३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

नयाँ पुस्ताको सिकाइ पद्धति

रमेशप्रसाद गौतम

व्यक्तिले शिक्षाबाट आत्मनिर्माण, आत्मविश्वास र आत्मपहिचानको बाटो पहिल्याउँछ । अमेरिका, बेलायतजस्ता विकसित देशमा शिक्षा प्रणालीले हरेक बालबालिकाले अध्ययनका क्रममा आफैं खोजी गर्ने र जानकारी हासिल गर्ने बाटो देखाइदिन्छ ।

नयाँ पुस्ताको सिकाइ पद्धति

ती देशमा बालबालिकालाई पुस्तकालयमा गएर जानकारी हासिल गर्ने वा गुगलमा खोजेर सूचना संकलन गर्ने खालका गृहकार्य दिन्छन् । शिक्षा हासिल गरेपछि एउटा विद्यार्थीले आफूलाई बुझोस् र समाजमा आफूलाई उभ्याउन सकोस् भन्नेमा जोड दिएको हुन्छ ।

आजको पढे लेखेको समुदायको दायित्व व्यापक छ । शिक्षित मान्छे आफूमा मात्र सीमित नभएर बाहिरी समस्याप्रति विमुख रहन सुहाउँदैन । आफ्नो परिवेशभित्र रहेर राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्यालाई बुझ्ने र बुझाउने काम शिक्षित मान्छेकै हुन्छ ।

हुन त आधुनिक शिक्षा भूमण्डलीकरणले साँघुरो भइसकेको छ । कुनै पनि अन्तर्राष्ट्रिय घटनाबाट हामी विमुख रहन सक्दैनौँ । आजको पुस्ता अत्याधुनिक सेवा र सुविधाभोगी छ । यो सूचना सञ्जालमा खेल्ने साइबर पुस्ता हो । आजका बालक अक्षर चिन्नुपूर्व नै आइप्याड, सेलफोन, टीभीमा रमाउने र खेल्ने गर्छन् । त्यसैले आजको शिक्षामा सूचना प्रविधिले ठूलो प्रभाव जमाएको छ ।

आजको शिक्षा यति विस्तार भएको छ कि त्यो औपचारिक माध्यमबाट मात्र कुनै पनि व्यक्तिले पूर्णता पाउन सक्दैन । घरको अनौपचारिक शिक्षादेखि विद्यालय, विश्व विद्यालयसम्मबाट पाएको औपचारिक शिक्षाले नै सच्चा व्यक्ति बन्नमा बल पुर्‍याउने हो । प्रारम्भकालदेखि नैतिक चेतना पाउने व्यक्ति आपराधिक क्रियाकलापमा लाग्न सक्तैन ।

यथास्थितिको समाज पुरानो विचारबाट निर्देशित छ, नयाँ पुस्ता भनेको परिवर्तनवादी हो, जहाँ ज्ञान, विचार र शिक्षाले पहिचान गराउँछ । यसर्थ यथास्थितिवादी समाज वृद्ध पुस्तामा पर्छ, किशोर र बालकसहितको नयाँ पुस्ता स्वयं कुनै कुरा सिक्न चाहन्छ, कसरी सिक्ने भनेर आफैं निर्णय लिन्छ । यो पुस्ता अरु कसैले भनेको आधारमा भन्दा स्वयं आफ्नो जिज्ञासाबाट अभिप्र्रेरित हुन्छ ।

हाम्रा पुर्खा र ऋषिमुनिहरूले शिक्षाबाट मानिसमा अन्तरनिहित वुद्धि र विवेकलाई विकास गराई जीवन सार्थकतातर्फ उन्मुख गराएका थिए । त्यति बेलाका गुरुहरू धन आर्जनको अभिलाषाले होइन, सेवाका लागि विद्यादान गर्थे । विद्या लिने र दिने दुवैमा असल संस्कार, लगन र समर्पण भाव हुन्थ्यो । दक्षता र विशेषज्ञताको कमी वा अभाव भएका कोही गुरु बन्दैन थिए । चेलाहरू विद्या आर्जनमा तल्लीन हुन्थे । विद्या जिउने कला मात्र नभएर सम्पूर्ण ब्रह्माण्डीय ज्ञानलाई बुझ्ने सामर्थ्यका रूपमा स्विकारिएको थियो ।

