२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

जाडोमा निम्तिने जोखिम 

डा. प्रकाश बुढाथोकी

चिसो दिनानुदिन बढिरहेको छ । जति बढी गरिब, चिसोले त्यति बढी असर पर्छ । एकसरो लुगासमेत राम्रोसँग लाउन नपाउने गरिब जनता, त्यसमाथि बूढाबूढी, सुत्केरी, दीर्घरोगी र बालबालिकाका लागि चिसो याम कष्टप्रद हुन्छ । मधेशमा अधिकांश समय गर्मी हुने भएकाले जाडोका लागि विशेष जोहो गर्ने चलन हुँदैन ।

जाडोमा निम्तिने जोखिम 

दैनिक ज्याला–मजदुरी गरेर छाक टार्नेहरूसँग न्यानो लुगा किन्ने क्षमता हुँदैन । भएको एकसरो लुगा पनि शीतलहरले गर्दा चिसो हुने, घाम नलागी नसुक्ने समस्या हुन्छ ।

चिसो मौसममा इन्फ्लुएन्जा, क्षयरोग र निमोनिया जस्ता स्वास्थ्य समस्या देखिन्छन् । बसभित्र कोचाकोच गरी यात्रा गर्दा श्वासप्रश्वास र सम्पर्कबाट सर्ने अनगिन्ती रोग एक व्यक्तिबाट अन्यमा सर्न सक्छन् । बसको छतमा यात्रा गर्नेहरू निमोनियाको जोखिममा छन् । हरेक १० जनामध्ये ६ जनामा रहेको क्षयरोगका जीवाणु पनि सर्ने जोखिम उच्च हुन्छ ।

अत्यधिक चिसो र शीतलहरले शरीर कमजोर भएका बेला झाडापखाला, निमोनिया, टाउको र छाती दुख्ने, हातखुट्टाका औंला र कान राता हुने, चिलाउने, सुन्निने र कहिलेकाहीँ घाउ हुने, रुघाखोकी, दम र यसका जटिलता देखा पर्न सक्छन् । दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुक्खा हुने, फुस्रो हुने र फुट्ने समस्या पनि हुन सक्छन् । चिसोको एलर्जी हुने, अपच, पखाला, आउँ जस्ता पाचनसम्बन्धी रोग देखा पर्ने र हातखुट्टा र जोर्नी सुन्निने पनि हुन सक्छ । मुटु, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई चिसोले बढी सताउँछ । मुटु र मस्तिष्कमा असर पारेर हृदयाघात गराउने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने जोखिम पनि हुन्छ ।

जाडोमा शारीरिक सरसफाइमा कमी हुँदा विभिन्न संक्रमणको जोखिम हुन्छ । यो मौसममा बोसोयुक्त र गरिष्ठ परिकार खानाले अपच, ग्यास्ट्राइटिस, झाडापखाला हुन सक्छ । जन्डिस र टाइफाइड समस्या चिसोका बेला प्रशस्त देखिन्छ । जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप बढ्छ, सबैजसो दीर्घरोगहरू बढी गम्भीर बन्छन् ।

शरीरको भित्री तापक्रम ३० डिग्री सेल्सियसभन्दा कम हुन गए हाइपोथर्मिया वा शीतांगको समस्या आउँछ । तुरुन्तै उपचारको जरुरत पर्ने यो एउटा मेडिकल इमर्जेन्सी हो । शरीरको तापक्रम ३२ डिग्री सेल्सियस पुग्दासम्म शरीरले अनुकूल काम गर्छ तर त्योभन्दा कम भए शरीरमा अक्सिजनको परिपूर्तिमा ह्रास आउँछ र कार्बन डाइअक्साइडको मात्रामा वृद्धि भई शरीर काम्नुको साटो मांसपेशी कडा हुने, निदाउने, शिरा–धमनी संकुचन हुने र रक्तचाप, मुटुको चाल र श्वासप्रश्वास घट्दै जाने समस्या हुन्छ । प्रभावित व्यक्तिका लागि न्यानोपन नै प्रमुख उपचार हो ।

