२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

त्रिविमा शैक्षिक गुणस्तरको सवाल 

त्रिविलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी स्वच्छ प्रतिस्पर्धाका माध्यमले प्राज्ञिक ओज भएका व्यक्तिलाई नेतृत्वमा ल्याउनु नै मुलुककै यो जेठो विश्वविद्यालयको गुणस्तर बढाउने उत्तम विकल्प हो ।
सचिन घिमिरे

काठमाडौं विश्वविद्यालयको हालैको दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शिक्षा प्रणालीलाई मौलिक, माटो सुहाउँदो र अन्तर्राष्ट्रिय गुणस्तरको बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो । एकातर्फ नेपालको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रधानमन्त्री दाहालको सपना, अर्कातर्फ नेपाली विश्वविद्यालयहरूको शैक्षिक गुणस्तरलाई दोषारोपण गरेर नेपालमा अध्ययन नगर्ने मनशायले बिदेसिनेहरूको दिन–प्रतिदिन बढ्दो लर्को !

त्रिविमा शैक्षिक गुणस्तरको सवाल 

छ दशकभन्दा लामो इतिहास बोकेको त्रिविजस्तो, मुलुकको अग्रणी विश्वविद्यालयसमेत यथेष्ट विद्यार्थीहरूको अभावमा थुप्रै विभाग बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । प्रसंगवश, त्रिविलगायतका सार्वजनिक शैक्षिक संस्थानहरूको गुणस्तर कायम गर्न गरिएका ठोस कदमहरूको पनि विवेचना गर्नुपर्ने आवश्यकता देखिएको छ ।

कला समीक्षक तथा बहुप्रतिभाशाली दार्शनिक जोन रस्किनका अनुसार, निरन्तर रूपमा बुद्धिमत्तापूर्वक गरिने सचेत प्रयासहरूको प्रतिफलस्वरूप मात्र गुणस्तर नतिजा भएर सतहमा उर्लिन्छ । रस्किनको भनाइलाई आत्मसात् गर्दै त्रिविको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्न संस्थागत रूपमै समय र स्रोतको लगानी गरेर थुप्रै सचेत प्रयास गर्नुपर्छ । यस आलेखमा त्रिविले शैक्षिक गुणस्तरको सवालमा गुणात्मक फड्को मार्नका लागि तत्काल गर्नुपर्ने महत्त्वपूर्ण पाटाहरूबारे चर्चा गर्न खोजिएको छ ।

कोर्स करिकुलम

एक पटक तयार भएपछि दशकौंसम्म परिवर्तन नहुनु त्रिविमा थुप्रै विषयका कोर्स करिकुलमको साझा समस्या हो । उदाहरणका लासग, जनस्वास्थ्यमा समाज विज्ञानको अध्ययन, मानवशास्त्रमा चिकित्सा मानवशास्त्र, लैंगिक अध्ययनमा सिद्धान्त र अनुसन्धान विधिहरू, लैंगिकता र विकास, ग्रामीण विकास र चलचित्र अध्ययनमा अनुसन्धान विधिजस्ता विषय अध्यापन गर्न त्रिवि कोर्समा तोकिएका पाठहरू अत्यन्त पुरातन र अपुरा छन् ।

जनस्वास्थ्य अध्ययनको सवालमा विश्व प्राज्ञिक वृत्तमा चिकित्सा मानवशास्त्र र चिकित्सा समाजशास्त्रजस्ता जनस्वास्थ्यसँग सम्बन्धित नजिकका साझेदार विषयहरूको प्रभावशाली उपस्थिति भए पनि त्रिविले प्रयोगात्मक समाजशास्त्र र मानवशास्त्रका नाममा भद्रगोल अन्तर्वस्तु राखेर केन्द्रीय विभाग र सम्बन्धन दिएका क्याम्पसहरूमा समेत अध्ययन–अध्यापन गर्न बाध्य पारिरहेकै छ । त्रिवि कोर्सको अवधारणागत संकुचनले विद्यार्थीहरूलाई जनस्वास्थ्यबारे समाज विज्ञानका पछिल्ला उपलब्धि र नवीन सैद्धान्तिक दृष्टिकोणहरूबाट सीधै वञ्चित गराएको छ । अर्कातर्फ, कुन भागमा के अध्यापन गराउने, एउटै सिद्घान्त धेरै विद्वान्को छ भने कसलाई प्राथमिकतामा राख्नेजस्ता सवालहरूमा, लेख्ने कागज नै नभएजस्तो गरी, ६ महिना पढाइने कोर्सबारे आधा पृष्ठ त्यो पनि अस्पष्ट लेखिनु नै त्रिवि पाठ्यक्रम विकास केन्द्रले ‘विकास’ गरेका सामग्रीहरूको साझा समस्या हो ।

