्चस्तरीय जाँचपडताल र लामो समय उपचार गर्नुपर्ने हुन्छ । महिनावारी बिदा लिएर घर बस्दैमा यी समस्या समाधान हुँदैनन् । यस्ता समस्याका लागि राज्यले पहिचान गरी उचित उपचार र व्यवस्थापन गर्न फरक नीति अवलम्बन गर्नुपर्छ । यसलाई सुरक्षित मातृत्व तथा प्रजनन् ऐन–२०१८, मर्यादित काम वा कार्यक्षेत्रमा हुने यौन दुर्व्यवहारविरुद्धको ऐन–२०१५ र मर्यादित महिनावारी नीति–२०७४ ले कम्तीमा सम्बोधन गर्नुपर्छ ।

यस्ता गम्भीर महिनावारी स्वास्थ्य समस्यालाई ‘ए, सबैलाई भएको महिनावारी त हो, नाटक धेरै भयो’ भनेर राज्यले बेवास्ता गर्न मिल्दैन । एक जना मात्रै समस्यामा परे पनि त्यो गम्भीर मानवअधिकारको हनन हुनेछ । जसरी करिब ५ प्रतिशत आमाले बच्चा जन्माउनका लागि अपरेसन नै गर्नुपर्छ र यसैका लागि पालिकापालिकामा पहिचान र प्रेषण गरेर जिल्लाजिल्लामा अपरेसन गर्न सकिने अस्पतालहरू बनाइएका हुन्छन् ।

करिब ८५ प्रतिशतलाई महिनावारीका सामान्य लक्षणबारे थाहा हुन्छ, तर ती महिनावारी भएको केही घण्टामा हराएर जान्छन् । यस्तो सामान्य अवस्थामा पनि ‘महिनावारी भनेको कमजोरीको अवस्था हो, गाह्रो हुन्छ’ भन्ने भाष्य निर्माण गरेर विद्यालय र काममा नगएका घटना नेपालमा मात्र हैन, अन्य देशमा पनि छन् । महिनावारी ३ लाख १५ हजार वर्षदेखि पृथ्वीमा अस्तित्वमा छ, तैपनि योसँग जोडिएको सोच र अभ्यासबारे बृहत् छलफल हुन नसकेकाले यस्तो भएको हो । यसर्थ महिनावारी बिदा पिप जमेको घाउमा बाहिर सफा पट्टी लगाएजस्तै समस्याग्रस्त अवस्था हो ।

तपाईंलाई महिनावारी हुँदा रगत धेरै जान्छ, त्यसैले बिदा चाहिन्छ भन्ने सोचिरहनुभएको छ भने त्यो पनि गलत हो । महिनावारी हुँदा कम्तीमा ४०–८० एमएल रगत जानुलाई सामान्य मानिन्छ । योभन्दा धेरै वा धेरै दिनसम्म वा एक महिनामै दुई पटक रगत जाने गरेको छ भने तपाईं ५ प्रतिशतभित्र पर्न सक्नुहुन्छ । बिदा लिएर घर बस्दैमा यस्तो समस्या समाधान हुँदैन, विज्ञको सल्लाह लिनुपर्छ ।

महिनावारी हुनु कमजोर वा रोगी हुनु पनि हैन । महिनावारी तथा रजोनिवृत्ति हाम्रा सबै अंगसँग सम्बन्धित भए पनि यस्तो अवस्थामा सबैभन्दा बढी मुटु, मस्तिष्क र हड्डीले राम्रोसँग काम गर्न मद्दत गरिरहेका हुन्छन् । माथि उल्लेख गरिएका करिब ५ प्रतिशतबाहेकले आफ्नो काम सामान्य रूपमा गर्न सक्छन् । थप ५ प्रतिशतलाइ केही घण्टा आराम वा घरेलु उपचारको जरुरत पर्ला । खेतीकिसानी गर्नेहरू महिनावारी हुँदा पनि मल बोक्ने, दाउरा बोक्नेजस्ता गाह्रो काम गरिरहेका छन् । महिनावारी रोग र कमजोरी होइन । महिनावारी जैविक प्रक्रिया हो, शक्ति हो र पाठेघर लिएर जन्मिएकाहरूका लागि गर्वको विषय पनि हो ।

तपाईंले महिनावारीका बेला प्याड वा कट्टु वा टालो वा कुनै सम्बन्धित सामग्री फेर्न गाह्रो हुन्छ वा व्यवस्थापन गर्न गाह्रो हुन्छ, लाज लाग्छ, त्यसैले महिनावारी बिदा चाहिन्छ भनेर सोच्नुभएको छ भने पनि गलत हो । तपाईंको कार्यक्षेत्र मर्यादित महिनावारीमैत्री छैन, तपाईं मर्यादित महिनावारीमैत्री बनाउन तत्पर हुनुभएको छैन भने त तपाईंले महिनावारीका ५ दिन हैन, अरू २५ दिन पनि अमर्यादित, अपमानित कार्यक्षेत्रमा काम गर्न स्वीकार गर्नुभएको छ भन्ने हुन्छ । कार्यक्षेत्र औपचारिक वा अनौपचारीक जुनै भए पनि मर्यादापूर्वक काम गर्न पाउनु तपाईंको संवैधानिक र मानवअधिकार हैन ? फेरि पनि तपाईं समस्याको समाधान खोजिरहनुभएको छैन, हैन र ?

