२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

विश्व (अ)व्यवस्थाको त्रासदी

विश्व व्यवस्था हुन्थ्यो भने युद्ध वा नरसंहारका पक्षमा उभिन्थ्यो ? हतियारधारीले निहत्थालाई मार्दा त्यसलाई आत्मरक्षा वा प्रतिरक्षा भन्दै लासहरूको साक्षी बस्न सक्थ्यो ? एक भएर युद्धविराम गर भनी दबाब दिन सक्दैनथ्यो ?
गोपाल खनाल

काठमाडौँ — पश्चिम एसियामा युद्धरत इजरायल र प्यालेस्टाइनबीच मानवीय युद्धविरामका लागि दबाब दिँदै आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस नेपालको चारदिने भ्रमण सकी कात्तिक १५ मा फर्केका छन् । २४ फेब्रुअरी २०२२ मा सुरु भएको रुस–युक्रेन युद्धले विश्वलाई सामरिक रूपमा मूलतः दुई ध्रुवमा विभाजित गरिरहेका बेला त्यसलाई छायामा पार्दै भइरहेको यो नरसंहारकारी युद्ध रोक्न मुख्य भूमिका खेल्नुपर्ने विश्व बहुपक्षीय फोरमका प्रमुखले किन यही बेला नेपाल भ्रमण गरे ?

विश्व (अ)व्यवस्थाको त्रासदी

वा, किन नेपाल प्राथमिकतामा पर्‍यो भन्ने स्वाभाविक जिज्ञासाहरू छन् । नेपाल र नेपालीका लागि भने यो ऐतिहासिक त्यति बेला भयो, जब कात्तिक १४ गते गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट इजरायल–प्यालेस्टाइन युद्ध र रुस–युक्रेन युद्ध रोक्न गुटेरेसले आह्वान गरे । राष्ट्रसंघको सदस्य रहेका १९३ देशमा यो सन्देश पुग्यो ।

असोज पहिलो साता राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा दिइएको निम्तो स्वीकार गरेर नेपाल आएका महासचिव गुटेरेसको भ्रमणलाई उनी काठमाडौंमा अवतरण गर्दा नै प्रधानमन्त्री पुष्पकमल दाहालले कूटनीतिक सफलताका रूपमा प्रस्तुत गरे । गुटेरेसपछि कतारका अमिर पनि भ्रमण आउँदै छन् भनेर प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकारले कूटनीतिक सफलता प्राप्त गरेको दाबीसहित सायद सत्ताको विकल्पका लागि भइरहेका भित्री प्रयासहरू अनुचित हुन् भन्ने सन्देश दिन खोजे । भागबन्डे सत्ताको पहिलो भाग रोजेका तर सत्तालाई प्रधान ठान्ने प्रधानमन्त्रीको यो बाध्यताको व्याख्या भयो । सत्तामा नहुँदा समाप्त हुन्छौं भन्ने ठूलो त्रासदीमा प्रचण्ड देखिन्छन् ।

जसरी अर्थ्याए पनि महासचिव गुटेरेसदेखि कतारका अमिर वा अरू कोही राष्ट्रप्रमुख र सरकारप्रमुखसम्मको नेपाल भ्रमण हुनु सकारात्मक नै हो । त्यस्तो भ्रमणलाई सरकारको आयुसँग जोडेर हेर्नु र त्यस्तो प्रचारमा रमाउनु भ्रम मात्र हो । देशभित्र नागरिकको मन र मत जित्न नसक्ने र भ्रमणको आत्मरतिमा रमाउनेहरू किनारातिर धकेलिँदै गएको यथार्थ हो । किनाराभित्रको एउटा शक्तिको नेतृत्वमा प्रचण्ड आफैं छन् । नेपालबाट प्रधानमन्त्रीदेखि मन्त्री र सचिवहरूका तारन्तारका बाक्ला विदेश भ्रमणको औचित्य भने प्रमाणित गर्न गाह्रो छ । तर यहाँ बहस गर्न खोजिएको विषय महासचिवको नेपाल भ्रमण र त्यसमा प्रधानमन्त्रीले स्थापित गर्न खोजेको संकथनमाथि होइन । रुस–युक्रेन युद्धले पुर्‍याएको मानवीय क्षतिमाझ थपिएको इजरायल–प्यालेस्टाइनबीचको मानवताविरुद्धको अपराधको साक्षी मात्र बस्ने विश्व व्यवस्था र त्यसले पार्ने दीर्घकालीन प्रभावमाथि बहस केन्द्रित गर्न खोजिएको हो ।