शिक्षक इमानदार र विषयविज्ञ छ भने त त्यही शीर्षकमा पाठलाई छुट्याइएको घण्टा हेरेर विद्यार्थीलाई प्रशस्त अध्ययन गराउन सक्छ, तर शिक्षककै नियतमा खोट र विषयविज्ञतामा खडेरी छ भने त्रिविको कोर्स करिकुलममा विद्यार्थी झुक्याउन मिल्ने प्रशस्त छिद्र छन् । यसका अलावा स्नातकोत्तरमा एउटा विषयमा राखिएका पाठहरू उही तहमा अध्ययन गर्ने अर्को विषयमा दोहोरिने समस्या पनि देखिएको छ ।

लैंगिक अध्ययन, ग्रामीण अर्थशास्त्र, जनस्वास्थ्य र चलचित्र अध्ययनमा राखिएका अनुसन्धान विधिसम्बन्धी कोर्स करिकुलम निर्माण गर्दा सम्बन्धित क्षेत्रको विषयविज्ञको सहयोग नै नलिएको आभास हुन्छ । कोर्स करिकुलम प्रत्यक्ष रूपमा समग्र शिक्षाको गुणस्तरसँग जोडिने हुनाले त्रिविको शैक्षिक गुणस्तरलाई मापन गर्दा त्यो समसामयिक नभएको स्पष्ट देखिन्छ । त्रिविले यथाशीघ्र थुप्रै विषयका कोर्स करिकुलमलाई पुनर्ताजगी गर्नुपर्ने आवश्यकतालाई ‘सेन्स अफ अर्जेन्सी’ का साथ महसुस गर्नुपर्छ ।

अध्यापनरत जनशक्ति

हालसम्म पनि उपप्राध्यापक हुन न्यूनतम योग्यता स्नातकोत्तर मात्र राखिनु नै त्रिविको गुणस्तर संकुचनको पहिलो पाइलो हो । त्रिविका थुप्रै विभागमा स्नातक वा स्नातकोत्तरलाई स्थायी, करार वा अस्थायी जनशक्तिका रूपमा आजकै दिनमा पनि स्नातकोत्तर मात्र गरेको जनशक्तिले अध्यापन गर्दै आएको छ । विद्यार्थीहरूले आफूभन्दा गुणात्मक रूपमा अतिरिक्त र उपल्लो शैक्षिक योग्यता भएका अनुभवी शिक्षकहरूबाट अध्ययन गर्न पाउने अवसरबाट वञ्चित हुनुपरेको प्रतिफल प्रत्येक दिनको कक्षामा प्रतिविम्बित भई नै रहेको हुन्छ ।

एकातर्फ जनशक्तिको अभावमा न्यून योग्यता भएकामा पठनपाठन निर्भर छ, अर्कातर्फ विद्यावारिधि गरेको जनशक्तिसमेत त्रिवि सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सेवा प्रवेश गर्न खोज्दा मानवशास्त्र जस्ता विभागहरूमा गरिएको नीतिगत भ्रष्टाचारका कारण अनुभवी र दक्ष जनशक्ति भित्रिन अड्चन पैदा भइरहेको छ । समकक्षताको सवालमा त्रिविले लामो समयसम्म पाल्दै आएको खोक्रो अहंका कारण उत्कृष्ट विश्वविद्यालयहरूबाट उत्पादित दक्ष जनशक्तिलाई आफ्नो पोल्टामा पार्न सकेको छैन, जसको पीडा भोग्न विद्यार्थीहरू बाध्य भइरहेका छन् । सेवा आयोगको परीक्षा नै समय–समयमा नहुने र अधिकांश विभागमा स्थायी शिक्षक कम हुँदै जाँदा पनि पदपूर्ति गर्न नसक्ने नियतिबाट त्रिवि गुज्रिरहेको छ । यसका अलावा हाल अध्यापनरत अस्थायी र करार मात्र होइन, त्रिविमै कार्यरत अधिकांश विभागका स्थायी शिक्षकहरूले समेत शिक्षण दर्शनको यथेष्ट तालिम नै पाएका छैनन् ।