महिनावारी बिदा पाएकाले खुसी भएका टाउकाहरू गनी हिँड्नुभएको हो भने पनि तपाईं फेरि गलत गर्दै हुनुहुन्छ । महिनावारी भएको समयमा ४ दिन भान्सामा जान नपाउँदा आराम गर्न पाएकी छु भनेर खुसी हुनुभएजस्तै हो त्यो । भान्सामा जान नपाएका कारण तपाईंले भोकतिर्खा लाग्दा पाकेको खाना वा पानी झिकेर खान पाउनुभएको छैन । त्यतिखेर ‘सम्मानपूर्वक, स्वतन्त्रतापूर्वक र समानतापूर्वक जिउन पाउने, खाना–पानी–सहभागिताको मेरो मौलिक अधिकार हनन भयो, ममाथि विभेद भयो’ भनेर कहाँ गुनासो गर्नुभएको छ ?

संयुक्त राष्ट्रसंघको लैंगिक हिंसाको परिभाषाअनुसार भावनात्मक, शारीरिक, साधनस्रोतबाट वञ्चित हिंसालाई तपाईंले कहिल्यै हिंसा देख्नुभएको छ ? अर्थात्, महिनावारी विभेद हिंसा हो भनी तपाईंले प्रस्तुत गरिरहेको तथ्यांक वा कुनै प्रहरीले दिएको प्रतिवेदनमा उल्लेख छ ? छैन । हो, हामी महिनावारी विभेदलाई विभेद नै भन्दैनौं किनभने हामी (घर, विद्यालय, समुदाय, कार्यक्षेत्र, संसद्) मौनतामा बाँचेका छौं । लाज मानिरहेका छौं । नेपालमा झन्डै ९५ प्रतिशत परिवारले कुनै न कुनै किसिमको महिनावारी विभेदको अभ्यास गर्छन् तर विभेद भयो भनेर कसैले उजुरी गर्दैन । संस्कार, धर्म, प्रतिष्ठा, डरका कारण सदियौंदेखि सजिलै स्विकार्दै आइरहिएको छ । त्यसैले महिनावारी बिदा पाउँदा खुसी भएँ भन्ने व्यक्तिहरूप्रति सन्देह गर्नुस् ।

संसारभर जस्तै नेपालमा समेत देखिने–नदेखिने, खान हुने–नहुने, छुन हुने–नहुने, हिँडडुल गर्न हुने–नहुने समूहका दर्जनौं महिनावारी विभेदका अभ्यास छन्, जुन काठमाडौंमा पनि व्याप्त छन् । यो आफैंमा लैंगिक हिंसा हो, प्रतिहिंसा हो । त्योभन्दा पनि मुख्य कुरा, असमान शक्ति सम्बन्ध र पितृसत्ता निर्माण र सबलीकरण गर्ने कारण हो । यति जटिल, बहुआयामिक र गम्भीर महिनावारी विभेदलाई समूल अन्त्य गर्न महिनावारी बिदाले सहयोग गर्छ त ? गर्दैन ।

तपाईंको मनमा अझै अविश्वास हुन सक्छ, किनभने यस्तो बिदा नेपालमै पहिलो पटक कहाँ सुरु गरिएको हो र ! रुस (सन् १९२२), जापान (१९४७), स्पेन (२०२३) जस्ता विकसित मुलुकहरूमा समेत यस्तो बिदा दिने गरिन्छ । सार्वजनिक खपतका लागि शक्ति र पहुँचको दुरुपयोग, असफल अभ्यासका उदाहरण हुन् यी । त्यहाँका महिलामा ‘आज म महिनावारी भएर बिदामा छु’ भन्ने आँट छैन किनकि महिनावारीलाई लाजका रूपमा लिइन्छ, कमजोरीका रूपमा लिइन्छ । जबसम्म हामी पितृसत्तालाई धक्का दिँदैनौं तबसम्म यस्ता प्रावधानले हामीलाई फाइदा पुर्‍याउँदैनन् ।

नेपालमा आजका दिनमा पनि सार्वजनिक वृत्तमा महिलाको सहभागिता न्यून छ । महिनावारीमा बिदा नै लिएर बस्ने व्यवस्थाले महिलाहरू कमजोर हुन्छन् भन्ने कुरालाई नै अप्रत्यक्ष रूपमा स्थापित गर्छ । अर्कातिर, बालमस्तिष्कमा महिलाहरू भनेका कमजोर मानव रहेछन् भन्ने सोच गहिरिँदै जान्छ । त्यसैले सिंगो लैंगिक समानताको बाधक बन्नै जान्छ, महिनावारी बिदा ।

साँचो अर्थमा, लुम्बिनी प्रदेश लैंगिक समानता, समावेशी प्रजातन्त्र र विकासका पक्षमा उभिन्छ भने प्रदेशस्तरीय मर्यादित महिनावारी नीति बनाओस् । अनुसन्धानमा आधारित भएर वडा र स्कुललाई मर्यादित महिनावारीमैत्री बनाओस् । प्रदेशसभा नै मर्यादित कार्यक्षेत्र बनाएर विश्वमै गौतमबुद्धजस्तै नाम चम्काओस् ।

प्रकाशित : पुस १८, २०८० ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?