२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

प्रश्नको कसीमा ओलीको देश बखान

पश्चिमी जगत्ले आफ्नो ज्ञान र संस्कृतिलाई मात्रै महान् एवं आफूइतरको समाजलाई असभ्य, बर्बर र जंगली समाजका रूपमा चित्रण गर्दै सांस्कृतिक वर्चस्ववादका माध्यमबाट विश्वभर आफ्नो एकछत्र औपनिवेशिकता लादेको सत्य हो । तर, यस्तो सांस्कृतिक साम्राज्यवादको प्रतिरोध महेन्द्रीय राष्ट्रवादको नवीकरणका रूपमा देखा परेको ओली राष्ट्रवादबाट भने बिल्कुल हुन सक्दैन ।
सन्दीप थापा

कोस्टारिकाको युनिभर्सिटी फर पिस, भारतको कृषि तथा प्रविधि विश्वविद्यालय तथा कोरियाको काङनाम विश्वविद्यालयबाट गरी तेहरो मानार्थ विद्यावारिधिको उपाधि प्राप्त गरेका खड्गप्रसाद शर्मा ओलीले पुस ११ मा कान्तिपुरमा लामो लेख लेखे, ‘मैले देखेको नेपाल’ शीर्षकमा ।

प्रश्नको कसीमा ओलीको देश बखान

राष्ट्रिय परीक्षा बोर्डले लिने अन्तिम परीक्षामा सम्मिलित विद्यार्थीले यस्तो निबन्ध लेखेको हुँदो हो त कापी जाँचकीले पूर्णाङ्क ठोकिदिन्थ्यो होला, यद्यपि त्यसले सामाजिक चेतनालाई खासै डोर्‍याउँदैन । लेखमा ओलीले उल्लेख गरेका केही प्रतिनिधिमूलक झूटमाथि गम्भीर विमर्श गर्नुपर्ने खाँचो छ ।

ओलीको तर्कअनुसार, विश्वकै सबैभन्दा महान् मुलुक नेपाल विश्वमानचित्रकै सबैभन्दा अब्बल कोटिको हो र हालसम्मका सबै ज्ञान–विज्ञानको विकासमा नेपालीकै सबैभन्दा ठूलो भूमिका छ । मानौं, नेपाली नभएका भए पृथ्वी उहिल्यै कालो छिद्रमा समाहित हुन्थ्यो ।

हिमाल, पहाड र तराईको अनुपम भूबनोट नेपालमै हुनु, सगरमाथादेखि केचनासम्मको अवस्थिति यहीँ हुनु एउटा संयोग मात्र हो भन्नेमा ओली आँखा चिम्लिदिन्छन् । यस्तो प्रतीत हुन्छ, अन्य देश यस्तो भूबनोट नभएकाले नेपालसरह महान् छैनन् । माधव घिमिरेको ‘हामीले हिमाल उठायौं, एसियाको माझमा’ भन्ने हावादारी पञ्चायती गानबाट ओली प्रभावित भएको स्पष्ट देखिन्छ, जबकि हिमालको अग्लाइमा हामी र हाम्रा मानव पुर्खाको कुनै योगदान छैन, प्राकृतिक बनोटले नै हिमालको आकार त्यस्तो हुन गएको हो (आहुति, सन् २०१९) । हिमाल र पहाडको सुन्दरताको वर्णनमा अधिकांश समय खर्चिएका ओली तराई र मधेशी जनजीवनबारे चुइँक्क बोल्दैनन् । उनी जीवन निर्वाहकै लागि भारी खेप्नुपरेका हिमाली भरियाका जीवनका दुःखबारे अनभिज्ञ भइदिन्छन् ।

