२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सीसीटीभीको निगरानीमा विद्यार्थी

राजधानीमै धेरैजसो निजी विद्यालय टहरामुनि छन् । साँघुरा गल्ली र मूल सडकसँगै जोडिएका टहरे विद्यालय हाताभित्र पुस्तकालय कक्ष र प्रधानाध्यापकका कक्ष हेर्दा विद्यालय निकै भव्य र सुन्दर भएको भान हुन सक्छ तर जब कक्षाकोठामा छिरिन्छ, शौचालय नियालिन्छ, क्यान्टिन पसिन्छ अनि अभिभावक झस्कन्छन्, यस्ता विद्यालयमा बालबालिकाहरू दिनभरि कसरी टिक्छन् र पढ्छन् भनेर ।

सीसीटीभीको निगरानीमा विद्यार्थी

साँघुरा कक्षामा कोचाकोच खाँदिएर बसेका विद्यार्थी चालिस–पैंतालिस मिनेटको एक पिरियड पढाइ सक्न अतालिन्छन् । पिसाब फेर्ने र पानी खाने बहाना बनाउँदै कक्षाबाट बाहिरिइरहन्छन् । हुन त केही वर्षअघिको कहालीलाग्दो भूकम्पका समयमा ठूला र अग्ला पक्की विद्यालयका विद्यार्थीहरू त्यस्ता भवनमा पढ्नै डराएको पनि देखियो । त्यो भूकम्पले भुइँतला वा टहरे विद्यालय नै ठीक भन्ने मानसिकता सबैमा लादिदियो । केही अग्ला–अग्ला घर तथा कार्यालयहरूले पनि माथिल्ला तला भत्काएको देखियो । ठूलठूला भवन भएका विद्यालय खोज्दै हिँड्ने अभिभावकको सोचाइमा व्यापक परिवर्तन आयो, तापनि यो अवस्था लामो समय भने टिक्न सकेन ।

केही समयपछि नै फेरि टहरे विद्यालयहरू उपेक्षामा परे । हाल गाउँसहर जतासुकै बहुसंख्यक निजी विद्यालयहरू टहरामै सञ्चालित छन् । तिनै साँघुरा र अँध्यारा टहरे विद्यालयका कुनामा जडान गरिएका सीसी क्यामेराका कैदमा छन् विद्यार्थीहरू । सीसी क्यामेरामा कैद भएका कक्षाकोठाका विद्यार्थीका क्रियाकलापहरू प्रधानाध्यापकले आफ्नै कार्यकक्षबाट नियालिरहेका हुन्छन् । कक्षाकोठामा पढाइ नभएको र भइरहेकै समयमा पनि अधिकांश विद्यार्थी चलिरहेका हुन्छन्, झगडा पनि गरिरहेका हुन्छन् ।

माथिल्ला कक्षाका विद्यार्थीहरूसमेत आफू सीसी क्यामेराको निगरानी रहेको कत्ति पनि ख्याल गर्दैनन् । तिनको ध्यान पढाइ–लेखाइभन्दा अन्तैतिर खिचिइरहेको हुन्छ । शिक्षकहरूलाई भने कक्षाकोठाको सीसी क्यामेराले हरपल निकै सचेत गराएको हुन्छ । शिक्षकहरू शिक्षण क्रियाकलापमा सचेत र सक्रिय देखिए पनि विद्यार्थीहरूको सिकाइ क्रियाकलापमा सीसी क्यामेराले खासै फरक पारेको पाइँदैन ।

सीसीटीभीले मानिसलाई इमानदार बन्न बाध्य र विवश पनि बनाएको छ । विद्यालय तथा विश्वविद्यालयमा यसको प्रयोग व्यापक बन्दै छ । प्रायः विद्यालय तहका साना चुलबुले बालबालिका पनि टहराका साना साँघुरा कक्षाकोठामा सीसी टीभीको निगरानीमा रहने गरेका छन् । शौचालय, कक्षाकोठा, डेस्क बेन्च, खाने पानी आदिको अवस्था दयनीय भएका साना तथा मझौला विद्यालयहरूमा पनि सीसीटीभी जडान गरी प्रधानाध्यापकले कक्षाकोठाको शिक्षण सिकाइ क्रियाकलाप नियालिरहेका देखिन्छन् ।