स्नातकोत्तर अध्ययन गराउने विभागहरूमा समेत व्यवस्थित र सम्बन्धित विषयका पछिल्ला पुस्तक र जर्नलहरू उपलब्ध हुने पुस्तकालय नै नहुनुले पनि त्रिविमा पठनपाठनको संस्कृति गतिशील र बहुआयामिकभन्दा कामचलाउ भइरहेको आभास हुन्छ । जनस्वास्थ्यजस्ता विषयहरूमा स्नातकमै विद्यार्थीहरूले जानिसकेको बहानामा स्नातकोत्तरमा समुदाय अन्वेषण गर्न अनिवार्य नगर्नु, मानवशास्त्रजस्ता विषयहरूमा परम्परागत रूपमा गरिआएका बाहेक नवीनतम् शिक्षण प्रक्रियामा जोड नदिइनुजस्ता घटनाहरू त्रिविभित्र भइरहेको शैक्षिक गुणस्तर संकुचनका केही उदाहरण मात्र हुन् ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय प्राज्ञिक उपलब्धि हासिल गरेका अनुभवी शिक्षकहरू बायोमेट्रिक हाजिरीको कडीकडाउ वा अन्य बहानामा एकपछि अर्को गरेर त्रिविबाट राजीनामा दिई बिदा हुँदा पनि अनुभवी र दक्ष जनशक्ति पलायनका कारण शैक्षिक गुणस्तरमा धक्का लाग्छ भन्ने पाटोलाई त्रिविले गम्भीर रूपमा लिएको देखिँदैन ।

अनुसन्धान संस्कृति

गुणस्तरीय शिक्षाको एउटा महत्त्वपूर्ण पाटो सम्बन्धित विषयसँग जोडिएको अनुसन्धान संस्कृति हो । त्रिविमा कार्यरत प्राज्ञहरूले नै त्रिविले तेर्स्याएको अनुसन्धानसम्बन्धी प्रशासनिक झमेलाको बहानामा आफ्नै विभागहरूभन्दा अन्य गैरसरकारी संस्थामा आबद्ध भएर अनुसन्धान गर्ने चलन छ । त्रिविका विभागबाट दातृसंस्थाहरूको अनुदानमा अनुसन्धान गर्दा सहकर्मीले चाल पाउलान् कि भन्ने डरले ग्रस्त भएर सकेसम्म आफ्नो सामाजिक सञ्जालमा सहकर्मीहरूलाई प्रवेश गराउनै नचाहने प्राज्ञहरू उल्लेख्य छन् ।

यसका अलावा विश्वविद्यालय अनुदान आयोगले दिने अनुसन्धानवृत्ति सम्बन्धित प्रस्ताव गुणस्तरीय नभए पनि विश्वविद्यालयको स्थायी शिक्षकले पाउने सम्भावना बढी हुने, विश्वविद्यालयको कोर्स पढाउने तर ज्यालादारी शिक्षक हो भनेचाहिँ अनुसन्धानका लागि उन्नत अवधारणा भए पनि आवेदन दिनसम्म अयोग्य हुने अवस्था छ । पार्ट टाइमरकै हैसियतमा त्रिविको कोर्स पढाएर त्यसको सिस्टम धानिदिनुपर्ने तर अनुसन्धान वृत्तिमा आवेदन दिनचाहिँ नपाइनेजस्ता फरक व्यवहारका कारण त्रिविमा आबद्ध सबै खाले जनशक्तिलाई अनुसन्धानमा जोडिने वातावरण बन्नै सकेको छैन । यस अतिरिक्त त्रिविका अधिकांश विभागले आफ्नै जर्नलसमेत प्रकाशन गर्ने गरेका छैनन् ।