ओली थप व्याख्या गर्छन्, ‘यहाँ वनस्पति लगाउनुपर्दैन, आफैं उम्रिन्छ  । फूल रोप्नुपर्दैन, आफैं उम्रिन्छ  । रूख, लता, लतिका र लहरा वनमा आफैं उम्रिन्छन् ।’ दस कक्षासम्म विज्ञान पढेका औसत विद्यार्थीलाई पनि सहजै थाहा हुने कुरा हो— हरेक विषयका पछाडि त्यसको वस्तुगत कारण हुन्छ । अझ मार्क्सवादी–लेनिनवादीको फुर्को झुन्ड्याएको पार्टीका सर्वोच्च नेता ओलीले भौतिक परिस्थितिमा हुने द्वन्द्वात्मक सम्बन्ध सहजै बुझ्नुपर्ने हो । त्यसो भए, वनस्पति कसरी उम्रिन्छ ? के यससँग भौतिक परिस्थिति र पारिस्थितिक प्रणाली जोडिएको छैन ? ओलीले प्रस्तुत गरेको दलिलले यस्तो संकेत गर्छ– मानौं, वनस्पति वा फूलहरू आफैं उम्रिने देश दुनियाँमा नेपालसिवाय अर्को छैन । जबकि जैविक विविधतामा धनी विश्वका दस देशमा नेपाल अट्न सकेको छैन । विश्वव्यापी जैविक विविधता सूचकांकमा ब्राजिल, इन्डोनेसिया, कोलम्बिया, चीन, मेक्सिको, अस्ट्रेलिया, पेरु, भारत, इक्वेडोर र अमेरिका जैविक विविधताका दृष्टिकोणले क्रमशः सबैभन्दा धनी मानिन्छन् (नास, सन् २०२२) । अर्थात्, यी देशमा नेपालका तुलनामा कैयौं गुणा बढी वनस्पति मानिसले नरोपीकन आफैं उम्रिन्छन् र जनावरमा पनि नेपालमा भन्दा अत्यधिक विविधता पाइन्छ ।

ओली पहिलोपल्ट आगोको लप्कोसमेत यहीँ उत्पन्न दाबी गर्न पछि पर्दैनन्, जबकि क्यानाडाको टोरोन्टो विश्वविद्यालय र इजरायलको हेब्रु विश्वविद्यालयका शोधकर्ताहरूले नेतृत्व गरेको टोलीले दक्षिण अफ्रिकाको उत्तरी केप प्रोभिन्समा अवस्थित वन्डेरवेर्क गुफाको भुइँको माटोको पुरातात्त्विक परीक्षणबाट मानव पुर्खाले आजभन्दा १० लाख वर्ष पहिले नै आगोको आविष्कार गरिसकेको प्रमाणित गरेका छन् (फ्रान्सेस्को बेर्ना र अन्य, सन् २०१२) । भारतीय सभ्यतामा सबैभन्दा पहिले लगभग ३० हजार वर्षअघि मात्र बेलन नदीआसपास आगोको प्रयोग भएको मानिन्छ (टाइम्स अफ इन्डिया, २०२० डिसेम्बर २) । यसरी ओलीले बिनातथ्य र प्रमाण, हचुवा दाबी लिएर आफ्नो भक्तिगानमा रमाइरहेको युवा पंक्तिलाई अलमल्याई आफूलाई विद्वान् कहल्याउने भ्रमजाल बुनिरहेका छन् ।

ओली सबैभन्दा प्राचीन सभ्यता यहीँको भएको दाबी गर्छन्, जबकि हालसम्मको प्रमाणले मेसोपोटामिया, मिश्र, चीनलगायतको सभ्यतालाई सर्वप्राचीन सभ्यताका रूपमा स्थापित गरेको छ । ओली त्रेतायुगमै जनकपुरमा ब्रह्माण्ड, सृष्टिलगायतका विषयमा शास्त्रार्थ हुने गरेको ठोकुवा गर्छन् । हालसम्मको कुनै पनि प्रमाणले भने त्रेता युगको अस्तित्व प्रमाणित गर्न सकेको छैन । अष्टावक्र, याज्ञवल्क्य, गार्गीलगायतका बीचमा हुने भनिएको विवादका सम्बन्धमा हिन्दु धर्मग्रन्थ र हिन्दु साहित्यमा गरिएको चर्चासिवाय ठोस पुरातात्त्विक प्रमाण पाइँदैन ।

