२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

बालबालिकामा भूकम्पपछिको कुपोषण

नेपालमा पोषणयुक्त खानाको कमी छैन; कमी छ त केवल त्यस्ता खानेकुराहरूको महत्त्व जानेर, तिनको प्रयोग गर्नमा जोड दिने नीतिको ।
अरुणा उप्रेती

भूकम्प, बाढी, ज्वालामुखी, आँधीबेहरीबाट बचेका व्यक्तिहरूलाई गाँस, बास र कपासको समस्या परिहाल्छ । जाजरकोट र अन्य जिल्लामा भूकम्पका कारण समस्या आइसकेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूले यस्ता समस्यालाई नै निराकरण गर्न बढी तदारुकताका साथ काम गर्लान् भन्ने आशा त हुन्छ, तर अहिलेको अवस्थामा अब भूकम्पपछि विशेष गरी शिशु र बालबालिका कुपोषणग्रस्त नहोऊन्, उनीहरूमा शारीरिक–मानसिक अस्वस्थता नहोस् भनी छलफल थालिहाल्नुपर्छ ।

बालबालिकामा भूकम्पपछिको कुपोषण

नेपालमा पोषणयुक्त खानाको कमी छैन; कमी छ त केवल त्यस्ता खानेकुराहरूको महत्त्व जानेर, तिनको प्रयोग गर्नमा जोड दिने नीतिको । त्यसैले अब त्यस्तो छलफलको खाँचो किन छ भने भूकम्प गएका क्षेत्रमा अहिले चाउचाउ, कुरमुरे, बिस्कुटलाई ‘पोषक तत्त्वयुक्त प्याकेट’ भनेर खानामा हालेर खान दिनू भन्दै बाँडियो भने बालबालिकालाई कुपोषण हुन सक्छ । भूकम्पपछि धेरै संघसंस्थाले चाउचाउ, बिस्कुट, कुरमुरे लगेर आहत भएकाहरूलाई राहत दिने ‘नकाम’ सुरु गरिसकेका छन् । चाउचाउ, बिस्कुट ‘पत्रु खाना’ हुन् नै, झन् यस्तो समस्याका बेला त कुहिएको र बिग्रेको चाउचाउ (भूकम्पपीडित क्षेत्र) मा पुग्नेछन् ।

‘अहिलेको कठिन परिस्थितिमा चाउचाउ र बिस्कुट खान किन दिनु हुँदैन’ भनेर कसैले भन्लान् पनि । किन दिनु हुँदैन भने यसै त समस्या परेका कुपोषित बालबालिकालाई ‘सेवा’ दिने यस्ता चाउचाउ र बिस्कुटले उनीहरूलाई झन् कुपोषित तुल्याउँछ ।

अहिलेको कठिन अवस्थामा व्यक्ति र बालबालिकालाई दीर्घकालीन कुपोषण भयो भने कसरी यसबाट मुक्ति पाउने ? नेपालमा २०७२ मा गएको भूकम्पमा पनि ‘चाउचाउ र कुरमुरे बाँड्नु हुँदैन, बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राखेर यस्तो कामलाई निरुत्साहित गर्नैपर्छ’ भनेर मैले लेखेकी थिएँ । यस्तो विपत्का बेला आगोको जोहो गरेर सजिलोसँग पकाउन सकिने खिचडी, जोगीभात, आलु, दाल, तरकारी आदिमै जोड दिन लगाउनुपर्ने रहेछ भनेर मैले भारतमा सुनामी आउँदा सिकेकी थिएँ । तर नेपालमा प्रायः सरकार र संस्था यस्तो कामलाई झ्याउलाग्दो भनेर चाउचाउका पोका बाँड्छन् !