पहिले एकै ठाउँ हुँदा जर्नल प्रकाशन गरेका समाजशास्त्र तथा मानवशास्त्रजस्ता विभागहरू पनि वर्षौंदेखि निदाएका छन् । नियमित रूपमा अनुसन्धानपत्र लेखन, प्रकाशन र सम्पादन गर्न सक्ने सीप विकासतर्फ त्रिविका अधिकांश विभागमा कार्यरत प्राज्ञहरूलाई कुनै दबाब छैन । त्रिविकै सिनासजस्ता अनुसन्धान केन्द्रहरूले पनि अनुसन्धानका क्षेत्रमा प्रशंसा नै गर्नुपर्ने गरी गतिशीलता देखाउन सकेका छैनन् ।

थेसिस लेख्दा अनुसन्धानको समस्याले मागेको विधिभन्दा तोकिएको अनुसन्धान सुपरभाइजरको इच्छा र दबाबअनुसारको ढाँचामा ढाल्नुपर्ने नत्र विद्यार्थी यावत् झमेलामा फस्नुपर्ने बाध्यता प्रत्येक विभागको नियति हो । जनस्वास्थ्यजस्ता विषयमा जर्नल क्लबहरूको व्यवस्था गरिएको तर सम्बन्धित प्राज्ञहरूले यथेष्ट समय नदिने गरेका कारण त्यहाँ विद्यार्थीहरूले अनुसन्धानसम्बन्धी आलोचनात्मक ज्ञान सिक्न पाएका छैनन् । समग्रमा, त्रिविले बदलिँदो विश्वपरिस्थितिबमोजिम अनुसन्धान संस्कृतिमा जोड दिन सकेको छैन जसका कारण शैक्षिक गुणस्तरमा सम्झौता भइरहेको छ ।

विद्यार्थीहरूको प्रतिबद्धता

गुणस्तरीय शिक्षाको अर्को महत्त्वपूर्ण साझेदार विद्यार्थी स्वयं हो । सरकारी संस्थाहरूमा प्रतिस्पर्धा गरेर सम्बन्धित डिग्री हासिल गर्न भर्ना भएका विद्यार्थीहरू कक्षामा नियमित उपस्थित नहुनु नै त्रिविको शैक्षिक गुणस्तरमा धक्का लाग्ने अर्को तत्त्वका रूपमा देखा परिरहेको छ । प्रत्येक सेमेस्टरमा निश्चित घण्टा, निश्चित पाठका लागि छुट्याइएको हुन्छ ।

शिक्षकले प्रत्येक दिन गयल भएका विद्यार्थीलाई ख्याल गरी एउटै विषयवस्तु दोहोर्‍याएर बसिरहन सम्भव हुँदैन । जब व्यक्तिगत वा रोजीरोटीका कारण विद्यार्थीहरूको अनुपस्थिति अस्वाभाविक तरिकाले बढ्न थाल्छ तब कक्षामा सम्बन्धित विषयवस्तुको आधारभूत र सिलसिलेवार ज्ञान भएका र नभएका दुई प्रकारका विद्यार्थीको उपस्थिति हुन थाल्छ । लगातार अनुपस्थित र अनियमित विद्यार्थीले ‘यो शिक्षकले पढाएको भएन’ भन्दै आवाज उठाउने नैतिक साहस राख्दैन ।