ओली प्राचीन हिन्दु विधिशास्त्रमा आधारित न्यायप्रणालीलाई व्यवस्थित थिति, विधि र न्यायप्रणाली मान्छन्, जबकि हिन्दु जात व्यवस्थाको तहगत सोपानतन्त्रमा आधारित न्यायप्रणाली दलित र महिलाका निम्ति सबैभन्दा क्रूर थियो । हिन्दु दण्डसंहितामा आधारित मनुस्मृति, जयस्थिति मल्लको न्यायविकासिनी मानव न्यायशास्त्र र जंगबहादुरको १९१० सालको मुलुकी ऐन पनि त्यही थिति र विधिकै उपज थिए, जसले मान्छेको जात र लिङ्गअनुसारको सजाय निर्धारण गर्थे । ओलीको उक्त तर्कले आलोचनात्मक चेतलाई भुत्ते बनाउने काम गरेको त छ नै, हिन्दुत्वको राजनीतिमार्फत स्वार्थको रोटी सेक्ने दाउपेचसमेत गरेको छ ।

रामको जन्मभूमि ठोरी भएको घोषणा गर्ने उनी यतिमै रोकिँदैनन्, विश्वकै सर्वप्राचीन शल्यक्रिया विज्ञान पनि नेपालमै आविष्कार भएको बताउँछन् र यसलाई प्रमाणित गर्न ऋषि सुश्रुतले कोशी किनारमा काटिएको औंला र भुइँमा झरेको नाक जस्ताको तस्तै जोडिदिएको साहित्यिक कल्पना पेस गर्छन् । ओलीको निबन्धमा सबैभन्दा गज्जबको विरोधाभास त के छ भने, एकातिर उनी हिन्दु ग्रन्थलाई काल्पनिक साहित्य र त्यहाँ प्रस्तुत कथालाई कल्पनाको उडान मान्छन्, अर्कातिर त्यही कल्पनाशील कथालाई आफ्नो तर्क प्रमाणित गर्ने अकाट्य प्रमाण मान्छन् । कथा र कल्पनालाई प्रमाण मान्ने भए खोज किन गर्नुपर्‍यो ? अनुसन्धान र व्यवस्थित अध्ययनको जरुरत किन पर्‍यो ? यस्तो उपचार पद्धति हुँदाहुँदै ओली आफैं किन दिल्ली र सिंगापुर गइरहन्छन् ?

ओलीका अनुसार, मेसिन, इन्जिन, बारुद र बन्दुकको प्रभुत्वका कारण फिरंगीले हाम्रा धेरै भूभाग नियन्त्रण गरे पनि सबै भूभाग कब्जा गर्न नसक्दा हामी कहिल्यै पराधीन भएनौं । त्यसैले हामी खुकुरी र तरबारका भरमा लडेका आविष्कारक र वीरका सन्तान हौं । ओली एकातिर अंग्रेज साम्राज्यले आधुनिक हातहतियारका बलमा नेपालको धेरै भूभाग कब्जा गरेको स्विकार्छन्, अर्कातर्फ नेपालीको वीरताका कारण पराधीन हुनु नपरेको कुरा विश्वयुद्धको विजेता सिपाहीको भागभङ्गीमा प्रस्तुत गर्छन् । गोर्खा साम्राज्यको क्षेत्रफल ३,६७,५७५ वर्ग किमि थियो (रामशरण पाण्डे, २०७६), सुगौली सन्धिपश्चात् नेपालले करिब दुईतिहाइ भूभाग गुमाउनुपरेको थियो । के यो नेपालको ऐतिहासिक पराजय थिएन ? गोर्खा भर्ती सन्धिमार्फत नेपालीलाई भाडाको सिपाही बनाएर उनै अंग्रेजको पक्षमा लड्नका निम्ति वीरताको पछ्यौरी ओढाइएको थियो । अरूको भाडाको सिपाही भएर स्वतन्त्रताप्रेमी योद्धाहरूको कत्लेआम गर्न तयार पारिएको वीरताको भाष्यमा गौरव गर्नुपर्ने हो कि आलोचनात्मक लज्जाबोध ?

