२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

एन्जाइटीमा हेलचेक्य्राइँ  नगरौं

डा. धनरत्न शाक्य

कुनै खतरा महसुस भयो भने मन र शरीरले प्रतिक्रिया जनाउँछ । त्यस्तो बेला मन आत्तिने र डर लाग्ने हुन्छ । शरीरमा पनि ढुकढुकी र सास बढ्ने, तातो हुनेजस्ता लक्षण हुन्छन् । केही हदसम्म यसबाट परिस्थितिसँग जुध्न ऊर्जा–बल पनि मिल्छ । यस अवस्थालाई सामान्य मान्न सकिन्छ । तर जब कुनै यथेष्ट कारणबिनै डर लाग्छ, अत्यधिक बेचैनी हुन्छ र त्यसले दैनिक क्रियाकलापलाई असन्तुलित बनाउँछ, त्यो सामान्य होइन । त्यस्तो अवस्थालाई एन्जाइटी डिसअर्डर वा छटपटी, डर, त्रासको मनोरोग भनेर बुझ्नुपर्छ ।

एन्जाइटीमा हेलचेक्य्राइँ  नगरौं

एन्जाइटीका बिरामीमा मन, शरीर र व्यवहारसँग सम्बन्धित लक्षणहरू विविध मात्रा, स्वरूप र ढंगले प्रकट हुन्छन् । कुनै अनजान वा निर्दिष्ट कुरामा अत्यधिक अस्वाभाविक डर, चिन्ता लाग्ने हुन्छ । यस्ता मानिसमा मुटुको धड्कन बढ्ने, श्वास–प्रश्वास छिटो–छिटो हुने हुन्छ । यस्ता लक्षणले मुटुमा ठूलो समस्या भएको ठानी धेरै मानिस आत्तिन्छन् । तर, यो मानसिक रोगको लक्षण हो ।

एन्जाइटीमा रातको सुरुमै निद्रा नलाग्ने र लागिहाले पनि बीचमा ब्युँझिएपछि फेरि निद्रा लाग्न गाह्रो हुने गर्छ । हातखुट्टा काम्नु, पसिना आउनु, टाउको दुख्नु, छटपटी हुनु, ग्यास्ट्रिक बढ्नु, बेहोस होलाजस्तो हुनु, आत्तिनु, आत्मविश्वास घट्नु, अत्यन्त थाक्नु, कमजोरी महसुस हुनु र पटक–पटक पिसाब गर्न मन लाग्नु जस्ता लक्षण पनि देखिने गर्छन् ।

एन्जाइटी धेरै मानिसलाई सताउने व्यापक समस्यामा पर्छ, जुन कुनै पनि उमेर समूहका मानिसलाई हुन सक्छ । यसको पहिचान र उपचार व्यवस्थापन नभएकाले असंख्य मानिस बेचैनी, पीडा भोगिरहेका हुन्छन् । अस्वस्थ भई काम गर्न असमर्थ हुनुका साथै नशालु पदार्थको लतमा पर्ने, डिप्रेसन पनि भई आत्महत्यासम्म गर्ने अवस्थासम्म पुग्न सक्छन् ।

एन्जाइटी डिसअर्डरको कारण खुट्याउन गाह्रो हुन्छ । हरेक बिरामीमा के–के कारणले एन्जाइटी भएको भनी खोतल्न र कारक तत्त्वलाई सम्बोधन गर्न आवश्यक हुन्छ । अक्सर, धेरै कारक हुन्छन्, जसलाई जैविक, मनोवैज्ञानिक र सामाजिक कोटिमा राखिन्छ । जीवनमा घटेका पीडादायी घटना र तनावले एन्जाइटीलाई बढाउन ठूलो भूमिका खेल्न सक्छन् । कोभिड महामारी, भूकम्प, बाढीपहिरो, सामाजिक विखण्डन, युद्ध, महामारीमा असुरक्षित महसुस भई डर पैदा हुन्छ । जागिर गुम्ने, व्यवसाय डुब्ने, भविष्य के हुने भन्नेजस्ता चिन्ता र असुरक्षाको भावनाले एन्जाइटी बढ्छ । अत्यधिक तनाव मात्र होइन, तनाव वहनको कला र क्षमताको कमी अनि आत्तिने स्वभाव र प्रवृत्तिले गर्दा पनि यो समस्या अति व्याप्त देखिन्छ ।