विश्व अहिले व्यवस्था हो वा अव्यवस्था

(वर्ल्ड अर्डर वा डिसअर्डर) ? विश्व व्यवस्था हुन्थ्यो भने युद्ध वा नरसंहारका पक्षमा उभिन्थ्यो ? हतियारधारीले निहत्थालाई मार्दा त्यसलाई आत्मरक्षा वा प्रतिरक्षा भन्दै लासहरूको साक्षी बस्न सक्थ्यो ? एक भएर युद्धविराम गर भनी दबाब दिन सक्दैनथ्यो ?

७ अक्टोबरदेखि इजरायली सेना र प्यालेस्टानी विद्रोही हमासबीच नरसंहारकारी युद्ध जारी रहँदा अहिलेसम्म १४ सय इजरायली र ९ हजारभन्दा बढी प्यालेस्टाइन नागरिक मारिएका छन् । अहिले युद्ध दोस्रो चरणमा प्रवेश गरेको इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले घोषणा गरेका छन्, जसअन्तर्गत अब गाजापट्टीमा इजरायली सेनाले स्थलगत कारबाही सुरु गरेको छ । इजरायल र प्यालेस्टाइनमा धेरै सर्वसाधारण मारिएका छन्, जसको युद्धसँग सम्बन्ध छैन । तर यो विश्व व्यवस्था समस्या समाधान गर्नतिर पहल गर्दैन, बरु युद्धलाई अरू चर्काएर आफ्नो रणनीतिक स्वार्थ सम्बोधन गर्न उद्यत छ । युद्ध लड्न उक्साउने, युद्धमा आफ्नो शासनसत्ता सुरक्षित ठान्ने बाहिरिया युद्ध सरदारहरूलाई थाहा छ— न इजरायलले प्यालेस्टाइन सिध्याएर यो क्षेत्रमा एकल स्वामित्व कायम गर्न सक्छ, न त हमासले नै इजरायलबाट यहुदी समाप्त पारेर यो क्षेत्रलाई प्यालेस्टाइन घोषणा गर्न सक्छ । जब यो युद्ध एकको अस्तित्वका लागि अर्काको अन्त्य गर्नु होइन भने किन फेरि यो चर्काइँदै छ ?

४ हजार वर्षअघिदेखि सन् १९४७ सम्मको इतिहास खोतलेर युद्धरत एक पक्षले जसरी यो भूमिमाथि आफ्नो दाबी राख्दै आएको छ, त्यसरी नै सन् १९४८ मा विकसित आधुनिक इतिहास स्मरण गराएर अर्को पक्षले भूमिमाथि स्वामित्व लिइरहेको छ । विश्वको नसुल्झिएको अहिलेसम्मकै लामो मुद्दा मानिने यो भूगोलमा हमास र इजरायली सेना लडेका देखिन्छन् तर त्यसमा कथित ठूला शक्तिहरूको राजनीतिक स्वार्थ छ । आफ्नो थातथलो नभएका यहुदीहरू इजरायलमा बसोबास गर्न आउनुअघि यो युद्ध यहुदीविरुद्ध इसाईको थियो, जसमा हिटलरले ६० लाख यहुदीको हत्या गरे । जब राष्ट्रसंघले उक्त भूभागलाई विभाजन गरी इजरायल राष्ट्र बनाउने घोषणा गर्‍यो, त्यसपछि भने युद्ध यहुदी–इसाईविरुद्ध इस्लाममा रूपान्तरण भयो । इजरायल र प्यालेस्टाइन रहेको यो भूभाग आफैं यहुदी, इस्लाम र इसाईको पवित्र स्थल पनि हो । त्यसको साक्षी इसाई र यहुदीले मान्ने माउन्ट टेम्पल र इस्लामले मान्ने अल–अक्सा मस्जिद हुन्, जुन एकै ठाउँमा छन् । इतिहासहरूका अनुसार, यहुदी धर्मको विकास इजरायलमा भयो भने जिसस क्राइस्टको जन्म पनि इजरालयमै भयो । र, उनलाई झुन्ड्याएर फाँसी दिइएको पनि इजरायलमै हो । इस्लामका संस्थापक पैगम्बर महम्मुदको जन्म नजिकै साउदी अरेबियाको मक्कामा भयो ।