हामी आविष्कारकका सन्तान हौं भने विश्वका सम्पूर्ण नागरिक आविष्कारकका सन्तान हुन्, किनभने विश्वको हरेक कुनाका मानिसले आफ्नो जीवन अगाडि बढाउने क्रममा विभिन्न भौतिक एवं बौद्धिक संस्कृतिको आविष्कार एवं सिर्जना गर्दै आएका छन् । यसमा नेपालीले त्यस्तो गौरव गर्नुपर्ने त्यस्तो बिछट्टै कुरा के छ ? ओलीकै शब्दमा, फिरङ्गीहरूले मेसिनगन र बारुदको आविष्कार गर्दा हाम्रो आविष्कार खुकुरी र तरबारमा मात्र सीमित थियो । दुनियाँले अन्तरिक्षमा पाइला राख्दा नेपालीहरू अहिले पनि कमण्डलु लिएर नागा बाबाको पूजा गर्दै सन्तानप्राप्तिको वर माग्न अभिशप्त छन् । के हाम्रो महान् आविष्कार यही हो ? ओलीले भनेजस्तै मानौं हामी मात्र यस दुनियाँमा आविष्कारकका सन्तान हौं रे, के त्यसो भए कसैको सन्तान हुनु नै महान् कुरा हो ? के कोही तथाकथित गण्यमान्य, भद्रभलादमी, रबाफिला व्यक्तिका सन्तानका रूपमा नजन्मिएकाहरूलाई तुच्छ दर्जामा राख्न मिल्छ ? यो कुन वर्गीय सौन्दर्यशास्त्र हो ? उत्तर सरल छ— मार्क्सवादविरोधी आदर्शवादी सौन्दर्यशास्त्र । मानिस आफ्ना सत्कर्मका बलमा उभिने हो कि पुर्खाले गरेको त्यागको ब्याजका बलमा ?

ओली भन्छन्, ‘हाम्रा पुर्खाले बन्दुकबाट फुस्किने गोलीले तय गर्ने दूरीभन्दा पनि टाढा, एक किलोमिटरसम्म घुएँत्रो फाल्न सक्थे  ।’ औसत व्यक्तिले औसत पिण्ड र तौलको वस्तु १०० मिटर टाढासम्म मात्र फ्याँक्न सक्छ । गिनीज बुकअनुसार, हालसम्म सबैभन्दा लामो दूरीमा वस्तु फाल्ने रेकर्ड अस्ट्रेलियाली डेभिड समीको नाममा छ, जसले ४२७.२ मिटर टाढा फ्याँकेका थिए । ओलीको दाबीले त आधुनिक भौतिकशास्त्रको नियमलाई नै फेल खुवाइदियो । यहाँनिर एउटा अफ्रिकी उखान मननीय छ, ‘हामी अग्ला छौं, किनकि हामी पुर्खाको काँधमा टेकेर उभिएका छौं ।’ हाम्रो जीवन यहाँसम्म ल्याउनमा मानव पुर्खाले गरेको योगदान असाधारण र तारिफयोग्य छ तर त्यसको अनावश्यक महिमामण्डन भने अवश्य प्रत्युत्पादक हुन्छ ।

ओली प्रश्न गर्छन्, अन्य देशमा ‘असतो मा सद्गमय... जस्ता मन्त्र किन छैनन् ? टपर्टुइयाँ शैलीमा उत्तर दिने हो भने, अन्य देशमा संस्कृत भाषा नभएकाले यस्ता संस्कृत मन्त्रहरू छैनन् । तर सत्य कुरा के भने, हरेक सभ्यतामा आफ्नै विशिष्ट नैतिक मूल्यमान्यताहरू विकास भएका हुन्छन् । जस्तो, इस्लाममा ऋण दिएबापत् ब्याज लिनुलाई हराम मानिन्छ, महिलालाई सम्बन्धविच्छेदको अधिकार दिइन्छ । तर यसको अर्थ के यी मन्त्र वा धर्मशास्त्रीय नैतिक मूल्यहरूले समाज शोषणको जन्जिरबाट उम्किन सक्छ ? सक्छ भने हिन्दु समाजमा किन जात व्यवस्था जीवितै छ ? अन्य देश वा सभ्यतामा यस्ता विशेषता ओलीले नपाउनुको कारण निजको अध्ययनको सीमिततासिवाय केही होइन । महेन्द्रमालाद्वारा दीक्षित जमात वरपरका दरबारिया इतिहासकार एवं हिन्दुत्वको प्रवर्द्धन गर्ने लेखकसिवाय अन्य अध्येता र अनुसन्धानदातालाई नपढ्नु अनि ‘मैले अन्य देशमा यस्तो मन्त्र पाइनँ’ भन्नु भक्तहरू अलमल्याउन ओलीले अलापेको राष्ट्रवादको भजनसिवाय केही होइन ।