एन्जाइटीलाई मनोचिकित्साले सेरोटोनिनजस्ता स्नायु रसायनको गडबडीसँग जोडेर व्याख्या गरेको छ । वंशानुगत कारणले पनि यो समस्या हुने गरेको पाइएको छ । कतिपयमा शारीरिक रोगका कारणले पनि एन्जाइटी बढ्ने गर्छ । एन्जाइटीका लक्षण कतिपय अवस्थामा मेडिकल रोगको संकेतका रूपमा आउँछन् । मुटुरोग, मधुमेह, थाइराइड तथा धूमपान, मद्यपान र लागूपदार्थको लतजस्ता कारणले पनि एन्जाइटी हुन्छ  । दम, श्वास–प्रश्वास सम्बन्धी समस्यासमेतका कारणले पनि यो रोग हुने गर्छ ।

रोग लागिसकेको अवस्थामा दक्ष चिकित्सक वा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट उपचार गर्नुपर्ने हुन्छ । अहिले यसका प्रभावकारी र सुरक्षित निर्दिष्ट औषधिहरूको विकास भएको छ । साथमा, मनोवैज्ञानिक विधिहरूसहित मनोसामाजिक उपायहरू अपनाउनुपर्छ ।

सामान्य एन्जाइटी मनोविद्सँगको नियमित परामर्शले निको हुन्छ । मनोविद्ले कग्निटिभ बिहेभियर साइकोथेरापीबाट उपचार गर्छन् । यसमा व्यक्तिको सोच र व्यवहारमा अनुकूल बदलाव ल्याउने मनोवैज्ञानिक तरिकाहरू अपनाइन्छन् । जेबाट डर–त्रास भएको हो, त्योसँग जुध्ने क्षमता बढाउनेदेखि सामना गर्न लगाई मनोबल बढाउने विविध विधि हुन्छन् । तर, बिरामीलाई असाध्यै कठिनाइ महसुस भएको छ भने मनोचिकित्सकसँगको सल्लाहबाट औषधि लिनुपर्ने हुन सक्छ । औषधि सेवनमा लापरबाही गर्नु हुँदैन ।

यसलाई सामान्य ठान्नु हुँदैन  । कालान्तरमा यसले गम्भीर समस्यासमेत निम्त्याउन सक्छ । कसलाई कुन अवस्थामा कुन तरिका अपनाउनु उपयुक्त हुन्छ भनी दक्ष र तालिमप्राप्त व्यक्तिबाट तय गराउनु उचित हुन्छ । सबै कुरा सबैलाई, सबै अवस्थामा लाभप्रद नहुने मात्र होइन, प्रत्युत्पादक पनि बन्न सक्छ ।

ध्यान दिनुपर्ने पक्ष

  • एन्जाइटीको रोकथामका लागि सधैं प्रतिकूल कुरा मात्र सोचेर बस्नु हुँदैन । सोसल साइटको प्रयोग कम गर्नुपर्छ । नकारात्मक समाचार कम सुन्ने, पढ्ने वा हेर्ने गर्नुपर्छ । परिवार, साथीभाइसँग सकारात्मक र रमाइला कुरा गर्नुपर्छ ।
  • नियमित व्यायाम, योग, ध्यान गर्नु लाभप्रद हुन्छ । नियमित ध्यानले नकारात्मक सोचलाई कम गर्नुका साथै प्रतिकूल अवस्थामा संयमित राख्छ ।
  • शरीरलाई सक्रिय राख्न कसरत गर्नु राम्रो हुन्छ । पर्याप्त विश्राम र निद्राले तनावलाई कम गरेर ताजा बनाउँछ ।
  • सन्तुलित भोजन लिनुपर्छ । मौसम अनुसारका फलफूल खानुपर्छ । खानासँगै काँक्रो, गाजर, मुलाजस्ता काँचा फलफूल तथा कन्दमूल खानु राम्रो हुन्छ ।
  • रक्सी, चुरोट, सुर्ती तथा लागूपदार्थबाट टाढा रहनुपर्छ ।
  • दिनमा केही समय सुमधुर सकारात्मक संगीत सुन्ने बानी बसाल्नु राम्रो हुन्छ । उत्प्रेरणामूलक पुस्तक पढ्दा सकारात्मक सोच राख्न मद्दत गर्छ ।
  • बिहानीपखको कलिलो घाममा बस्ने, फ्रेस हावामा टहलिने बानीले पनि शरीरमा स्फूर्ति दिलाउनुका साथै मनलाई ताजा महसुस गराउँछ ।

-प्राध्यापक शाक्य धरानस्थित बीपी प्रतिष्ठानका मनोरोग विभाग प्रमुख हुन् ।

प्रकाशित : कार्तिक १७, २०८० ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?