तर अब यो युद्ध धार्मिक र ऐतिहासिक सीमाभित्र छैन । रुस–युक्रेन युद्धमा जसरी विश्वले दुई ध्रुवमा विभाजित भएर युद्धलाई मलजल गरिरहेको छ, त्यही शक्ति, त्यही गठबन्धनले अहिले पश्चिम एसियामा शक्तिकेन्द्रित गरिरहेको छ । अहिलेको विश्व विचारको विश्व त होइन तर पनि इजरायल–प्यालेस्टाइन युद्धमा कम्युनिस्ट नेतृत्वका शक्तिशाली राष्ट्रहरू, राजतन्त्र भएका मुस्लिम राष्ट्रहरू, अरब विश्व प्यालेस्टाइनका पक्षमा देखिन्छन् भने अमेरिका र युरोप नेतृत्वको पश्चिमा शक्ति इजरायलका पक्षमा देखिन्छ । मानवताको पक्ष लावारिस भएको छ ।


शक्तिहरूको ॅछद्म’ युद्ध

कमजोर राज्यको भूगोलमार्फत आफ्ना रणनीतिक शत्रुविरुद्ध युद्ध लड्नु शक्तिराष्ट्रहरूको नीति नै हो । त्यसको बेरोकटोक प्रयोग महाशक्ति अमेरिकाले हिन्द–प्रशान्त क्षेत्रमा यति बेला केन्द्रित गरेको छ । अमेरिका जति राष्ट्रहरूमा आतंकवादविरुद्ध युद्धका बहानामा वा बाह्य हस्तक्षेप रोक्ने नाममा प्रवेश गर्‍यो, ती आज पनि गृहयुद्धकै अवस्थामा छन्, विकासको सूचीमा सबैभन्दा तल छन् । युद्धका विभीषिका र त्यसमा शक्तिराष्ट्रको हस्तक्षेप भएपछि मुलुकको हालत के हुन्छ भन्ने बुझ्न अफगानिस्तान, इराक, सिरिया, युक्रेनदेखि सैन्य हस्तक्षेपले वैधानिकता पाउँदै गरेका अफ्रिकी राष्ट्रसम्मलाई हेर्दा पुग्छ । विश्व व्यवस्थाको नेतृत्व अमेरिकाले गरोस् वा चीनले, पश्चिमले गरोस् वा दक्षिणले, जब नियम र न्यायमा आधारित विश्व व्यवस्था रहँदैन, विश्वमा जंगली राज सुरु हुन्छÙ जोसँग शक्ति हुन्छ, त्यो चक्रवर्ती सम्राट् हुन्छ ।

के अमेरिका र युरोपले त्यस्तै विश्व अव्यवस्थाको नेतृत्व गर्न चाहेका हुन् ? वा, चीन, रुस, इरानले पनि त्यसैलाई अनुसरण गरेका हुन् ? होइन भने इजरायल सरकार र प्यालेस्टाइन सरकारलाई युद्ध रोक भनेर १९५ राष्ट्रकै आवाजको नेतृत्व किन गर्न सक्दैनन् ? तर ठीक विपरीत ८ अर्ब जनतालाई विभाजित गर्दै विश्वमा मानवता र न्याय समाप्त भएको सन्देश दिँदै छन् । अमेरिका र उसको गठबन्धनमा रहेका राष्ट्रहरू इजरायललाई आत्मरक्षाको अधिकार भएको भन्दै थप प्यालेस्टाइनको हत्याका लागि उक्साउँदै छन् भने चीन, रुस, इरान लगायतका राष्ट्र हमासको आतंकवादी हमलाको विरोध नगरी प्रत्याक्रमणलाई मात्र आतंकवाद ठहर्‍याउँदै छन् । महाशक्ति बन्न अमेरिकासँग प्रतिस्पर्धाका सबै आयाम खुला गरेको चीनले पछिल्लो समय विश्वमा शान्तिका पक्षमा पहल गरेको देखिएको हो तर यहुदी र प्यालेस्टाइनीहरूको हत्यालाई लिएर शान्तिका लागि जुन दबाब सृजना गर्न सक्थ्यो, त्यो गरेको देखिएन । युद्ध मच्चाएर आफ्ना रणनीतिक मिसन पूरा गर्न र कसैविरुद्ध बदला लिन शक्तिराष्ट्रहरूले लासमाथि वैश्विक राजनीति गरिरहेका छन्, जसले खतराको संकेत गरेका छन् ।