त्यसो त हरेक व्यवस्थापकले आफ्नो संगठन चुस्त–दुरुस्त रूपमा चलाउन सीसीटीभीको सहयोग लिनु उपयुक्त मान्न सकिन्छ । अन्य क्षेत्रमा झैं विद्यालयहरूले पनि आफ्ना संस्थाभित्रको हरेक क्रियाकलाप नियाल्न यसको उपयोग बढाउँदै गएका छन् । तर सीसीटीभीका माध्यमबाट कक्षामा शिक्षकको शिक्षण क्रियाकलाप र विद्यार्थीको सिकाइ क्रियाकलाप मात्र होइन, विद्यार्थी संख्याका आधारमा कक्षाकोठाको उपयुक्त अवस्था, डेस्क बेन्च तथा विद्यार्थीका किताब कपी झोला राख्ने अवस्था पनि नियाल्नु र उचित व्यवस्थापन गर्नु जरुरी छ । कक्षाकोठामा विद्यार्थीलाई सिक्नका लागि चाहिने शैक्षिक सामग्रीहरू उचित मात्रा र स्थानमा छन् कि छैनन्, शिक्षकले कक्षाकोठामा लगेका शैक्षिक सामग्रीहरू सहज र सुरक्षित ढंगले राख्ने ठाउँको व्यवस्था भएको छ कि छैन भन्नेसमेत प्रधानाध्यापकले ख्याल गर्नुपर्छ ।

विद्यालयहरूका कक्षाकोठामा सीसी क्यामेरा बढेसँगै विद्यार्थीहरूमा अनुशासन र शिक्षण सिकाइ क्रियाकलापमा व्यापक सुधार हुनुपर्ने हो तर त्यस्तो देखिँदैन । बरु शिक्षण कार्यप्रति असन्तुष्टि जनाउँदै जुनसुकै समयमा शिक्षकलाई निष्कासन गर्ने वा शिक्षकले छाड्ने कार्यले गर्दा विशेषतः निजी विद्यालयहरूमा शिक्षकको अभाव अझ खट्किँदै गएको छ । कक्षाकोठामा सीसी क्यामेरा जडान गरिए पनि विद्यालय तहका उच्छृंखल बन्दै गएका विद्यार्थीलाई अनुशासित बनाउने र सिकाइमा सहजीकरण बढाउने काम चुनौतीपूर्ण बन्दै गएको छ । त्यसैले सीसी क्यामेराको निगरानीमा कैद भएर त्यस्ता विद्यार्थीलाई पढाउन कैयौं शिक्षक त विद्यालयमा छिर्नै चाहँदैनन् ।

कुन कक्षाका विद्यार्थीले के सिक्न चाहन्छन् र राष्ट्रिय आवश्यकताअनुरूप के सिकाइनुपर्छ भन्ने सामान्य ज्ञानबिना नै लादिएका पुस्तकका ठेली रट्न र कण्ठस्थ पार्न अचेलका बालबालिकामा रत्तिभर रुचि देखिँदैन । घरायसी व्यवहारका लागि, समाजका लागि र राष्ट्रकै लागि आवश्यक आधारभूत, जीवनोपयोगी तथा राष्ट्रिय महत्त्वका सीपमूलक सिकाइ प्रदान गर्ने शिक्षा व्यवस्था हामीले अँगाल्न नसक्दा विद्यार्थीलाई सिकाइमा उत्प्रेरित गर्न–गराउन विद्यालयहरूलाई निकै कठिन भइरहेको छ ।

हाल विद्यालय तहको प्रत्येक कक्षाका करिब ७५ प्रतिशत विद्यार्थीमा आधारभूत ज्ञानसीप नै छैन । तल्ला कक्षामा पढ्नु–सिक्नुपर्ने आधारभूत विषयहरूको सिकाइ नभएका अधिकांश माथिल्ला कक्षाका विद्यार्थीका शैक्षिक गुणस्तर अत्यन्त कमजोर देखिन्छ । सीसीटीभीका सहायताले आजका कतिपय उच्छृंखल विद्यार्थी र कामचोर शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप कार्यकक्षमै बसेर विद्यालय सञ्चालकले नियाल्न सक्ने सहज अवस्था त आएको छ तापनि शिक्षणसम्बद्ध कमीकमजोरी हटाई सहजीकरण गर्नमा प्रधानाध्यापकहरू सक्रिय र सक्षम देखिँदैनन् ।

प्रकाशित : मंसिर १, २०८० ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?