हिन्दु साहित्यलाई आफ्नो तर्क प्रमाणित गर्ने आधार मानेका ओली यो भूमि सदैव शान्तिको भूमि रहेको व्याख्यान दिन्छन् । ओलीले सत्य ठान्दै आएको साहित्यका पाना पल्टाउने हो भने यो भूमिमा निरन्तर अशान्ति व्याप्त भएको देखिन्छ । के महाभारतको कौरव–पाण्डव युद्धमा काटाकाट भएको थिएन ? राजखलकहरूको इतिहास मारामारको होइन ? निरपेक्ष शान्तिवादलाई बलियो पार्न उनी तर्क गर्छन्, ‘बुद्ध किन यहीँ जन्मे ? अरू ठाउँमा लडाइँ भइरहेका बेला यहाँ किन शान्तिको सन्देश फैलिन्थ्यो ?’ ‘हिन्दु महागुरु’ रामपालद्वारा लिखित ‘गीता तिम्रो अमृत ज्ञान’ पुस्तकमा बौद्धहरूलाई यस भूमिमा बस्न दिए नास्तिकता फैलिने भएकाले शंकराचार्यले गरेको बौद्धहरूको कत्लेआमलाई जायज ठहर्‍याइएको छ । के बौद्धमतलाई निमिट्यान्न पार्दा पाएको यही सन्तुष्टि हो शान्ति ? वर्गयुक्त समाजमा उत्पीडित र उत्पीडकमाझ कहिले गुप्त, कहिले खुल्ला संघर्ष निरन्तर हुँदै आएको छ (मार्क्स र एंगेल्स, सन् १८४८) । उत्पीडकले दबाउँदा, संघर्षको अभावमा उत्पीडित पक्ष निरन्तर दबिँदा र संघर्षमा भाग नलिई चुपचाप अत्याचार खपेर बस्दा सिर्जित शान्ति कसरी ठीक हुन सक्छ ? यो समाज शान्त थियो भने ओलीहरू २०२८ सालमा वर्गशत्रु सफाया गर्न भन्दै किन हिँडेका थिए ?

मानिसले आज जस्तो चेतना पाएको छ, त्यसमा पुर्खाको भूमिका महत्त्वपूर्ण छ । मानिस बौद्धिक र सिर्जनशील आज मात्र होइन, हिजो पनि थियो र यही सिर्जनशीलताका कारण ऊ संस्कृतिसहितको प्राणीका रूपमा अस्तित्ववान् छ । बहुसंख्यक मानवको हित हुने विचार जसले जोबाट पनि सिक्न हुन्छ, किनभने विचारको कुनै देश हुँदैन । त्यसमा पूर्व र पश्चिमको कित्ताकाट गर्नु जरुरी छैन । किनभने मानिसमा भएका साझा विशेषता र चिन्तनशैलीमा भएको प्राकृतिक समानताका कारण नै पूर्वीय वा पश्चिमी तटका कहिल्यै आपसमा अन्तरक्रिया नभएका मानिसहरूबीच पनि विकासात्मक चरणमा विभिन्न सामाजिक समानता पाइन्छ । समाजशास्त्री एडवर्ड बर्नेट टायलरका अनुसार, भिन्नभिन्न स्थानका मानिस विकास एवं प्रगतिमा आदिम समयदेखि नै समान रूपमा सक्षम थिए (लङ र र चाकोभ) । के मूलधारको मानवबस्तीबाट टाढिएर छुट्टै कबिला समाजको अवशेषका रूपमा बसोबासरत जनजाति समुदायमा आगोको आविष्कार भएको छैन ? के उनीहरूको आफ्नो सापेक्षताको सैन्यविज्ञान र हातहतियार छैन ? के उनीहरूको आफ्नो भाषा र ज्ञान हस्तान्तरणको परम्परा छैन ? छ भने हामीले आफूलाई विशिष्ट मानव मान्नु र अन्यसँग तुलना गरेर अब्बल साबित गर्नुको औचित्य के ?