हमासको आक्रमणलगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले इजरायललाई आफ्नो प्रतिरक्षा गर्ने पूर्ण अधिकार रहेको भन्दै हमासविरुद्धको बदला स्वाभाविक भएको बताए, परिणामस्वरूप हमासका मान्छेभन्दा बढी निहत्था बालबालिका र सर्वसाधारण मारिए । उता, मुस्लिम विश्व, पश्चिमसँग युद्ध लडिरहेको रुस लगायतले हमासको आक्रमणलाई ७० वर्षदेखिको पीडा विस्फोट भएको भन्दै त्यसको पक्षमा वकालत गरेर हमासलाई स्वतन्त्रता महान् सेनानी बनाइदिए । तुलनात्मक रूपमा जिम्मेवार देखिएको चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले संवाद समाधानको आधार भएको भन्दै युद्ध रोक्न आग्रह गरिन् ।

हमासको आक्रमण निन्दनीय छ तर जसरी प्रत्याक्रमण गर्न अमेरिकाले इजरायललाई हतियार र युद्धक विमान पठायो, त्यो महाशक्तिको चरित्रभित्र पर्दैन । गाजामा बस्ने सबै आतंककारी होइनन् र अन्धाधुन्ध गोलाबारुद्ध, मिसाइल हानेर मान्छे मार्ने युद्ध कुनै पनि सभ्यताका लागि सुहाउँदो हुँदैन । त्यसमा पनि महाशक्ति अमेरिकाले त्यसको पक्षमा सहयोग गर्नुले अमेरिका विश्वमा के चाहन्छ भन्ने प्रस्ट हुन्छ । वासिङ्टनले नियममा आधारित विश्व व्यवस्था चाहिरहेको छैनÙ आफूअनुकूलको विश्व बनाउन खोजिरहेको छ, जुन असम्भव छ ।

अमेरिकाले रुस–युक्रेन युद्धमा जसरी रुसविरुद्ध उत्रन विश्वसमुदायलाई दबाब दियो, त्यही नीति यहाँ पनि अख्तियार गरेको देखिँदै छ जबकि प्यालेस्टाइनीहरू दुई राज्यको समाधानकै पक्षमा छन् । जसरी बेलायत र अमेरिकाले यहुदीलाई राज्य दिए, त्यसरी नै प्यालेस्टाइनीलाई पनि राज्य नदिँदासम्म पश्चिम एसियाको तनाव सकिँदैन ।

वास्तवमा, धार्मिक हिसाबले इस्लाम भर्सेज इसाई, भौगोलिक दृष्टिकोणले पश्चिम भर्सेज दक्षिणको यो युद्धमा मध्यस्थकर्ताका रूपमा एसियाली शक्ति चीन र भारतले भूमिका निर्वाह गर्न सक्थे । तर सधैंजसो प्यालेस्टाइनी राज्यका पक्षमा रहेको भारतले यस पटक इजरायललाई साथ दियो भने चीनले अरब विश्वलाई नैतिक समर्थन दिएको देखिन्छ । एउटा सत्य के हो भने, प्यालेस्टाइनी जनताको बसोबासको आवश्यकतालाई सम्बोधन नगरी त्यहाँ शान्ति कायम होस् भन्ने आग्रह अनुचित हुन्छ । रुस र प्यालेस्टाइनीमाथि जति आक्रामक हुन सक्यो, त्यति सन् २०२४ को निर्वाचनमा निर्वाचित हुने ठानेका बाइडेनलाई यो युद्धले धक्का दिने सम्भावना पनि त्यत्तिकै छ । हमासको आतंकवादको खिलाफमा सुरुमा वक्तव्य दिएका राष्ट्रहरूसमेत इजरायली सेनाले गरेको प्यालेस्टाइनी सर्वसाधारणको अन्धाधुन्ध हत्याको समर्थन गर्न नसकिने बताउन थालेका छन् ।

मध्य एसिया र पश्चिम एसियामा भइरहेका यी युद्ध र त्यसमा विश्वशक्तिको भूमिकाले दिने सन्देश एक मात्र छ— यो समय ‘वर्ल्ड अर्डर’ को समय होइन, ‘वर्ल्ड डिसअर्डर’ को समय हो । यो विश्व व्यवस्था होइन, विश्व अव्यवस्था हो ।


प्रकाशित : कार्तिक २२, २०८० ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?