आज एसियादेखि युरोप, अमेरिकासम्मका थुप्रै शैक्षिक चिन्तकहरूले बालबालिकामा अन्तरनिहित प्रतिभाको सहज विकास हुनुपर्छ भन्नेमा जोड दिएका छन् । उनीहरूका भनाइमा बालबालिकाले चाहे जस्तो बन्न दिने वातावरण हुनुपर्छ । प्रसिद्ध शिक्षाविद् जोन हल्टका अनुसार ‘शिक्षा हरेक बालक वा बालिकाले आफ्नो निम्ति स्वयं प्राप्त गर्छ, कसैले उसलाई दिएर पाउने होइन ।’ बालबालिकाले आफैंले प्राप्त गर्ने विषय भएकाले स्वतन्त्रपूर्वक प्राप्तिको अवसर दिनुपर्छ । यसबारेमा बालबालिकालाई आदेश वा कुनै किसिमको दबाब महसुस गराउनु हुँदैन । कतिपय कुरा जबर्जस्ती लाद्न खोजिएकाले हुन सक्छ, आजका कैयौं बालबालिका विद्यालय जानु नपर्दा खुसी देखिन्छन् ।

शिक्षाले वर्ग विभाजन ल्यायो, शिक्षाको स्तर उकासिएन र अझै विद्यालयमा विभिन्न विभेद कायमै छ भनेर शिक्षाविद् र अन्य सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् । यस अर्थमा हाम्रा विद्यालय असफल भन्नु र शिक्षा प्रणाली असफल भन्नुमा के फरक होला र ? जोन हल्टको विचारमा राम्रो भवन, भव्य कोठा र भौतिक पूर्वाधार, अत्याधुनिक शैक्षिक प्रविधि, पर्याप्त कम्प्युटर, प्रशस्त खेलकुद, उन्नत शिक्षक तालिम आदिको प्रबन्ध हुन सकेर पनि विद्यालय सफल बन्न सक्दैनन् । उनी विद्यालयको सफलता वा असफलता कुनै अत्याधुनिक तामझामबाट होइन, अरू नै कुराबाट हुन्छ भन्छन् । जोन हल्ट हाम्रो शिक्षा प्रणालीको मान्यतालाई सतहीपनमा अडिएको प्रयोजनहीन ठान्छन् ।

अहिलेका हाम्रा विद्यालय जेलका रूपमा छन्, जहाँ केटाकेटीलाई कैदीको जस्तो व्यवहार हुन्छ, अनुशासनका नाममा तिनलाई आज्ञापालक बनाउने काम मात्र भइरहेको गुनासो दर्साइरहेका छन । उनी भन्छन्– जबसम्म केटाकेटीको मन प्रफुल्ल र प्रशन्न हुन्न, पढ्नमा आनन्द लिन सक्दैनन् भने त्यहाँ यातना मात्र महसुस गर्छन् । अनि तिनका मौलिकता र सृजनात्मकता लोप हुन्छन्, केटाकेटीको आफ्नोपन कुण्ठित हुन पुग्छ । यस्तो वातावरणमा केटाकेटीले आफ्नो अस्मिता, पहिचान, स्वाभिमान र आत्मविश्वास बचाइराख्न सम्भव हुँदैन । जोन हल्ट राम्रो गर्ने विद्यार्थीलाई पुरस्कार र बदमासी गर्नेलाई दण्ड दिने कुरामा पनि असहमत छन् । उनको भनाइमा पुरस्कार, दण्ड, ग्रेड, प्रमाणपत्र आदिले केटाकेटीको मनोभावनामा नकारात्मक सोच विकास गराउँछ । यस किसिमको शिक्षा तानाशाहीपूर्ण र खतरानाक बन्ने संकेत जोन हल्टले गरेका छन् ।

अहिले अमेरिकालगायत कैयौं मुलुकमा विद्यालय परिवर्तित हुँदै आएका छन् । केटाकेटीको रुचि, सृजनात्मकता र व्यक्ति स्वयंले एक हदसम्म महत्त्व पाउन थालेका छन् । विद्यालयप्रति बालबालिकाको आकर्षण बढ्न थालेको छ । नयाँ पुस्ता नयाँ चेतना अङ्गीकार गर्दै अगाडि बढ्छ, पुरानो पुस्ताले विवेक, प्रौढ र परिपक्वता खोज्छ, नयाँ पुस्ता क्रियाशीलता, जोस र उमंगमा रमाउँछ, सूचना सञ्जालबाट नयाँ पुस्ताको पहिचान जोडिन्छ ।

प्रकाशित : पुस १०, २०८० ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?