ओलीसँग न कुनै कम्युनिस्ट वैचारिकीको अवशेष छ, न कुनै दृष्टिकोण । उनीसँग उत्तर भने हरेक प्रश्नको छ । उत्तर ठीक होस् वा बेठीक, गलत होस् वा सही, प्रामाणिक होस् वा मिथक, यसमा ओलीको सरोकार छैन, तर हरेक उत्तरमा राष्ट्रवादको बनिबनाउ ‘जंक–फुड’ बेच्नु उनको शैली हो । बहत्तर सालको संविधानपश्चात् नै पहाडे राष्ट्रवादको बिक्री ओलीले भरपूर गरेका हुन् र यो सिलसिला कान्तिपुरमा लेख लेख्दासम्म जारी छ । उनको यो खाँट्टी गोर्खाली राष्ट्रवादले ओतप्रोत लेख पढ्दा यस्तो प्रतीत हुन्छ, नेपाली भूमिमा जन्मनु नै महापुण्यको प्रतिफल हो र नेपालमा, अझ पहाडबाहेक अन्यत्र जन्मिनेहरू वीर गोर्खालीका बहादुर सन्तानभन्दा नीच दर्जाका नागरिक हुन् ।

‘मेरो राष्ट्र तेरोभन्दा महान्, मेरो राष्ट्रको संस्कृति ठीक अरूको बेठीक, मेरो राष्ट्रका जनता ठीक तेरो राष्ट्रका बेठीक’ भन्ने अवधारणा नै राष्ट्रवादको मुख्य वैचारिकी हो । राष्ट्रवादले हिटलरहरू जन्माउँछ र आफ्नो राष्ट्रका नागरिकसिवाय अन्य राष्ट्र (जाति) का मानिसलाई बाँच्ने अधिकार नरहेको खुल्लमखुल्ला घोषणा गर्छ । यसर्थ ओलीले प्रवर्द्धन गरेको वैचारिकी पनि पहाडे हिन्दु उच्चजातीय खस–आर्य राष्ट्रवाद हो, जुन रूपमा कमजोर देखिए पनि सारमा हिटलरको नाजी राष्ट्रवादजत्तिकै खतरनाक छ । के नेपाली हुनु महान् कुरो हो ? महान् हुन कोही तुच्छ त अवश्य हुनुपर्ने होला, के त्यसो भए नेपालीबाहेकका अन्य देशका नागरिक तुच्छ हुन् ?

पश्चिमी जगत्ले आफ्नो ज्ञान र संस्कृतिलाई मात्रै महान् एवं आफूइतरको समाजलाई असभ्य, बर्बर र जंगली समाजका रूपमा चित्रण गर्दै सांस्कृतिक वर्चस्ववादका माध्यमबाट विश्वभर आफ्नो एकछत्र औपनिवेशिकता लादेको सत्य हो । तर, यस्तो सांस्कृतिक साम्राज्यवादको प्रतिरोध महेन्द्रीय राष्ट्रवादको नवीकरणका रूपमा देखा परेको ओली राष्ट्रवादबाट भने बिल्कुल हुन सक्दैन । राष्ट्रवादको ‘डेट एक्सपायर्ड’ औषधिले नेपाली समाजलाई थप बिरामी पार्नेसिवाय अग्रगामी यात्रातर्फ डोर्‍याउने कुनै योजनाबद्ध खाका शासक वर्गका इमानदार प्रतिनिधि ओलीको राष्ट्रवादसँग छैन ।

अन्तमा ओलीकै शब्द सापटी लिएर भन्नुपर्दा, हाम्रो गौरवपूर्ण परम्परालाई सुदृढ तुल्याउँदै जाने हो भने अन्धविश्वासी, धोकापूर्ण, झूट वा अफवाहका मिथ बनाएर जनता अलमल्याउने परम्परा तोड्नुपर्छ  । र, यसको सुरुआत सबैभन्दा पहिले ओलीले लेखमा उल्लेख गरेको झूट सच्याउने आँटबाट गर्नुपर्छ ।

प्रकाशित : पुस १७, २०८० ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?