बन्दकोठामा हिटर बाल्दा अक्सिजनको कमी हुन्छ, वातावरणमा आर्द्रता घट्छ । त्यसले श्वासनलीको भित्री भागमा हुने म्युकस लेयर्र सुक्खा बनाउँछ । म्युकस सुक्खा हुँदा विभिन्न ब्याक्टेरिया, भाइरस सीधै फोक्सोमा छिर्न सक्छन् । लामो समय हिटर बाल्दा खकार सुक्खा बन्छ, नाक सुक्खा वा बन्द हुन्छ, पिनासको समस्या पनि देखिन सक्छ । म्युकस लेयर सुन्निँदा दम, ब्रोन्काइटिसका बिरामीमा समस्या बढ्छ । खकार सुक्खा भए शरीरभित्रै खकार टाँसिने र अक्सिजन नली बन्द हुने तथा निमोनियाको खतरा बढ्ने हुन सक्छ । हरेक जाडोमा कोठामा हिटर, कोइला बालेर सुत्दा अक्सिजन कम भएर मानिसको मृत्यु हुने गरेका समाचारहरू आउने गर्छन् ।

प्राकृतिक ग्यास, प्रोपेन, पेट्रोल, तेल, मट्टीतेल, काठ वा कोइला डढाउँदा कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । कार, पेट्रोल, डिजल, ग्यासबाट चल्ने इन्जिन, स्टोभ, हिटिङ सिस्टम लगायतका उपकरणबाट कार्बन मोनोअक्साइड ग्यास निस्कन्छ । कोठामा चिम्नी वा भेन्टिलेसनको उचित व्यवस्था नहुँदा, रुम वा वाटर हिटर, कुकर जस्ता उपकरणको गलत तरिकाले फिट गरिँदा र उचित रेखदेख नहुँदा कार्बन मोनोअक्साइड ग्यास निस्कँदै जम्मा हुन्छ । कार्बन मोनोअक्साइड रंगहीन र गन्धहीन त्यस्तो विषालु ग्यास हो, जसलाई न देख्न सकिन्छ न त चाख्न वा सुँघ्न सकिन्छ ।

कार्बन मोनोअक्साइको सामान्य सम्पर्कमा आउँदा सुरुसुरुमा अलिअलि टाउको दुख्छ । निरन्तर सम्पर्कमा रहँदा टाउको अति दुख्ने, रिँगटा लाग्ने, थकान, वाकवाकी, चिटचिट हुने जस्ता समस्या देखिन सक्छन् । निर्णय क्षमता, स्मरण शक्ति र अंगमा तालमेलको कमी हुन थाल्छ । स्नायुतन्त्रमा दीर्घकालीन हानि पनि हुन सक्छ । प्रारम्भिक लक्षणहरूमा ध्यान नदिँदा प्रभावित व्यक्ति बेहोसीको अवस्थामा जान्छ तर कहिलेकाहीँ बिनाकुनै लक्षण पनि मानिस बेहोस हुन सक्छ । न्यून मात्राको कार्बन मोनोअक्साइडसँग निरन्तर सम्पर्कमा रहँदा वा एकै पटक धेरै मात्रामा सम्पर्कमा रहँदा स्रोत हटाएपछि पनि स्वास्थ्यमा दीर्घकालीन नोक्सान पुग्न सक्छ ।

कार्बन मोनोअक्साइड नाप्न मिल्ने गरी छोटो समय मात्र रगतमा रहन्छ, तुरुन्तै निस्किहाल्छ । रगतमा कार्बन मोनोअक्साइडको मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ । रगतमा कार्बन मोनोअक्साइडको मात्रा ६० प्रतिशत हुँदा मान्छेले चेतना गुमाउँछ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृत्यु हुन्छ ।

चिसोका कारण उत्पन्न हुन सक्ने यस्ता स्वास्थ्य समस्याबाट जोगिन धूवाँ–धूलोबाट बच्नुपर्छ । बाहिर निस्कँदा मास्क लगाउनु उत्तम हुन्छ । न्याना लुगा लगाउनुपर्छ । पोषणयुक्त सन्तुलित खाना खानुपर्छ । भिटामिन सी पर्याप्त भएका र मौसम अनुसारका ताजा फलफूल तथा सागपात खानुपर्छ । सरसफाइमा बढी ध्यान दिनुपर्छ । प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्नुपर्छ । पूरै झ्यालढोका बन्द गरी बाथरुममा नुहाउने, कोठामा भुसको आगो बाल्ने, मकल ताप्ने, मट्टितेल तथा ग्यासयुक्त हिटर, कोइला र आगो बाल्ने गर्नु हुँदैन ।

-बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष हुन् ।

प्रकाशित : मंसिर १४, २०८० ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?