यस्तो कठिन परिस्थितिमा सूक्ष्म पोषण तत्त्वको अभाव हुन्छ भनेर ‘सूक्ष्म पोषण तत्त्व’ लेखिएका अनेक प्याकेट दिएर बालबालिकालाई खुवाउनू भन्दै कतिपयले बालभिटाको पोको बाँड्छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाम्रै वरिपरि पाइने र अहिले नेपालमा सजिलै उपलब्ध हुने विभिन्न खाद्य पदार्थ प्रयोग गर्न सिकाउँछ होला ? त्यस्ता वस्तुहरू भूकम्पबाट आहत भएकाहरूलाई दिएर सूक्ष्म पोषण तत्त्वको सम्भावित कमीलाई न्यून गर्न सकिन्छ भनेर विचार गर्छ होला ? गर्दैन भने अब गर्न लगाउनुपर्छ । भूकम्प र बाढीपहिरोबाट आहत भएकाहरूलाई खिचडी, दाल आदि खान दिनुपर्छ, जसबाट उनीहरूले धेरै राहत महसुस गर्ने गर्छन् । टुसा उमारिएका विभिन्न गेडागुडीको झोल तातो भोजनसँगै खान दिँदा उनीहरूले स्वाद र पोषण दुइटै पाउँछन् । तर दाल, तिलमा पाइने पौष्टिकताबारे प्रायः छलफल हुँदैन; त्यस्ता खानेकुरा दिनुपर्छ भनेर कसैले विचारै गर्दैनन् । ‘नजिकको तीर्थ हेला’ भनेझैं वास्ता नगरेका हुन् कि ?

अहिले नेपालका विभिन्न भागमा पाइने वस्तुहरू भूकम्पप्रभावित क्षेत्रहरूमा पठाउन सकिन्छ । यसरी देशको अन्न किनेर देशमै बाँड्दा बालबालिकाको स्वास्थ्य पनि मजबुत हुन्छ । समुदायले आफ्नो संस्कृति अनुसार भोजन पनि पाउँछ । तर किन यस्ता सजिलो र सस्तोसँग पाइने वस्तुहरूको उपयोगमा ध्यान नदिई केवल बाहिरैबाट आउने प्याकेटलाई मात्र प्राथमिकता दिने गरिन्छ, बुझ्न गाह्रो छ ।

भारतमा सन् २००४ को सुनामी जाँदा मैले अन्तर्राष्ट्रिय संस्थासँग मिलेर काम गर्ने अवसर पाएकी थिएँ । सुनामीबाट प्रभावितहरूलाई स्कुल, कलेज र चर्च आदिमा राखिएको थियो; उनीहरूलाई आलु र दालसहितको खिचडी पकाएर खान दिइएको मैले देखेको थिएँ । सुनामीमा परेकाहरूको स्वास्थ्यमा तातो खानाको सकारात्मक प्रभाव परेको थियो । स्थानीय वडा, स्वयंसेवीहरूले पकाएर दिएको तातो खानाले प्रभावित व्यक्तिहरू दंग थिए । त्यसैले नेपालमा पनि अहिले त स्वास्थ्यकर्मी, रेडियो र पत्रिकामा कार्यरत सञ्चारकर्मी सबैले भूकम्पमा परेका बालबालिकालाई कुपोषणबाट बचाउन आफ्नै वरिपरिका खाद्य वस्तुहरूको प्रयोग गरियोस् भनी आवाज उठाउनुपर्छ ।