कक्षामा आएर शिक्षकलाई प्रश्न गर्ने, छलफल गर्ने विद्यार्थीहरू आजको दिनमा चलचित्रको पर्दामा बाहेक यथार्थमा विरलै भेटिन्छन् । फलस्वरूप, शिक्षकले जसरी पनि तोकिएको घण्टामा पाठ सक्न खोज्ने र विद्यार्थी पनि बाध्यताले मात्र सम्बन्धित विषय अध्ययन गर्न जोडिएको जस्तो गर्ने यान्त्रिक संस्कारले अन्ततोगत्वा शिक्षाको गुणस्तरमै ह्रास आइरहेको छ । त्रिविका थुप्रै कार्यक्रममा भिसा लाग्नुअघि ‘नेपालमा टाइमपास गर्दै गरौं न’ भनेर भर्ना भएका विद्यार्थीको बाक्लो उपस्थिति हुने गर्छ ।

त्यसैले ज्यान नेपालमा ध्यान विदेशतिर भएका विद्यार्थीहरू अक्सर समाजविज्ञानजस्ता विषयहरूका कक्षामा बग्रेल्ती भेटिन्छन् । शैक्षिक माफियाहरू नयाँ विद्यार्थीको भेषमा ग्राहक खोज्न कक्षामै आइपुग्नाले पनि गम्भीर अध्ययन गरेर आफ्नो क्यारिअर बनाउँछु भन्ने विद्यार्थीहरूको उपस्थिति न्यून हुँदै गएको छ । अध्ययनमा गम्भीर रुचि भएका विद्यार्थीहरूको संख्या थुप्रै विभागमा घट्दै जानु र त्यसैले गर्दा शिक्षकले पनि अल्छी गर्नु त्रिविमा शिक्षाको गुणस्तरमा ह्रास आउने अर्को प्रमुख कारक हो ।

अन्तमा, त्रिविको शैक्षिक गुणस्तरले कक्षाकोठामा प्रत्येक दिन के पाकिरहेको छ भन्ने पाटोको विश्लेषण मात्र नभई निकट भविष्यमा कस्तो नेतृत्व आउँदै छ भन्ने सवालसँग पनि सरोकार राख्छ । विश्वविद्यालयको प्राज्ञिक गरिमा उकास्न दलीय सिफारिसमा उपकुलपति बन्ने प्रणालीको अन्त्य हुनुपर्छ भनेर सार्वजनिक वृत्तमा आवाज उठिरहेको छ । प्रधानमन्त्री दाहालसहित अन्य दलका शीर्ष नेतृत्वहरूले विगतमा त्रिविलाई दलीय हस्तक्षेपबाट मुक्त गराएर गैरदलीय उपकुलपति हुनुपर्ने माग जायज भनेका थिए ।

यद्यपि हाल आएर त्रिवि नेतृत्व छनोट गर्ने समयमा भने प्रमुख राजनीतिक दलहरूमा उस्तै रस्साकस्सी चलिरहेको छ । उपकुलपति दलीय सिफारिसमा नियुक्त गर्नुभन्दा ‘बोर्ड अफ ट्रस्टी’ हरूको गठन गरेर त्रिविलाई स्वायत्त प्राज्ञिक संस्थाका रूपमा विकास गरी शैक्षिक गुणस्तर बढाउनुपर्ने माग पनि चौतर्फी रूपमा उठिरहेकै छ । नेतृत्व चयनको सवालमा यथास्थितिकै पुनरुत्पादन गरेर त्रिवि सुध्रिन्छ भन्नु, दार्शनिक रस्किनले भनेझैं, सचेत प्रयासहरू नगरीकनै आफैं दुर्घटनास्वरूप गुणस्तर वृद्धिको फगत अपेक्षा मात्र हो । त्रिविलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराएर स्वच्छ प्रतिस्पर्धाबाट प्राज्ञिक ओज भएका व्यक्तिलाई नेतृत्वमा ल्याउनु नै गुणस्तर बढाउने उत्तम विकल्प हो ।

दलीय हस्तक्षेपका कारण जर्जर भएको त्रिविलाई गैरदलीय नेतृत्व दिएर ऐतिहासिक गुन लगाउन सक्ने इच्छाशक्ति सत्ता साझेदार राजनीतिक दलबाट प्रदर्शन हुन सके नेपाली जनताले तिनलाई मुक्तकण्ठले धन्यवाद भन्ने दिन अवश्य आउनेछ ।

प्रकाशित : पुस ४, २०८० ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?