सुडानमा काम गर्दा, मेरा सहकर्मी एक इथियोपियन डाक्टरले भनेका थिए, ‘हाम्रो देशमा बच्चाहरूलाई सूक्ष्म पोषण तत्त्व र प्रोटिनको कमीबाट हुने समस्याको समाधान गर्ने विचार गरेर, टुसा उम्रेका विभिन्न गेडागुडीलाई सुकाएर र पीठो बनाएर, बालबालिकाको भोजनमा हालेर, सुप बनाएर खुवाइन थालियो । यस्तो पिठोमा साधारण आँटाको पीठोमा भन्दा बढी सूक्ष्म पोषक तत्त्वहरू पाइने भएकाले बच्चालाई प्रोटिन, सूक्ष्म पोषणको कमी हुन पाएन ।’ नेपालमा पर्याप्त मात्रामा गेडागुडी पाइने हुनाले अहिलेको कठिन परिस्थितिका साथै सामान्य अवस्थामा पनि यसरी टुसा उमारेको पिठो बनाउन सकिन्छ । यति सस्तो र सहज तथ्यको विचार नगरेर हामी बाहिरबाट आउने चाउचाउ, पाउरोटी र प्याकेटका रोटीमा भर पर्‍यौं भने यसले दीर्घकालीन रूपमा कुपोषण नै निम्त्याउनेछौं ।

म त भन्छु, विभिन्न संघसंस्थाले समुदायमा मानिसहरूलाई पनि र ‘अब तपाईंहरूले बिस्कुट र चाउचाउ लिएर आउने संस्थाहरूलाई यस्ता वस्तु हामीलाई चाहिन्न, हाम्रा बालबालिकालाई हामी यस्ता पत्रु खाना खान दिन्नौं भन्नुस् र फिर्ता गराइदिनुस्’ भन्नका लागि प्रेरित गर्नुपर्छ ।

दाताहरूलाई राहतमा यस्ता पत्रु खाना होइन, हाम्रै देशका विभिन्न भागमा पाइने चिउरा, कोदो, फापर, जुनेलो आदि ल्याउन लगाउनुपर्छ । यस्ता खानेकुरा खुवाउन केही मिहिनेत त गर्नुपर्छ, तर यसबाट बालबालिकालाई धेरै फाइदा हुन्छ । नत्र त भूकम्पपीडित क्षेत्रका बालबालिका कुपोषित भएर शारीरिक र मानसिक रूपमा दुर्बल हुनेछन् ।

भविष्यका लागि योजना बनाउने योजनाकार, संघसंस्था, पोषणविद्, बालरोग विशेषज्ञले पक्कै पनि हाम्रा वरिपरि भएका महत्त्वपूर्ण पोषणलाई ध्यान दिनेछन् । अब ‘बिस्कुट र पत्रु खाना राहतमा नदिनुस्’ भनेर आवाज उठाउनैपर्छ ताकि भूकम्पको मारपछि बालबालिका कुपोषणको पनि मारमा नपरून् ।

अहिले विभिन्न वैज्ञानिकले ‘कर्णाली र सुदूरपश्चिममा अझ ठूलो–ठूलो भूकम्प जान सक्छ’ भन्दै छन् । भूकम्प रोक्न त सकिन्न, तर समुदायमा भूकम्पपछि कसरी के खाने, सहजसाथ पकाउन सकिने खानेकुरा के–के हुन्छन्, प्रभावित क्षेत्रका बासिन्दाको रोगसँग लड्ने शक्ति कसरी बढाउने, विभिन्न सरुवा रोगबाट बचाउने उपाय कसरी गर्ने भन्नेबारे स्थानीय आम सञ्चारमाध्यमले जानकारी दिइरहनुपर्छ ।

यस्तो सचेतना फैलाउनमा समाजका अगुवा, राजनीतिक दलहरूका नेता, शिक्षकहरूले समेत ठूलो भूमिका खेल्न सक्छन् । साथै स्थानीय संघसंस्था, आमा समूहहरूले धेरै काम गर्न सक्छन् । तर, अहिलेकै समस्या चाहिँ कसरी समाधान गरिहाल्ने त ? चाउचाउ र बिस्कुट होइन, स्वास्थ्यकर खाना देऊ भनेर आवाज उठाउने कसले ? बिरालोको घाँटीमा घण्टी बाँध्ने कसले ? ठूला व्यापारिक घरानाहरूको ‘कुहिएको तयारी भोजन’ चाहिँदैन कसले भन्ने ?

प्रकाशित : कार्तिक २७, २०८० ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?